यूसुफको कचौरा बिन्यामिनको धोक्रामा
44
अनि उनले आफ्नो घरको अधिकारीलाई यसो भनेर आज्ञा दिए: “यी मानिसहरूका धोक्राहरू यिनीहरूले बोक्न सक्ने जति भोजनवस्तुले भरिदेऊ, र हरेकको पैसा उसैको धोक्राको मुखमा राखिदेऊ! 2 अनि मेरो कचौरा, त्यो चाँदीको कचौरा कान्छाचाहिँको धोक्राको मुखमा उसको अन्नको पैसासँग राखिदेऊ!” अनि उसले यूसुफले भनेको वचनअनुसार गर्यो। 3 बिहान उज्यालो हुनासाथ ती मानिसहरू पठाइए, उनीहरू र उनीहरूका गधाहरू। 4 जब उनीहरू शहरबाट निस्केर धेरै टाढ़ा पुगेका थिएनन्; तब यूसुफले आफ्नो घरको अधिकारीलाई भने: “उठ, ती मानिसहरूको पिछा गर; र जब तिमीले तिनीहरूलाई भेट्टाऔला, तब तिनीहरूलाई भन: ‘भलाइको बदलामा तिमीहरूले किन खराबी गर्यौ? 5 के यो त्यही चीज होइन, जसबाट मेरा मालिकले पिउनुहुन्छ? र यसैद्वारा उहाँले अवश्य साइत हेर्नुहुन्छ नै? यसो गरेर तिमीहरूले खराब काम गरेका छौ।’ ” 6 अनि उसले उनीहरूलाई भेट्टायो, र उनीहरूलाई यही कुराहरू भन्यो। 7 तब उनीहरूले उसलाई भने: “हजुरले यी कुराहरू किन भन्नुहुन्छ? तपाईंका दासहरूबाट यस कुराअनुसारको कामचाहिँ कदापि नहोस्! 8 हेर्नुहोस्, जुन पैसा हामीले हाम्रा धोक्राहरूको मुखमा पाएका थियौं, त्यो हामीले कनान देशबाट फेरि तपाईंकहाँ ल्यायौं; तब कसरी हामी तपाईंका मालिकको घरबाट चाँदी अथवा सुन चोरी गर्छौं त? 9 तपाईंका दासहरूमध्ये जससँग यो चीज भेट्टाइन्छ, त्यो मरोस्, र हामी पनि हजुरका कमाराहरू हुनेछौं।” 10 अनि उसले भन्यो: “अहिले पनि तिमीहरूका वचनअनुसार नै यो भएको होस्; जससँग यो चीज भेट्टाइन्छ, त्यो मेरो कमारा बन्नेछ; अनि तिमीहरूचाहिँ निर्दोष ठहरिनेछौ।” 11 तब उनीहरू हरेकले आ-आफ्नो धोक्रो छिटो-छिटो भुइँमा ओराले, र हरेकले आ-आफ्नो धोक्रो खोले। 12 अनि उसले खोज्न थाल्यो; जेठाबाट शुरु गरेर कान्छामा अन्त गर्यो; अनि त्यो कचौरा बिन्यामिनको धोक्रामा भेट्टाइयो। 13 तब उनीहरूले आफ्ना लुगाहरू च्याते; अनि उनीहरू हरेकले आ-आफ्नो गधा लादे, र शहरतिर फर्के।14 अनि यहूदा र तिनका दाजुभाइहरू यूसुफको घरमा आए; किनकि उनी अझै त्यहीं थिए। अनि उनीहरू उनको सामु भुइँमा लम्पसार परे। 15 तब यूसुफले उनीहरूलाई भने: “तिमीहरूले गरेको यो काम के हो? मजस्तो मानिसले अवश्य पनि साइत हेर्छ भनी के तिमीहरूलाई थाहा थिएन?” 16 अनि यहूदाले भने: “मेरा प्रभुलाई हामी के भनौं? हामी के बोलौं? अथवा हामी आफूलाई कसरी निर्दोष ठहऱ्याऔं? परमेश्वरले तपाईंका दासहरूको अधर्म भेट्टाउनुभएको छ; हेर्नुहोस्, हामी मेरा प्रभुका दासहरू हौं; हामी नै, र त्यो पनि, जससँगक त्यो कचौरा भेट्टाइयो।” 17 तब उनले भने: “मबाट यस्तो काम कदापि नहोस्! जुन मान्छेको हातमा त्यो कचौरा भेट्टाइयो, त्यो नै मेरो दास हुनेछ; तर तिमीहरूचाहिँ शान्तिसित माथि आफ्ना बुबाकहाँ जाओ!” 18 तब यहूदा उनको नजिक आए, र भने: “हे मेरा प्रभु, म विन्ती गर्दछु, आफ्नो दासलाई मेरा प्रभुको कानमा एक शब्द बोल्न दिइयोस्, र तपाईंको क्रोध आफ्नो दासमाथि नदन्किओस्; किनकि तपाईं फाराओ सरह हुनुहुन्छ। 19 मेरा प्रभुले आफ्ना दासहरूलाई यसो भन्दै सोध्नुभयो: ‘के तिमीहरूका बुबा वा भाइ छन्?’ 20 अनि हामीले मेरा प्रभुलाई भन्यौं: ‘हाम्रा बुबा हुनुहुन्छ, एक वृद्ध मानिस, अनि उहाँको बूढ़ेसकालको छोरा, त्यो कान्छा भाइ छ; अनि उसको दाजु मर्यो; अनि उसकी आमाको ऊ मात्र रहेको छ; र उसका बुबाले उसलाई प्रेम गर्नुहुन्छ।’ 21 तब तपाईंले आफ्ना दासहरूलाई भन्नुभयो: ‘उसलाई यहाँ मकहाँ ल्याओ, र म उसलाई आफ्ना आँखाले देख्न पाऊँ!’ 22 अनि हामीले मेरा प्रभुलाई भन्यौं: ‘यस ठिटाले आफ्ना बुबालाई छोड़्न सक्दैन; किनकि उसले आफ्ना बुबालाई छोड्यो भने उसका बुबा मर्नुहुनेछ।’ 23 तर तपाईंले आफ्ना दासहरूलाई भन्नुभयो: ‘तिमीहरूको कान्छा भाइ तिमीहरूसित तल झरेन भने तिमीहरूले मेरो चेहरा फेरि देख्न पाउनेछैनौ।’ 24 अनि यस्तो भयो: जब हामी माथि तपाईंका दास मेरा बुबाकहाँ पुग्यौं, तब हामीले उहाँलाई मेरा प्रभुका शब्दहरू सुनायौं। 25 अनि हाम्रा बुबाले भन्नुभयो: ‘फेरि जाओ, र हाम्रा निम्ति अलिकति भोजनवस्तु किन!’ 26 तब हामीले भन्यौं: ‘हामी तल जान सक्दैनौं। यदि हाम्रो कान्छा भाइ हामीसँग हुन्छ भने हामी तल जानेछौं; किनकि हाम्रो कान्छा भाइ हामीसँग छैन भने हामीले ती मानिसको चेहरा देख्न पाउनेछैनौं।’ 27 अनि तपाईंका दास मेरा बुबाले हामीलाई भन्नुभयो: ‘तिमीहरू जान्दछौ, मेरी पत्नीले मेरा निम्ति दुईजना छोरा जन्माइन्; 28 अनि एकजना मबाट गयो, र मैले भनें, “निश्चय त्यो धुजा-धुजा पारिएको हुनुपर्छ”; त्यस समयदेखि मैले त्यसलाई अहिलेसम्म देखेको छैनँ; 29 अनि तिमीहरूले यसलाई पनि मबाट लग्यौ भने, र यसमाथि कुनै खराबी आइपर्यो भने तिमीहरूले मेरो सेतो केश शोकको साथमा चिहानमा तल पुर्याइदिनेछौ।’ 30 यसकारण अब, जब म तपाईंको दास मेरा बुबाकहाँ पुगुँला, र यो ठिटो हाम्रो साथमा नहोला; अनि उहाँको प्राण यस ठिटाको प्राणसँग बाँधिएको हुनाले, 31 जब उहाँले यस ठिटालाई हाम्रो साथमा नभएको देख्नुहुन्छ, तब यस्तो हुनेछ: उहाँको मृत्यु हुनेछ; अनि तपाईंका दासहरूले तपाईंका दास, हाम्रा बुबाको सेतो केश शोकको साथमा तल चिहानमा पुर्याउनेछन्। 32 किनकि तपाईंको दास यस ठिटाका निम्ति यसो भन्दै आफ्ना बुबाको सामु जमानी बसेको छ: ‘यदि मैले उसलाई तपाईंकहाँ ल्याइनँ भने म मेरा बुबाका निम्ति सदा अपराधी ठहरिनेछु।’ 33 यसकारण अब म तपाईंलाई विन्ती गर्छु, यस ठिटाको सट्टामा तपाईंको दासले मेरा प्रभुको कमारा भएर बस्न पाओस्; तर यो ठिटाचाहिँ आफ्ना दाजुहरूको साथमा माथि जाओस्! 34 किनकि यो ठिटा मेरो साथमा छैन भने म कसरी माथि आफ्ना बुबाकहाँ जाऊँ? नत्र ता मेरा बुबामाथि आइपर्ने खराबी मैले देख्नुपर्छ!”