याकूबका छोराहरू दोस्रो पल्ट मिस्रमा
43
अनि देशमा अनिकाल कष्‍टदायक थियो। 2 अनि यस्तो भयो: जब उनीहरूले मिस्रबाट ल्याएको अन्‍न खाइसके, तब उनीहरूका बुबाले उनीहरूलाई भने: “फेरि जाओ, र हाम्रा लागि केही भोजनवस्तु किन!” 3 तब यहूदाले उनलाई भने: “तिमीहरूसँग तिमीहरूको भाइ छैन भने तिमीहरूले मेरो चेहरा देख्‍न पाउनेछैनौ भनी ती मानिसले हामीलाई कड़ा चेताउनी दिएका छन्। 4 तपाईंले हाम्रो भाइलाई हामीसँग पठाउनुभयो भने हामी तल गएर तपाईंका निम्ति भोजनवस्तु किन्‍नेछौं। 5 तर तपाईंले पठाउनुहुन्‍न भने हामी तल जानेछैनौं; किनकि ती मानिसले हामीलाई भने: ‘तिमीहरूसँग तिमीहरूको भाइ छैन भने तिमीहरूले मेरो चेहरा देख्‍न पाउनेछैनौ।’ ” 6 अनि इस्राएलले भने: “हाम्रो अझै एकजना भाइ छ भनेर ती मानिसलाई बताएर तिमीहरूले मसँग किन यस्तो खराब व्यवहार गर्‍यौ?” 7 तब उनीहरूले भने: “ती मानिसले विशेष गरी हाम्रो विषयमा र हाम्रा आफन्तहरूको विषयमा यसरी सोधे: ‘के तिमीहरूका बुबा अझै जीवित छन्? के तिमीहरूको अर्को पनि भाइ छ?’ अनि यी शब्दहरूअनुसार हामीले तिनलाई जवाफ दियौं। ‘तिमीहरूको भाइलाई तल ल्याओ’ भनी तिनले भन्लान् भनी हामीले के जान्‍न सक्थ्यौं र?” 8 अनि यहूदाले आफ्ना बुबा इस्राएललाई भने: “यस ठिटालाई मसित पठाउनुहोस्, तब हामी उठेर जानेछौं, र हामी जीवित रहन्छौ र मर्दैनौं – दुवै हामी र तपाईं, साथै हाम्रा बालबच्‍चाहरू पनि। 9 यसका निम्ति म नै जमानी बस्‍नेछु; मेरो हातबाट तपाईंले यसको लेखा लिनुहोस्! यदि मैले उसलाई तपाईंकहाँ ल्याइनँ भने, र उसलाई तपाईंको सामु हाजिर गरिनँ भने म तपाईंका निम्ति सदा अपराधी ठहरिनेछु। 10 किनकि हामीले ढिलो नगरेका भए निश्‍चय हामी अहिले दुई चोटि फर्केर आएका हुनेथियौं।” 11 तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने: “यदि कुरा यस्तो हो भने यसो गर: तिमीहरूले आफ्ना भाँड़ाहरूमा यस देशका उत्तम फलहरूमध्ये केही लेओ, र ती मानिसका निम्ति सौगातको रूपमा तल लैजाओ; अलिकति मलहम, अलिकति मह, मसलाहरू, गन्धरस, पेस्ता र हाड़े-बदामहरू। 12 अनि आफ्नो हातमा दोबर पैसा लैजाओ; अनि जुन पैसा तिमीहरूका धोक्राको मुखमा फर्काएर ल्याइयो, त्यो पनि आफ्नो हातमा फेरि लैजाओ! शायद त्यो भूलले भएको होला। 13 तिमीहरूको भाइलाई पनि लैजाओ; उठ, ती मानिसकहाँ फेरि जाओ! 14 अनि सर्वशक्तिमान् परमेश्‍वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन्, र तिनले तिमीहरूको अर्को भाइ र बिन्यामिनलाई तिमीहरूको साथमा पठाइदिऊन्! यदि म निर्वंश भएँ भने म भएँ-भएँ।”
15 अनि ती मानिसहरूले त्यो सौगात लिए, साथै आफ्नो हातमा दोबर पैसा र बिन्यामिनलाई लिए; अनि उनीहरू उठेर मिस्रमा झरे र यूसुफको सामु उभिए। 16 अनि जब यूसुफले बिन्यामिनलाई उनीहरूको साथमा देखे, तब उनले आफ्नो घरको अधिकारीलाई भने: “ती मानिसहरूलाई घरमा ल्याऊ, पशु मार र भोज तयार गर; किनकि यी मानिसहरूले मध्यदिनमा मसँग खाना खानेछन्।” 17 अनि त्‍यस मानिसले यूसुफले भनेअनुसार गर्‍यो; अनि त्‍यस मानिसले ती मानिसहरूलाई यूसुफको घरमा लग्यो। 18 अनि ती मानिसहरू डराए; किनकि उनीहरू यूसुफको घरमा ल्याइएका थिए। अनि उनीहरूले भने: “हाम्रा धोक्राहरूमा पहिलो पल्ट फर्काइएको पैसाको कारणले हामीहरू भित्र ल्याइएका छौं; यो त हाम्रो विरोधमा निहुँ खोज्‍न र हामीमाथि आइलागेर हामीलाई कमारा तुल्याउन र हाम्रा गधाहरू हड़प गर्नका निम्ति हो।”
19 अनि यूसुफको घरको अधिकारीको नजिक गएर उनीहरूले ऊसित घरको ढोकामा कुरा गरे, 20 र भने: “हजुरहो, पहिलोचोटि हामी साँच्‍चै भोजनवस्तु किन्‍न आएका थियौं। 21 अनि यस्तो भयो: जब हामी वास बस्‍ने ठाउँमा आइपुग्यौं, र आफ्ना धोक्राहरू खोल्यौं; तब हेर्नुहोस्, हरेकको पैसा उसकै धोक्राको मुखमा रहेछ, पूरा वजनअनुसारको हाम्रो पैसा; अनि त्यो हामीले फेरि आफ्नो हातमा लिएर आएका छौं। 22 अनि अरू पैसाचाहिँ भोजनवस्तु किन्‍न हामीले आफ्नो हातमा ल्याएका छौं; कसले हाम्रो पैसा हाम्रा धोक्राहरूमा हालिदियो, सो हामी जान्दैनौं।” 23 अनि उसले भन्यो: “तिमीहरूलाई शान्ति होस्! नडराओ! तिमीहरूका परमेश्‍वर र तिमीहरूका पिताका परमेश्‍वरले तिमीहरूलाई त्यो धन तिमीहरूका धोक्राहरूमा दिनुभएको छ। मैले त तिमीहरूको पैसा पाएँ।” अनि उसले शिमोनलाई बाहिर उनीहरूकहाँ ल्यायो। 24 अनि त्‍यस मानिसले ती मानिसहरूलाई यूसुफको घरभित्र लग्यो, र उनीहरूलाई पानी दियो; अनि उनीहरूले आफ्ना पाउ धोए; अनि उसले उनीहरूका गधाहरूलाई दाना दियो। 25 अनि मध्यदिनमा यूसुफको आगमनका निम्ति उनीहरूले सौगात तयार पारे; किनकि उनीहरूले त्यहीं खाना खानुपर्छ भनी उनीहरूले सुनेका थिए।
26 अनि जब यूसुफ घरमा आए, तब उनीहरूले त्यो सौगात, जो उनीहरूको हातमा थियो, घरभित्र यूसुफकहाँ ल्याए, र भुइँसम्म झुकेर उनलाई दण्‍डवत्‌ गरे। 27 अनि उनले उनीहरूलाई उनीहरूको कुशलक्षेम सोधे, र भने: “के तिमीहरूका बुबा – ती वृद्ध मानिस, जसको विषयमा तिमीहरूले कुरा गरेका थियौ, कुशल छन्? के उनी अझ जीवित छन्?” 28 तब उनीहरूले जवाफ दिए: “तपाईंका दास, हाम्रा पिता कुशल हुनुहुन्‍छ; उहाँ अझै जीवित हुनुहुन्‍छ”; अनि उनीहरूले शिर झुकाएर दण्‍डवत्‌ गरे। 29 अनि उनले आफ्ना आँखा उठाएर आफ्नो भाइ, आफ्नी आमाको छोरा बिन्यामिनलाई देखे, र भने: “यही नै तिमीहरूको कान्छा भाइ हो, जसको विषयमा तिमीहरूले मलाई भनेका थियौ?” अनि उनले भने: “हे मेरा छोरा, परमेश्‍वर तिमीप्रति अनुग्रही होऊन्!” 30 अनि यूसुफ हतारिए; किनकि उनको मन आफ्नो भाइप्रतिको मायाले भरिएर आयो; अनि उनले रुनलाई ठाउँ खोजे; अनि उनी भित्री कोठामा पसे, र त्यहाँ रोए। 31 अनि उनले आफ्नो मुख धोए, र बाहिर आए; अनि आफूलाई वशमा राखेर उनले भने: “खाना पस्क!” 32 अनि तिनीहरूले उनका निम्ति अलग्गै पस्के, उनीहरूका निम्ति अलग्गै, र उनीसँग खाने मिस्रीहरूका निम्ति अलग्गै पस्के; किनकि मिस्रीहरू हिब्रूहरूसँग खाना खानुहुँदैनथियो; किनभने त्यसो गर्नु मिस्रीहरूका निम्ति घृणित कुरा थियो। 33 अनि आफ्नो जेठा-अधिकारअनुसार जेठा र आफ्नो कान्छोपनाअनुसार कान्छा हुने गरी उनीहरू उनको अघिल्तिर बसे; अनि वाल्‍ल परेर ती मानिसहरूले एक-अर्कालाई हेरे। 34 अनि उनले उनीहरूका भागहरू आफ्नो सामुबाट उठाउँदै उनीहरूकहाँ पठाइदिए; अनि बिन्यामिनको भागचाहिँ उनीहरू सबैको भन्दा पाँच गुणा बढ़ी थियो। अनि तिनीहरूले पिए, र उनीसँग आनन्द मनाए