नयाँ यरूशलेम
21
अनि मैले एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखें; किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितेर गए; अनि उसो समुद्र रहेन। 2 अनि म यूहन्नाले त्यो पवित्र शहर नयाँ यरूशलेमलाई परमेश्वरको तर्फबाट स्वर्गदेखि तल झरिरहेको देखें, जुनचाहिँ आफ्ना पतिका निम्ति सिँगारिएकी दुलहीजस्तो तयार भएको थियो। 3 अनि मैले स्वर्गबाट यसो भन्दै गरेको एउटा ठूलो वाणी सुनें: “हेर, मानिसहरूसित परमेश्वरको निवासस्थान! अनि उहाँ उनीहरूसित वास गर्नुहुनेछ, अनि उनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्वर आफै उनीहरूसित हुनुहुनेछ र उनीहरूका परमेश्वर हुनुहुनेछ। 4 अनि परमेश्वरले उनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ; अनि मृत्यु कहिल्यै हुनेछैन, न ता शोक, न रुवाइ, न पीड़ा नै कहिल्यै हुनेछ; किनकि पहिलेका कुराहरू बितिसकेका छन्।” 5 अनि सिंहासनमाथि बस्नुहुनेले भन्नुभयो: “हेर, म सबै कुराहरू नयाँ बनाउँछु।” अनि उहाँले मलाई भन्नुभयो: “लेख, किनकि यी वचनहरू सत्य र विश्वासयोग्य छन्।” 6 अनि उहाँले मलाई भन्नुभयो: “भइसक्यो! अल्फा र ओमेगा, शुरु र अन्त म नै हुँ। जो तिर्खाउँछ, उसलाई म जीवनको पानीको धाराबाट सित्तैंमा दिनेछु। 7 जसले जय पाउँछ, ऊ सबै कुराहरूको हकदार हुनेछ; अनि म उसको परमेश्वर हुनेछु, अनि उही मेरो छोरा हुनेछ। 8 तर डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको तालभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।”9 अनि जुन सातजना स्वर्गदूतहरूसँग आखिरी सात महामारीले भरिएका सातवटा कचौराहरू थिए, ती स्वर्गदूतहरूमध्ये एकजना मकहाँ आए, र यसो भन्दै उनले मसँग कुरा गरे: “यहाँ आऊ! म तिमीलाई त्यो दुलही अर्थात् थुमाकी पत्नी देखाउनेछु।” 10 अनि उनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पहाड़मा लगे र मलाई परमेश्वरको तर्फबाट स्वर्गदेखि तल झरिरहेको त्यो महान् शहर पवित्र यरूशलेम देखाए, 11 जससँग परमेश्वरको महिमा थियो; र त्यसको चमकचाहिँ अति मूल्यवान् रत्नको जस्तै अर्थात् बिल्लौरजस्तो सङ्लो भएको स्फटिकजस्तो थियो; 12 अनि त्यसको ठूलो र अग्लो पर्खाल थियो, अनि त्यसका बाह्रवटा ढोकाहरू थिए, अनि ती ढोकाहरूमा बाह्रजना स्वर्गदूतहरू थिए, अनि तीमाथि नामहरू लेखिएका थिए, जुनचाहिँ इस्राएलीहरूका बाह्र कुलका नामहरू हुन्; 13 पूर्वपट्टि तीनवटा मूलढोकाहरू; उत्तरपट्टि तीनवटा मूलढोकाहरू; दक्षिणपट्टि तीनवटा मूलढोकाहरू; र पश्चिमपट्टि तीनवटा मूलढोकाहरू। 14 अनि त्यस शहरको पर्खालका बाह्रवटा जगहरू थिए, अनि तिनमा थुमाका बाह्र प्रेरितहरूका नामहरू लेखिएका थिए।
15 अनि मसँग बोल्नेसित त्यो शहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्नका लागि एउटा सुनको टाँगो थियो। 16 अनि त्यो शहर वर्गाकार रूपमा बसालिएको छ, अनि त्यसको लमाइचाहिँ चौड़ाइ बराबरको छ; अनि उनले त्यस शहर टाँगोले नापे, पन्ध्र सय माइल रहेछ। त्यसका लमाइ, चौड़ाइ र उचाइ बराबर रहेछन्। 17 अनि उनले त्यसको पर्खाल नापे; मानिसको अर्थात् स्वर्गदूतको नापअनुसार एक सय चवालीस हातको रहेछ। 18 अनि त्यसको पर्खाल स्फटिकले बनेको थियो; अनि त्यो शहरचाहिँ स्वच्छ काँचजस्तै निखुर सुनको थियो। 19 अनि त्यस शहरको पर्खालका जगहरूचाहिँ सबै प्रकारका रत्नहरूले सिँगारिएका थिए। पहिलो जग स्फटिक थियो; दोस्रो, नीरमणि; तेस्रो, खाल्सेडोन; चौथो, हरितमणि; 20 पाँचौं, गोमेद; छैटौं, लालमणि; सातौं, पीतमणि; आठौं, फिरोजा; नवौं, पुष्पराज; दसौं, लहसुने; एघारौं, धूम्रकान्त; बाह्रौं, अमेथिस्टक। 21 अनि ती बाह्रवटा मूलढोकाहरूचाहिँ बाह्रैवटा मोती थिए; एक-एक मूलढोका एक-एक मोतीको थियो; अनि त्यो शहरको सड़कचाहिँ छर्लङ्ग देखिने काँचजस्तै निखुर सुनको थियो।
22 अनि त्यसभित्र मैले कुनै मन्दिर देखिनँ; किनकि परमप्रभु* सर्वशक्तिमान् परमेश्वर र थुमाचाहिँ त्यसको मन्दिर हुनुहुन्थ्यो। 23 अनि त्यस शहरलाई त्यसमा उज्यालो दिन न घामको न जूनको खाँचो थियो; किनकि परमेश्वरको महिमाले त्यसलाई उज्यालो पार्थ्यो, र थुमाचाहिँ त्यसको बत्ती हुनुहुन्थ्यो। 24 अनि मुक्ति पाएकाहरूका जातिहरू त्यसको उज्यालोमा हिँड़्नेछन्; अनि पृथ्वीका राजाहरूले आफ्ना महिमा र आदर त्यसभित्र ल्याउछन्। 25 अनि त्यसका मूलढोकाहरू दिनमा कुनै किसिमले बन्द हुनेछैनन्; किनकि त्यहाँ रात हुनेछैन। 26 अनि तिनीहरूले जाति-जातिका महिमा र आदर त्यसभित्र ल्याउनेछन्। 27 अनि त्यसभित्र न अपवित्र पार्ने केहि पनि थोक कुनै हालतमा पस्नेछ, न ता घिनलाग्दो काम गर्ने वा झूटा कुरा रच्ने कोही पस्नेछ, तर तिनीहरू मात्र पस्छन्, जसका नामहरू त्यस थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।