यूसुफले आफूलाई प्रकट गरे
45
तब यूसुफले आफ्ना छेउमा उभिरहेकाहरू सबैको सामु आफूलाई रोकेर राख्‍न सकेनन्; अनि कराएर उनले भने: “हरेकलाई मकहाँबाट बाहिर निकालिदेओ!” अनि जब यूसुफले आफैलाई आफ्ना दाजुभाइहरूकहाँ प्रकट गरे, तब त्यहाँ अरू कोही मानिस उनीसँग उभिएको थिएन। 2 अनि उनी डाँको छोड़ेर रोए; अनि मिस्रीहरूले यो सुने; अनि फाराओको घरानाले यो सुन्यो। 3 अनि यूसुफले आफ्ना दाजुभाइहरूलाई भने: “म यूसुफ हुँ; के मेरा बुबा अझ जीवित हुनुहुन्छ?” तब उनका दाजुभाइहरूले उनलाई जवाफ दिन सकेनन्; किनकि उनीहरू उनको उपस्थितिमा घबराएका थिए। 4 अनि यूसुफले आफ्ना दाजुभाइहरूलाई भने: “म तिमीहरूलाई विन्‍ती गर्दछु, मेरो नजिक आओ!” अनि उनीहरू नजिक आए। तब उनले भने: “म तिमीहरूको भाइ यूसुफ हुँ, जसलाई तिमीहरूले मिस्रमा बेचिपठाएका थियौ। 5 अनि तिमीहरूले मलाई यहाँ बेचिपठाइएको विषयमा अब शोकित नहोओ, न ता आफूसँग क्रोधित नै होओ; किनकि परमेश्‍वरले प्राणको रक्षा गर्नका निम्ति मलाई तिमीहरूको अघि पठाउनुभयो। 6 किनकि यी दुई वर्षदेखि यस देशमा अनिकाल परेको छ; अनि अझै पाँच वर्ष बाँकी छ, जुन समयमा न हलो जोतिनेछ, न कटनी गरिनेछ। 7 अनि पृथ्वीमाथि तिमीहरूका निम्ति एउटा वंशको जगेरा गर्न र ठूलो छुटकाराद्वारा तिमीहरूका प्राणहरू बचाउनका निम्ति परमेश्‍वरले मलाई तिमीहरूको अघि पठाउनुभएको हो। 8 यसकारण अब मलाई यहाँ पठाउने तिमीहरू होइनौ, तर परमेश्‍वर हुनुहुन्छ; अनि उहाँले मलाई चाहिँ फाराओका निम्ति पिता, र तिनको सम्‍पूर्ण घरानाका निम्ति मालिक, अनि सारा मिस्र देशभरिको शासक तुल्याउनुभएको छ। 9 तिमीहरू छिटो गरी माथि मेरा बुबाकहाँ जाओ र उहाँलाई भन: ‘तपाईंका छोरा यूसुफ यसो भन्छन्: परमेश्‍वरले मलाई सारा मिस्रको मालिक तुल्याउनुभएको छ; तल मकहाँ झर्नुहोस्, ढिलो नगर्नुहोस्! 10 अनि तपाईं गोशेन प्रदेशमा बस्‍नुहोस्, र तपाईं मेरो नजिकमा हुनुहुनेछ – तपाईं, तपाईंका छोराछोरीहरू र तपाईंका छोराछोरीका छोराछोरीहरू अनि तपाईंका भेड़ाबाख्राहरू, तपाईंका गाईबस्तुहरू र तपाईंका जेजति सबै। 11 अनि त्यहाँ म तपाईंको पालनपोषण गर्नेछु; किनकि अझ पाँच वर्ष अनिकाल बाँकी छ; नत्र तपाईं, तपाईंको घराना र तपाईंसँग भएका सबै गरिबीमा पर्नुहुनेछ।’ 12 अनि हेर, तिमीहरूका आँखाहरूले, र मेरो भाइ बिन्यामिनका आँखाले देखिरहेछन्, कि तिमीहरूसँग कुरा गर्नेचाहिँ मेरै मुख हो। 13 अनि तिमीहरूले मिस्रमा भएको मेरो सबै महिमाको विषयमा र तिमीहरूले देखेका सबै कुराको विषयमा मेरा बुबालाई भन्‍नू; अनि तिमीहरूले छिटो गरेर मेरा बुबालाई यहाँ तल ल्याउनू!” 14 अनि उनी आफ्नो भाइ बिन्यामिनको गलामा टाँसिएर रोए, अनि बिन्यामिन पनि उनको गलामा रोए। 15 अनि उनले आफ्ना सबै दाजुभाइहरूलाई चुम्बन गरे, र उनीहरूको गलामा रोए; अनि त्‍यसपछि उनका दाजुभाइहरू उनीसँग कुरा गरे।
16 अनि यस कुराको यसो भन्‍ने खबर फाराओको घरमा पुग्यो: “यूसुफका दाजुभाइहरू आएका छन्”; अनि फाराओ र तिनका कर्मचारीहरूलाई यो कुरा असल लाग्यो। 17 अनि फाराओले यूसुफलाई भने: “आफ्ना दाजुभाइहरूलाई भन: ‘तिमीहरूले यसो गर! आफ्ना पशुहरू लाद, र हिँड़! कनान देशमा जाओ! 18 अनि आफ्ना बुबा र आफ्ना घरानाहरूलाई लिएर मकहाँ आओ; अनि म तिमीहरूलाई मिस्र देशको उत्तम भाग दिनेछु; अनि तिमीहरूले यस देशको उत्तम पदार्थ खानेछौ।’ 19 अनि तिमीलाई यो आज्ञा छ: ‘तिमीहरूले यसो गर; आफ्‍ना बालबच्‍चाहरूका निम्ति र आफ्‍ना पत्‍नीहरूका निम्ति मिस्र देशबाट गाड़ाहरू लैजाओ, र आफ्ना बुबालाई लिएर आओ! 20 अनि आफ्ना मालसामानको चिन्ता नगर; किनकि सारा मिस्र देशको उत्तम कुराचाहिँ तिमीहरूकै हो।’ ” 21 अनि इस्राएलका छोराहरूले त्यस्तै गरे; अनि यूसुफले उनीहरूलाई फाराओको आज्ञाअनुसार गाड़ाहरू दिए, र बाटोका निम्ति खानेकुरा दिए। 22 अनि उनीहरू हरेकलाई उनले केही जोड़ा वस्त्र दिए; तर बिन्यामिनलाई उनले चाँदीका तीन सय टुक्रा र पाँच जोड़ा वस्त्र दिए। 23 अनि आफ्ना बुबालाई उनले यस प्रकारले पठाए: मिस्रका असल-असल कुराहरूले लादिएका दसवटा गधाहरू, अनि आफ्ना बुबाका निम्ति बाटोका निम्ति अन्‍न, रोटी र खानेकुराले लादिएका दसवटा गधैनीहरू। 24 यसरी उनले आफ्ना दाजुभाइहरूलाई पठाए, र उनीहरू हिँड़े; अनि उनले उनीहरूलाई भने: “बाटोमा झगड़ा नगर!”
25 अनि उनीहरू मिस्रबाट माथि गए, र कनान देशमा उनीहरूका बुबा याकूबकहाँ आए; 26 अनि उनीहरूले उनलाई यसो भने: “यूसुफ अझै जिउँदै रहेछन्, अनि तिनी त सारा मिस्र देशका शासक रहेछन्।” तब याकूबको मुटु नै चल्न छोड्यो; किनकि उनले उनीहरूको कुरा पत्याएनन्। 27 अनि उनीहरूले उनलाई यूसुफका सबै कुराहरू सुनाइदिए, जो तिनले उनीहरूलाई भनेका थिए; अनि जब उनले आफूलाई लैजानका निम्ति यूसुफले पठाएका गाड़ाहरू देखे, तब उनीहरूका बुबा याकूबको ज्यानमा ज्यान आयो। 28 अनि इस्राएलले भने: “यति भए पुग्यो! मेरो छोरा यूसुफ अझै जिउँदै रहेछ! म जानेछु र मर्नुभन्दा पहिले उसको मुख हेर्नेछु।”