याकूब फाराओको सामु
47
तब यूसुफ भित्र आए, अनि फाराओलाई बताए, र भने: “मेरा बुबा र मेरा दाजुभाइहरू, उनीहरूका भेड़ाबाख्राहरू र उनीहरूका गाईबस्तुहरू, अनि उनीहरूसँग भएका जेजति सबै कनान देशबाट आएका छन्; अनि हेर्नुहोस्, उनीहरू गोशेन प्रदेशमा छन्।” 2 अनि उनले आफ्ना जम्मै दाजुभाइहरूमध्ये पाँच मानिसहरूलाई लिएर उनीहरूलाई फाराओकहाँ हाजिर गराए। 3 अनि फाराओले उनका दाजुभाइहरूलाई भने: “तिमीहरूको व्यवसाय के हो?” अनि उनीहरूले फाराओलाई भने: “तपाईंका दासहरू, हामीचाहिँ र हाम्रा बुबाहरू पनि भेड़ाबाख्राका गोठालाहरू हौं।” 4 उनीहरूले फाराओलाई अझै भने: “हामी यस देशमा बसोबास गर्न आएका छौं; किनकि तपाईंका दासहरूका भेड़ाबाख्राहरूका निम्ति कुनै चरन छैन; किनभने कनान देशमा घोर अनिकाल परेको छ। यसकारण अब, हामी तपाईंलाई विन्ती गर्दछौं, तपाईंका दासहरूले गोशेन प्रदेशमा बस्न पाऊन्!” 5 अनि फाराओले यूसुफलाई यसो भने: “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्; 6 मिस्र देश तिम्रै सामु छ; देशको सर्वोत्तम भागमा तिम्रा बुबा र दाजुभाइहरूलाई बस्न लगाऊ! गोशेन प्रदेशमा उनीहरू बसून्; अनि उनीहरूको बीचमा तिमी कोही योग्य मानिस चिन्छौ भने उनीहरूलाई मेरा गाईबस्तुहरूमाथि अधिकारी बनाइदेऊ!” 7 अनि यूसुफले आफ्ना बुबा याकूबलाई भित्र ल्याए, र उनलाई फाराओको सामु राखे; अनि याकूबले फाराओलाई आशीर्वाद दिए। 8 अनि फाराओले याकूबलाई भने: “तपाईंको उमेर कति भयो?” 9 अनि याकूबले फाराओलाई भने: “मेरो परदेशी भई रहेको जीवनका वर्षहरू एक सय तीस वर्ष भए; मेरो जीवनका वर्षहरू थोरै र खराब भएका छन्; अनि मेरा पितापुर्खाहरूका परदेशी भई रहेको जीवनमा उनीहरूका वर्षहरू जति थिए, त्यति मेरा वर्षहरू पुगेका छैनन्।” 10 अनि याकूबले फाराओलाई आशीर्वाद दिए, र फाराओको सामुबाट निस्केर गए। 11 अनि यूसुफले आफ्ना बुबा र आफ्ना दाजुभाइहरूलाई बसोबास गराए; अनि फाराओले आज्ञा गरेअनुसार मिस्र देशमा उनले देशको सर्वोत्तम भागमा अर्थात् राम्सेस नामक प्रदेशमा उनीहरूको अधिकारमा जग्गा-जमिन दिए। 12 अनि यूसुफले आफ्ना बुबा, आफ्ना दाजुभाइहरू, र आफ्ना बुबाको सारा घरानालाई उनीहरूका बालबच्चाहरूको संख्याअनुसार रोटी दिईकन पालनपोषण गरे।अनिकालका बाँकी वर्षमा यूसुफको प्रबन्ध
13 अनि सारा देशभरि रोटी थिएन; किनकि अनिकाल साह्रै कष्टदायक थियो; यसैकारण मिस्र देश र सारा कनान देश अनिकालले गर्दा शिथिल भएका थिए। 14 अनि यूसुफले मिस्र देश र कनान देशमा भएका सबै पैसा तिनीहरूले किनेका अन्नको सट्टामा जम्मा गरे; अनि यूसुफले त्यो पैसा फाराओको घरमा ल्याए। 15 अनि जब मिस्र देश र कनान देशमा पैसा सिद्धियो, तब सबै मिस्रीहरू यूसुफकहाँ आएर भने: “हामीलाई रोटी दिनुहोस्! तपाईंकै आँखाको सामु हामी किन मरौं? किनकि पैसा सिद्धियो।” 16 अनि यूसुफले भने: “तिमीहरूका गाईबस्तु देओ; अनि पैसा सिद्धियो भने तिमीहरूका गाईबस्तुको सट्टामा म तिमीहरूलाई अन्न दिनेछु।” 17 तब तिनीहरूले आफ्ना गाईबस्तुहरू यूसुफकहाँ ल्याए; अनि यूसुफले घोड़ाहरू, भेड़ाबाख्राहरूका बगालहरू, गाईबस्तुहरूका बथानहरू र गधाहरूको सट्टामा तिनीहरूलाई रोटी दिए। अनि त्यस सालभरि उनले तिनीहरूका सबै गाईबस्तुको सट्टामा तिनीहरूलाई रोटी दिए। 18 जब त्यो वर्ष बित्यो, तब तिनीहरू दोस्रो वर्ष उनीकहाँ आएर उनलाई भने: “मेरा प्रभुबाट हामी यो कुरा लुकाउँदैनौं; हाम्रो पैसा सिद्धिसक्यो; हाम्रा गाईबस्तुहरू मेरा प्रभुका भए; मेरा प्रभुको सामु हाम्रा शरीरहरू र हाम्रा जमिनहरूबाहेक अरू केही रहेन। 19 तपाईंका आँखाको सामु हामी किन नाश होऔंक – हामी र हाम्रा जमिन पनि? रोटीका निम्ति हामीलाई र हाम्रा जमिन किन्नुहोस्; र हामी, हामी र हाम्रा जमिन पनि फाराओका दासहरू हुनेछौं; अनि हामीलाई बीउ दिनुहोस्, र हामी बाँचौं, र नमरौं, र हाम्रो देश उजाड़ नहोस्!” 20 तब यूसुफले फाराओका निम्ति मिस्रको सारा जमिन किने; किनकि तिनीहरूमाथि घोर अनिकाल आइपरेकोले हरेक मिस्रीले आ-आफ्नो जमिन बेच्यो; यसरी जमिन फाराओको भयो। 21 अनि मानिसहरूचाहिँ – उनले तिनीहरूलाई मिस्रको सिमानाको एक छेउदेखि त्यसको अर्को छेउसम्मबाट हटाएर शहरहरूमा सारे। 22 पूजाहारीहरूको जमिन मात्र उनले किनेनन्; किनकि पूजाहारीहरूको भाग फाराओको तर्फबाट दिइन्थ्यो, र तिनीहरूले फाराओले तिनीहरूलाई दिएको आफ्नो भाग खान्थे; यसैकारण तिनीहरूले आफ्नो जमिन बेचेनन्। 23 तब यूसुफले मानिसहरूलाई भने: “हेर, आज मैले तिमीहरूलाई र तिमीहरूको जमिन फाराओका निम्ति किनेको छु; हेर, यहाँ तिमीहरूका निम्ति बीउ छ, र तिमीहरूले जमिनमा बीउ छर! 24 अनि त्यसको उब्जनीको विषयमा यस्तो हुनेछ: पाँच भागमा एक भाग फाराओलाई देओ, र बाँकी चार भाग तिमीहरूको हुनेछ – खेतबारीको बीउका लागि र तिमीहरूको भोजनका निम्ति, साथै तिमीहरूका घरानाकाहरू र तिमीहरूका बालबच्चाहरूको भोजनका निम्ति।” 25 अनि तिनीहरूले भने: “तपाईंले हाम्रा प्राण बचाउनुभएको छ; मेरा प्रभुको दृष्टिमा हामीले अनुग्रह पाऔं, र हामी फाराओका दासहरू हुनेछौं।” 26 अनि मिस्रको जमिनको विषयमा यूसुफले यो नियम बनाए, जो आजसम्म पनि लागू छ: फाराओले पाँच भागमा एक भाग पाउनेछन्; पूजाहारीहरूको जमिनबाहेक, जो फाराओको भएन। 27 अनि इस्राएल मिस्र देशको गोशेन प्रदेशमा बसे; अनि त्यसमा तिनीहरूले सम्पत्ति कमाए, अनि उनीहरू फल्दै-फुल्दै गए र संख्यामा अत्यन्तै बढ़े।
आफ्नो मृत-शरीरको सम्बन्धमा याकूबको आदेश
28 अनि याकूब मिस्र देशमा सत्र वर्ष बाँचे; अनि याकूबको पूरा उमेर एक सय सतचालीस वर्षको भयो। 29 अनि इस्राएलको मर्ने घड़ी नजिक आयो; तब उनले आफ्नो छोरा यूसुफलाई बोलाएर तिनलाई भने: “मैले तिम्रो दृष्टिमा अनुग्रह पाएको छु भने म तिमीलाई विन्ती गर्छु, तिम्रो हात मेरो तिघ्रामुनि राख, र मसँग दया र सत्यतापूर्वक व्यवहार गर! म तिमीलाई विन्ती गर्छु, मलाई मिस्रमा दफन नगरख! 30 तर म मेरा पितापुर्खाहरूसँग सुत्नेछु; अनि तिमी मलाई मिस्रबाट बोकेर लैजाऊ, र उनीहरूको कब्रस्तानमा मलाई गाड़िदेऊ!” अनि तिनले भने: “तपाईंको वचनअनुसार म गर्नेछु।” 31 अनि उनले भने: “मसँग शपथ खाऊ!” तब तिनले उनीसँग शपथ खाए। अनि इस्राएलले पलङको सिरानमा शिर झुकाएग।