ख्रीष्‍टको एक हजार वर्षको राज्य
20
अनि मैले एकजना स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेका देखें, जसको हातमा अथाह कुण्डको चाबी र एउटा ठूलो साङ्लो थियो। 2 अनि तिनले त्यस अजिङ्गरलाई, त्यस पुरानो साँपलाई पक्रे, जो डियाबोलोस र शैतान हो, र त्यसलाई हजार वर्षका लागि बाँधे। 3 अनि तिनले त्यसलाई अथाह कुण्डमा फ्याँकिदिए र त्यसलाई थुनिदिए, अनि हजार वर्ष पूरा नहोउन्जेल त्यसले अबदेखि उसो जाति-जातिलाई धोका नदेओस् भन्‍ने हेतुले तिनले त्यसमाथि छाप लगाइदिए; अनि यी कुराहरूपछि त्यो थोरै समयका लागि छोड़िनुपर्छ।
4 अनि मैले सिंहासनहरू देखें; अनि उनीहरू तीमाथि बसे, र न्याय उनीहरूलाई दिइयो। अनि मैले तिनीहरूका प्राणहरू देखें, जसका शिर येशूको गवाही र परमेश्‍वरको वचनको कारणले काटिएका थिए र जसले न ता त्यस पशुलाई, न ता त्यसको मूर्तिलाई पूजा गरेका थिए, न ता आफ्ना निधारमा वा आफ्ना हातमा त्यसको निशान लिएका थिए; अनि तिनीहरू जीवित भए, र तिनीहरूले ख्रीष्‍टसँग हजार वर्षसम्म राज्य गरे। 5 तर बाँकी मरेकाहरू हजार वर्ष पूरा नहोउन्जेल फेरि जीवित भएनन्। योचाहिँ पहिलो बौरिउठाइ हो। 6 यस पहिलो बौरिउठाइमा जसको भाग हुन्छ, ऊ धन्य र पवित्र हो; यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्‍वरका र ख्रीष्‍टका पूजाहारीहरू हुनेछन्, र तिनीहरूले उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन्।
शैतानको अन्तिम विद्रोह
7 अनि हजार वर्ष बितेपछि शैतान आफ्‍नो कैदबाट छोड़िनेछ, 8 अनि पृथ्वीका चारै कुनामा भएका जातिहरूलाई, गोग र मागोगलाई लड़ाइँका लागि भेला गर्न त्यो धोका दिन निस्केर जानेछ; तिनीहरूको संख्या समुद्रको बालुवासरह हुन्छ। 9 अनि तिनीहरू पृथ्वी ढाकी अघि बढ़े, अनि तिनीहरूले पवित्र जनहरूको छाउनी र यस प्रिय शहरलाई घेरा हाले। अनि स्वर्गदेखि परमेश्‍वरबाट आगो झर्‍यो, र तिनीहरूलाई भस्म पार्‍यो। 10 अनि तिनीहरूलाई धोका दिने शैतान आगो र गन्धकको झीलभित्र फ्याँकियो, जहाँ त्यो पशु र त्यो झूटो भविष्यवक्ता पनि छन्, अनि दिनरात सदा-सर्वदा तिनीहरू पीड़ाले तड़्पाइनेछन्।
सेतो सिंहासन र अन्तिम न्याय
11 अनि मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि बस्‍नुहुनेलाई देखें, जसको सामुन्‍नेबाट पृथ्वी र आकाश भागे; अनि तिनीहरूका निम्ति कहीं ठाउँ पाइएन। 12 अनि मैले दुवै साना र ठूला मरेकाहरूलाई परमेश्‍वरको सामु उभिरहेका देखें; अनि पुस्तकहरू खोलिए; अनि अर्को एउटा पुस्तक खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट, तिनीहरूका कामहरूअनुसार मरेकाहरूको न्याय गरियो। 13 अनि समुद्रले त्यसभित्र भएका मरेकाहरूलाई दिइहाल्यो; अनि मृत्यु र नरकले तिनीहरूभित्र भएका मरेकाहरूलाई दिइहाले; अनि तिनीहरूका कामहरूअनुसार तिनीहरू हरेकको न्याय गरियो। 14 अनि मृत्यु र नरक आगोको तालभित्र फ्याँकिए। यो दोस्रो मृत्यु हो। 15 अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन, त्यो आगोको तालभित्र फ्याँकियो।