पछिल्‍लो भवनको महिमा
2
सातौं महिनाको एकाइसौं दिनमा भविष्यवक्ता हाग्गैद्वारा परमप्रभुको यसो भन्‍ने वचन आयो: 2 “अब यहूदाका राज्यपाल शाल्तिएलका छोरा जरूबाबेललाई, यहोसादाकका छोरा महापूजाहारी यहोशूलाई र यस जातिको बाँकी रहेको भागलाई यसो भन: 3 तिमीहरूमध्ये को बाँकी रहेको छ, जसले यो भवन यसको पहिलो महिमामा देखेको छ? अनि अहिले तिमीहरू यसलाई कस्तो देख्दैछौ? तिमीहरूका आँखाहरूमा त्यसको तुलनामा यो केही पनि होइन जस्तो छ, होइन र? 4 तर अब हे जरूबाबेल, बलिया होऊ!, परमप्रभु भन्‍नुहुन्छ; अनि हे महापूजाहारी यहोशू, यहोसादाकका छोरा, बलिया होऊ! अनि यस देशका हे सबै मानिसहरूहो, बलिया होओ, र काम गर!, परमप्रभु भन्‍नुहुन्छ; किनकि म तिमीहरूको साथमा छु, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ; 5 जुन वचन मैले तिमीहरूसित, तिमीहरू मिस्रबाट निस्केर आउँदा वाचाको रूपमा बाँधेको थिएँ, त्यस वचनअनुसार मेरो आत्मा तिमीहरूको साथमा रहनुहुनेछ; नडराओ! 6 किनभने सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ: अझै एकपल्ट, थोरै समयपछि म आकाश, पृथ्वी, समुद्र र सुक्खा भूमिलाई हल्‍लाइदिनेछु; 7 अनि म सबै जातिहरूलाई हल्‍लाउनेछु, अनि सबै जातिहरूको चाहना आउनेछ; अनि म यस भवनलाई महिमाले भरिदिनेछु, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 8 चाँदी मेरो हो, र सुन मेरो हो, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ। 9 यस पछिल्‍लो भवनको महिमाचाहिँ पहिलो भवनको भन्दा बढ़ी हुनेछ, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ; अनि यस ठाउँमा म शान्ति दिनेछु, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ।”
परमप्रभुको भवन बनाउने काम शुरु गरेको दिनदेखि उहाँको आशिष्‌ दिइन्छ
10 राजा दाराको दोस्रो वर्षको नवौं महिनाको चौबीसौं दिनमा भविष्यवक्ता हाग्गैद्वारा परमप्रभुको यसो भन्‍ने वचन आयो: 11 “सेनाहरूको परमप्रभु यसो भन्‍नुहुन्छ: अब व्यवस्थाको विषयमा पूजाहारीहरूलाई यसो भनेर सोध: 12 हेर, कसैले आफ्नो वस्त्रको किनारमा पवित्र मासु बोकेर आफ्नो त्यस किनारले रोटी, सुरुवा, दाखमद्य, तेल वा अरू कुनै खानेकुरा छोयो भने के त्यो चीज पवित्र हुन्छ होला?” अनि पूजाहारीहरूले जवाफ दिएर भने: “हुँदैन।” 13 तब हाग्गैले भने: “लासको कारणले अशुद्ध भएको कुनै मानिसले यीमध्ये कुनै चीज छोयो भने के त्यो अशुद्ध होला?” अनि पूजाहारीहरूले जवाफ दिएर भने: “त्यो अशुद्ध हुनेछ।” 14 तब हाग्गैले जवाफ दिएर भने: “परमप्रभु भन्‍नुहुन्छ, मेरो सामु यी मानिसहरू त्यस्तै छन्, र यो जाति त्यस्तै छ; अनि तिनीहरूका हातको हरेक काम त्यस्तै छ; अनि तिनीहरूले त्यहाँ जे चढ़ाउँछन्, त्यो अशुद्ध छ। 15 अनि अब, म तिमीहरूलाई विन्‍ती गर्दछु, आजको दिनदेखि यता विचार गर – परमप्रभुको मन्दिरमा ढुङ्गामाथि ढुङ्गा राखिएको समयभन्दा पहिले – 16 ती दिनहरू हुनुभन्दा पहिले कोही बीस मुरीको रासमा आउँदा दस मुरी मात्र हुन्थ्यो; दाखको कोलबाट पचास पाथी झिक्न कोही त्यस कोलमा आउँदा बीस पाथी मात्र हुन्थ्यो। 17 मैले तिमीहरूलाई, तिमीहरूका हातको सबै मेहनतलाई स्येप्र्याइले, ढुसीले र असिनाले प्रहार गरें; तरै पनि तिमीहरू मकहाँ फर्केनौ, परमप्रभु भन्‍नुहुन्छ। 18 अब आजको दिनदेखि यता विचार गर – नवौं महिनाको चौबीसौं दिनदेखि यता, अँ, परमप्रभुको मन्दिरको जग बसालिएको दिनदेखि यताको समय विचार गर! 19 के बीउ अझै ढुकुटीमै छ? अझै पनि दाखको बोट, नेभाराको रूख, दारिम र जैतुनको रूखले फल फलाएका छैनन्; आजको दिनदेखि म तिमीहरूलाई आशिष्‌ दिनेछु।”
जरूबाबेलका निम्ति परमप्रभुको वाणी
20 अनि त्यही महिनाको चौबीसौं दिनमा हाग्गैकहाँ परमप्रभुको यसो भन्‍ने वचन फेरि आयो: 21 “यहूदाका राज्यपाल जरूबाबेललाई यसो भन: मचाहिँ आकाश र पृथ्वीलाई हल्‍लाउनेछु; 22 अनि म राज्यहरूको सिंहासन पल्टाइदिनेछु र अन्यजातिहरूका राज्यहरूको शक्तिबल नाश गर्नेछु; अनि म रथहरू र तीमाथि चढ़्नेहरूलाई पल्टाइदिनेछु; अनि घोड़ाहरू र तिनीहरूका सवारहरू, हरेक आ-आफ्नो दाजुभाइको तरवारद्वारा तल ढल्नेछन्। 23 सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ, त्यस दिन हे मेरो दास, शाल्तिएलका छोरा जरूबाबेल, म तिमीलाई लिनेछु, परमप्रभु भन्‍नुहुन्छ, र तिमीलाई छापऔंठीजस्तै तुल्याउनेछु; किनभने मैले तिमीलाई चुनेको छु, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ।”