याकूब मिस्र देशमा
46
तब आफूसँग भएका सबै थोकहरू लिएर इस्राएलले यात्रा शुरु गरे, र बेरशेबामा आइपुगे, अनि आफ्ना बुबा इसहाकका परमेश्‍वरलाई बलिहरू चढ़ाए। 2 अनि रातका दर्शनहरूमा परमेश्‍वरले इस्राएलसँग कुरा गर्नुभयो, र भन्‍नुभयो: “याकूब, याकूब!” अनि उनले भने: “म यहाँ छु।” 3 तब उहाँले भन्‍नुभयो: “म परमेश्‍वर, तिम्रा बुबाका परमेश्‍वर हुँ; तल मिस्रमा जानदेखि नडराऊ; किनकि त्यहाँ म तिमीलाई एउटा ठूलो जाति तुल्याउनेछु; 4 म तिम्रो साथमा तल मिस्रमा जानेछु; अनि निश्‍चय म तिमीलाई फर्काएर ल्याउनेछु पनि; अनि यूसुफले आफ्नो हात तिम्रा आँखाहरूमाथि राख्‍नेछ।” 5 अनि याकूब बेरशेबाबाट उठे, अनि इस्राएलका छोराहरूले आफ्ना बुबा याकूबलाई, आफ्ना बालबच्‍चाहरू र आफ्ना पत्‍नीहरूलाई फाराओले उनलाई लैजानका निम्ति पठाएका गाड़ाहरूमा चढ़ाएर लगे। 6 अनि उनीहरू आफ्ना गाईबस्तुहरू र कनान देशमा आफूले प्राप्‍त गरेका धनसम्पत्ति लिएर मिस्रमा आए: याकूब, र उनीसित उनका सबै सन्तानहरू; 7 उनले आफ्नो साथमा भएका आफ्ना छोराहरू र आफ्ना छोराहरूका छोराहरू, अनि आफ्ना छोरीहरू, आफ्ना छोराहरूका छोरीहरू र आफ्ना सबै सन्तानहरूलाई आफूसित मिस्रमा ल्याए।
8 अनि मिस्रमा आएका इस्राएलका सन्तानका नामहरू यी हुन्: याकूब र उनका छोराहरू: याकूबका जेठा छोरा रूबेन। 9 अनि रूबेनका छोराहरू: हनोक, पल्‍लू, हेस्रोन र कर्मी। 10 अनि शिमोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन र सोहर, अनि कनानी स्त्रीपट्टिबाटको छोरा शावल। 11 अनि लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी। 12 अनि यहूदाका छोराहरू: एर, ओनान, शेलाह, पेरेस र जेरह; तर एर र ओनान कनान देशमै मरे। अनि पेरेसका छोराहरू हेस्रोन र हामूल थिए। 13 अनि इस्साकारका छोराहरू: तोला, पूवा, योब र शिम्रोन। 14 अनि जबूलूनका छोराहरू: सेरेद, एलोन र यहलेएल। 15 तिनीहरूचाहिँ लेआका छोराहरू हुन्, जसलाई तिनले पदन-आराममा उनकी छोरी दीनासहित याकूबका निम्ति जन्माइन्; उनका छोराहरू र उनका छोरीहरू गरेर जम्मा प्राणी तेंतीसजना थिए।
16 अनि गादका छोराहरू: सिफियोन, हग्गी, शूनी, यस्बोन, एरी, अरोदी र अरेली। 17 अनि आशेरका छोराहरू: यिम्‍ना, यिश्‍वा, यिश्‍वी, बरीआ, र तिनीहरूकी बहिनी सेरह। अनि बरीआका छोराहरू: हेबेर र मल्कीएल। 18 यिनीहरूचाहिँ जिल्पाका छोराहरू हुन्; तिनलाई लाबानले आफ्नी छोरी लेआलाई दिएका थिए; अनि जिल्पाले यिनीहरूलाई याकूबका निम्ति जन्माइन्: सोह्र प्राणीहरू।
19 याकूबकी पत्‍नी राहेलका छोराहरू: यूसुफ र बिन्यामिन। 20 अनि मिस्र देशमा यूसुफका निम्ति मनस्से र एप्रैम जन्मे; जसलाई ओनका पूजाहारी पोतीफेराकी छोरी आसनतले तिनका निम्ति जन्माइन्। 21 अनि बिन्यामिनका छोराहरू: बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द। 22 यिनीहरूचाहिँ याकूबका निम्ति जन्मेका राहेलका छोराहरू हुन्: जम्मा चौध प्राणीहरू।
23 अनि दानका छोराहरू: हुशीम। 24 अनि नप्‍तालीका छोराहरू: यहसेएल, गुनी, येसेर र शिल्लेम। 25 यिनीहरूचाहिँ बिल्हाका छोराहरू हुन्; तिनलाई लाबानले आफ्नी छोरी राहेललाई दिएका थिए; अनि बिल्हाले यिनीहरूलाई याकूबका निम्ति जन्माइन्: जम्मा सात प्राणीहरू।
26 याकूबको साथमा मिस्रमा आएका सबै प्राणीहरू, जो उनका निज सन्तान थिए, याकूबका बुहारीहरूबाहेक, जम्मा प्राणी छयसट्ठीजना थिए। 27 अनि यूसुफका छोराहरू, जो मिस्रमा तिनका निम्ति जन्मे: दुई प्राणीहरू। याकूबका घरानाका सबै प्राणीहरू, जो मिस्रमा आए, सत्तरीजना थिए।
28 अनि यूसुफले याकूबलाई गोशेनतिर डोर्‍याइदिऊन् भनेर याकूबले यहूदालाई आफ्नो अघि यूसुफकहाँ पठाए; अनि उनीहरू गोशेन प्रदेशमा आए। 29 तब यूसुफले आफ्नो रथ तयार पारे, र आफ्ना बुबा इस्राएललाई गोशेनमा भेट्न गए, र उनीकहाँ देखा परे; अनि तिनी उनको गलामा टाँसिए, र धेरै बेरसम्म उनको गलामा रोइरहे। 30 अनि इस्राएलले यूसुफलाई भने: “अब मलाई मर्न देऊ; किनकि मैले तिम्रो चेहरा देख्‍न पाएँ; किनभने तिमी अझै जिउँदै रहेछौ।” 31 अनि यूसुफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाको घरानालाई भने: “म माथि जानेछु र फाराओलाई बताउनेछु, अनि तिनलाई भन्‍नेछु: ‘कनान देशमा भएका मेरा दाजुभाइहरू र मेरा बुबाको घराना मकहाँ आएका छन्; 32 अनि ती मानिसहरू भेड़ाबाख्राका गोठालाहरू हुन्; किनकि गाईबस्तु पाल्नु उनीहरूको व्यवसाय हो; अनि उनीहरूले आफ्ना भेड़ाबाख्राहरू, आफ्ना गाईबस्तुहरू, र उनीहरूसँग भएका जेजति सबै लिएर आएका छन्।’ 33 अनि यस्तो हुनेछ: जब फाराओले तपाईंहरूलाई बोलाउनेछन्, र भन्‍नेछन्: ‘तिमीहरूको व्यवसाय के हो?’ 34 तब तपाईंहरूले भन्‍नुहोस्: ‘तपाईंका दासहरू, हामीचाहिँ र हाम्रा बुबाहरू पनि, बालककालदेखि अहिलेसम्म गाईबस्तु पाल्ने मानिसहरू हौं’; तब तपाईंहरूले गोशेन प्रदेशमा बस्‍न पाउनुहुनेछ; किनकि मिस्रीहरूका निम्ति भेड़ाबाख्राको हरेक गोठाला घृणित कुरा हो।”