याकूबले मनस्से र एप्रैमलाई आशीर्वाद दिए
48
अनि यी कुराहरूपछि यस्तो भयो: कसैले यूसुफलाई भन्यो: “हेर्नुहोस्, तपाईंका पिता बिरामी हुनुहुन्छ।” तब तिनले आफ्ना दुईजना छोरा मनस्से र एप्रैमलाई आफ्नो साथमा लगे। 2 अनि कसैले याकूबलाई बताएर भन्यो: “हेर्नुहोस्, तपाईंका छोरा यूसुफ तपाईंकहाँ आउनुभएको छ।” तब इस्राएलले आफैलाई बलियो पारे, र पलङमाथि बसे। 3 अनि याकूबले यूसुफलाई भने: “कनान देशको लूजमा सर्वशक्तिमान् परमेश्‍वर मकहाँ देखा पर्नुभयो, र मलाई आशिष्‌ दिनुभयो; 4 अनि उहाँले मलाई भन्‍नुभयो: ‘हेर, म तिमीलाई फलवान् बनाउनेछु, तिमीलाई संख्यामा बढ़ाउनेछु, अनि तिमीबाट म जातिहरूको समूह बनाउनेछु; अनि तिमीपछि तिम्रो वंशलाई म यो देश अनन्‍त अधिकारको भागको रूपमा दिनेछु।’ 5 अनि अब तिम्रा दुई छोराहरू, एप्रैम र मनस्से, जो म मिस्रमा तिमीकहाँ आउनुभन्दा पहिले तिम्रा निम्ति मिस्रमा जन्मेका थिए, तिनीहरू मेरा हुन्; रूबेन र शिमोनजस्तै यी मेरा हुनेछन्। 6 अनि तिनीहरूपछि तिम्रा सन्तान जो तिमी जन्माउँछौ, ती तिम्रा हुनेछन्; उनीहरूको पैतृक सम्पत्तिको सम्बन्धमा यिनीहरू आफ्ना दाजुहरूको नाममा गनिनेछन् 7 अनि मचाहिँ – जब म पदनबाट आउँदैथिएँ, तब कनान देशमा, बाटोमा, एफ्राता आइपुग्‍नु अझ अलिकति बाटो हुँदा राहेल मेरै छेउमा मरिन्; अनि मैले तिनलाई एफ्राता अर्थात् बेत­लेहेमको बाटोमा गाड़ें।”
8 अनि इस्राएलले यूसुफका छोराहरूलाई देखे, र भने: “यिनीहरू को हुन्?” 9 अनि यूसुफले आफ्ना बुबालाई भने: “यिनीहरू मेरा छोराहरू हुन्, जो परमेश्‍वरले मलाई यस ठाउँमा दिनुभएको छ।” तब उनले भने: “तिनीहरूलाई मकहाँ ल्याऊ, म तिमीलाई विन्‍ती गर्दछु; अनि म तिनीहरूलाई आशीर्वाद दिनेछु।” 10 अब इस्राएलका आँखाहरू उमेरको कारणले धमिला भएका थिए, र उनले देख्‍न सक्दैनथिए। अनि तिनले तिनीहरूलाई उनीकहाँ ल्याए; अनि उनले तिनीहरूलाई चुम्बन गरे, र तिनीहरूलाई अँगालो हाले। 11 अनि इस्राएलले यूसुफलाई भने: “मैले तिम्रो अनुहार देखुँला भनी सोचेकै थिइनँ; अनि हेर, परमेश्‍वरले मलाई तिम्रो वंशधरि देख्‍न दिनुभयो।” 12 अनि यूसुफले तिनीहरूलाई उनका घुँड़ाहरूको बीचबाट निकाले; अनि तिनले आफ्नो अनुहार भुइँतिर झुकाए। 13 अनि यूसुफले ती दुवैलाई, इस्राएलको देब्रे हातपट्टि पर्ने गरी एप्रैमलाई आफ्ना दाहिने हातमा, र इस्राएलको दाहिने हातपट्टि पर्ने गरी मनस्सेलाई आफ्नो देब्रे हातमा लिए, अनि तिनीहरूलाई उनको नजिक लगे। 14 तब जानी-बुझीकनै आफ्ना हातहरू चलाएर इस्राएलले आफ्नो दाहिने हात पसारे, र एप्रैमको टाउकोमाथि राखे, जो कान्छा थिए, अनि आफ्नो देब्रे हात मनस्सेको टाउकोमाथि राखे; किनकि मनस्से जेठा थिए। 15 अनि उनले यूसुफलाई आशीर्वाद दिए, र भने: “उही परमेश्‍वर, जसको उपस्थितिमा मेरा पुर्खा अब्राहाम र इसहाक हिँड़्थे; उही परमेश्‍वर, जसले मेरो जीवनभरि नै मलाई आजको दिनसम्म गोठाला गर्नुभयो, 16 उही स्वर्गदूत, जसले मलाई सबै खराबीबाट छुटकारा दिनुभयो, उहाँले नै यी ठिटाहरूलाई आशिष्‌ दिऊन्, अनि यिनीहरूमाथि मेरो नाम अनि मेरा पुर्खा अब्राहाम र इसहाकको नाम रहून्; अनि यिनीहरू संख्‍यामा बढ़ेर पृथ्वीको बीचमा एउटा भीड़ बनून्!”
17 अनि जब यूसुफले आफ्ना बुबाले आफ्नो दाहिने हात एप्रैमका टाउकोमाथि राखेका देखे, तब यो कुरा तिनलाई बेठीक लाग्यो; अनि तिनले एप्रैमको टाउकोबाट हटाएर मनस्सेको शिरमाथि राख्‍नका निम्ति आफ्ना बुबाको हात समाते; 18 अनि यूसुफले आफ्ना बुबालाई भने: “यसो होइन, मेरा पिताजी; किनकि योचाहिँ जेठा हो; आफ्नो दाहिने हात यसैको टाउकोमाथि राखिदिनुहोस्!” 19 तर तिनका बुबाले अस्वीकार गरेर भने: “म जान्दछु, मेरा छोरा, म जान्दछु; ऊ पनि एउटा जाति बन्‍नेछ; हो, ऊ पनि महान् बन्‍नेछ; तर पनि उसको कान्छा भाइ ऊभन्दा महान् हुनेछ, र उसको वंश जातिहरूरूपी भीड़ बन्‍नेछ।” 20 अनि त्‍यस दिन उनले तिनीहरूलाई यसो भन्दै आशीर्वाद दिए: “परमेश्‍वरले तिमीलाई एप्रैमजस्तो र मनस्सेजस्तो बनाऊन् भन्दै इस्राएलले तिम्रो नाम लिएर आशीर्वाद दिऊन्!”; अनि उनले एप्रैमलाई मनस्सेको अगाड़ि राखे। 21 अनि इस्राएलले यूसुफलाई भने: “हेर, म मर्न लागेको छु; तर परमेश्‍वर तिमीहरूको साथमा हुनुहुनेछ र तिमीहरूलाई तिमीहरूका पितापुर्खाहरूको देशमा फर्काएर ल्याउनुहुनेछ। 22 अनि मैले तिमीलाई तिम्रा दाजुभाइहरूलाई भन्दा एक भाग बढ़ी दिएको छु, जुन भागचाहिँ मैले मेरो तरवार र मेरो धनुको बलले एमोरीहरूको हातबाट लिएँ।”