जीवनको नदी
22
अनि उनले मलाई परमेश्‍वर र थुमाको सिंहासनबाट बिल्‍लौरजस्तै सङ्लो जीवनको पानीको स्वच्छ नदी निस्किरहेको देखाए। 2 त्यस सड़कको बीचमा र नदीको दुवैपट्टि जीवनको रूख थियो, जसले बाह्र प्रकारका फलहरू फलाउँथ्यो र हरेक महिना आफ्नो फल दिन्थ्यो; अनि त्यस रूखका पातहरूचाहिँ जातिहरूलाई निको पार्नका निम्ति थिए। 3 अनि फेरि कहिल्यै कुनै श्राप हुनेछैन; तर त्यसमा परमेश्‍वर र थुमाको सिंहासन हुनेछ; अनि उहाँका दासहरूले उहाँको सेवा गर्नेछन्; 4 अनि उनीहरूले उहाँको अनुहार देख्‍नेछन्; अनि उहाँको नाम उनीहरूका निधारहरूमा हुनेछ। 5 अनि त्यहाँ रात हुनेछैन; अनि उनीहरूलाई न बत्तीको, न घामको उज्यालोको खाँचो पर्छ; किनकि परमप्रभु* परमेश्‍वरले उनीहरूलाई ज्योति दिनुहुन्छ; अनि उनीहरूले सदा-सर्वदा राज्य गर्नेछन्।
6 अनि उनले मलाई भने: “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्, अनि पवित्र भविष्यवक्ताहरूका परमप्रभु* परमेश्‍वरले आफ्ना दासहरूलाई चाँड़ै हुनुपर्ने कुराहरू देखाउन आफ्ना दूतलाई पठाउनुभयो।”
‘हेर, म चाँड़ै आउनेछु!’ भन्‍ने आश्‍वासन र अन्तिम चेताउनी
7 “हेर, म चाँड़ै आउँछु! यस पुस्तकको भविष्यवाणीका वचनहरू जसले पालन गर्छ, ऊ धन्य हो!”
8 अनि म यूहन्‍नाले यी कुराहरू देखें र सुनें। अनि जब मैले सुनें र देखें, तब मलाई यी कुराहरू देखाउने स्वर्गदूतलाई दण्‍डवत्‌ गर्न म उनका पाउको अघिल्तिर घोप्‍टो परें। 9 तब उनले मलाई भने: “हेर, तिमीले यसो नगर; किनकि म त तिम्रो सङ्गी-दास हुँ, साथै तिम्रा भाइहरूको अर्थात्‌ भविष्यवक्ताहरूको र यस पुस्तकका वचनहरू पालन गर्नेहरूको सङ्गी-दास हुँ; परमेश्‍वरलाई नै दण्‍डवत्‌ गर!” 10 अनि उनले मलाई भने: “यस पुस्तकको भविष्यवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि समय नजिकै छ। 11 जो अधर्मी छ, त्यो अझै अधर्मी भइरहोस्; अनि जो अशुद्ध छ, त्यो अझै अशुद्ध भइरहोस्; अनि जो धर्मी छ, ऊ अझै धर्मी भइरहोस्; अनि जो पवित्र छ, ऊ अझै पवित्र भइरहोस्!”
12 “अनि हेर, म चाँड़ै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिन मेरो इनाम मसित छ। 13 अल्फा र ओमेगा, शुरु र अन्त, प्रथम र अन्तिम म नै हुँ।”
14 त्यस जीवनको रूखमाथि अधिकार पाउन र ती मूलढोकाहरूद्वारा त्यस शहरभित्र पस्‍न सक्न जसले उहाँका आज्ञाहरू पालन गर्छन्, उनीहरू धन्य हुन्। 15 किनकि कुकुरहरू, टुनामुना गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट मन पराउने र रच्‍नेहरू बाहिर हुनेछन्।
16 “म येशूले मण्डलीहरूमा तिमीहरूलाई यी कुराहरूको गवाही दिनका निम्ति मेरो दूतलाई पठाएको छु। दाऊदको त्‍यो जरा र सन्तान, र त्‍यो चम्किलो बिहानको तारा म नै हुँ।”
17 अनि आत्मा र दुलहीले भन्‍नुहुन्‍छ: “आओ!” अनि जसले सुन्छ, उसले भनोस्: “आओ!” अनि जो तिर्खाउँछ, ऊ आओस्! अनि जसले चाहन्छ, उसले सित्तैंमा जीवनको पानी लेओस्!
18 किनकि यस पुस्तकको भविष्यवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म गवाही दिन्छु: कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्‍वरले यस पुस्तकमा लेखिएका महामारीहरू त्यसमाथि थप्‍नुहुनेछ; 19 अनि कुनै मानिसले यस भविष्यवाणीको पुस्तकका वचनहरूबाट निकाल्यो भने परमेश्‍वरले जीवनको पुस्तकबाट, त्यस पवित्र शहरबाट र यस पुस्तकमा लेखिएका कुराहरूबाट त्यसको भाग निकालिदिनुहुनेछ।
20 यी कुराहरूको गवाही दिनुहुनेले भन्‍नुहुन्‍छ: “साँच्‍ची नै म चाँड़ै आउँछु!” “आमेन! ज्यू, आउनुहोस्, हे प्रभु येशू!”
21 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्! आमेन।