याकूबका छोराहरू मिस्रमा अन्‍न किन्‍न आए
42
अनि जब मिस्रमा अन्‍न छ भनी याकूबले थाहा पाए, तब याकूबले आफ्ना छोराहरूलाई भने: “तिमीहरू किन एक-अर्कालाई हेर्दछौ?” 2 अनि उनले भने: “हेर, मिस्रमा अन्‍न छ भनी मैले सुनेको छु; त्यहाँ तल जाओ, र त्यहाँबाट हाम्रा निम्ति किन, र हामी बाँचौं, अनि नमरौं!” 3 तब यूसुफका दसजना दाजुहरू मिस्रमा अन्‍न किन्‍न झरे। 4 तर यूसुफको भाइ बिन्यामिनलाई याकूबले उसका दाजुहरूसँग पठाएनन्; किनकि उनी भन्थे: “कहीं त्‍यसमाथि कुनै खराबी आइपर्छ कि!” 5 अनि ती आउनेहरूको बीचमा इस्राएलका छोराहरू पनि अन्‍न किन्‍न आए; किनकि कनान देशमा पनि अनिकाल परेको थियो।
6 अनि यूसुफचाहिँ त्‍यस देशका शासक थिए; अनि त्‍यस देशका सबै मानिसहरूलाई अन्‍न बेच्‍ने उनी नै थिए; अनि यूसुफका दाजुहरू आए, र आफ्ना अनुहार भुइँसम्‍म झुकाएर उनलाई दण्‍डवत्‌ गरे। 7 जब यूसुफले आफ्ना दाजुहरूलाई देखे, तब उनले उनीहरूलाई चिने; तर उनले आफूलाई उनीहरूको सामु अनजान तुल्याए, र उनीहरूसँग कठोर वचनहरू बोले; अनि उनले उनीहरूलाई भने: “तिमीहरू कहाँबाट आयौ?” अनि उनीहरूले भने: “कनान देशबाट भोजनवस्तु किन्‍न आएका छौं।” 8 अनि यूसुफले आफ्ना दाजुहरूलाई चिने, तर उनीहरूले चाहिँ उनलाई चिनेनन्। 9 तब यूसुफले उनीहरूको विषयमा आफूले देखेका सपनाहरू सम्झे, र उनीहरूलाई भने: “तिमीहरू जासूसहरू हौ! यस देशको नग्‍नतालाई हेर्न तिमीहरू आएका छौ!” 10 तब उनीहरूले उनलाई भने: “होइन, हे प्रभु; हामी तपाईंका दासहरू भोजनवस्तु किन्‍न आएका हौं। 11 हामी सब एकै मानिसका छोराहरू हौं; हामी इमानदार मानिसहरू हौं; हामी तपाईंका दासहरू जासूस होइनौं।” 12 अनि उनले उनीहरूलाई भने: “होइन, तर यस देशका नग्‍नतालाई हेर्न नै तिमीहरू आएका हौ।” 13 तब उनीहरूले भने: “तपाईंका दासहरू बाह्र दाजुभाइ हुन्; हामी कनान देशका एकै मानिसका छोराहरू हौं; अनि हेर्नुहोस्, कान्छाचाहिँ यस घड़ी हाम्रा बुबासँग छ, अनि एकजनाचाहिँ छैन।” 14 अनि यूसुफले उनीहरूलाई भने: “तिमीहरू जासूस हौ भनी मैले तिमीहरूलाई भनेको कुरा यही हो; 15 यसैद्वारा तिमीहरू जाँचिइनेछौ; फाराओको जीवनको शपथ! जबसम्म तिमीहरूको कान्छा भाइ यहाँ आउँदैन, तबसम्म तिमीहरू यहाँबाट निस्केर जान पाउनेछैनौ; 16 तिमीहरूमध्ये एउटालाई पठाओ; र त्‍यसले तिमीहरूको भाइलाई ल्याओस्; तर तिमीहरूचाहिँ कैदमा रहनेछौ, र तिमीहरूमा सत्य छ कि छैन भनी तिमीहरूका कुराहरू जाँचिनेछन्; नत्रभने फाराओको जीवनको शपथ! तिमीहरू साँच्‍चै जासूसहरू हौ।” 17 अनि उनले उनीहरूलाई तीन दिनसम्म थुनामा राखे।
18 अनि तेस्रो दिनमा यूसुफले उनीहरूलाई भने: “यो काम गर, र बाँच; किनकि म परमेश्‍वरको डर मान्दछु; 19 तिमीहरू सच्‍चा मानिसहरू हौ भने, तिमीहरूका भाइहरूमध्ये एकजना आफ्नो झ्यालखानामा कैदमा रहोस्; अनि बाँकी तिमीहरू जाओ! आफ्ना घरानाहरूको अनिकालका निम्ति अन्‍न लैजाओ! 20 तर आफ्नो कान्छा भाइलाई मकहाँ ल्याओ! यसरी तिमीहरूका कुराहरू साँचो ठहरिनेछन्, र तिमीहरू मर्नेछैनौ।” अनि उनीहरूले त्यसै गरे। 21 अनि उनीहरूले एक-अर्कालाई भने: “हाम्रो भाइको विषयमा हामी साँच्‍चै दोषी छौं; किनकि उसले हामीलाई विन्‍ती गर्दा हामीले उसको प्राणको व्यथा देख्यौं, तर हामीले सुनिदिएनौं; यसैकारण यो सङ्कष्‍ट हामीमाथि आएको छ।” 22 तब रूबेनले यसो भन्दै उनीहरूलाई जवाफ दिए: “यस ठिटाको विरोधमा पाप नगर भनी के मैले तिमीहरूलाई भनिनँ र? तर तिमीहरूले मानेनौ; यसकारण हेर, उसको रगतको लेखा पनि लिइन्छ।” 23 अनि यूसुफले एक अनुवादकद्वारा उनीहरूसँग कुरा गरेका हुनाले उनले उनीहरूको कुरा बुझे भनी उनीहरूलाई थाहा भएन। 24 तब उनी उनीहरूबाट हटे, र रोए; अनि उनीहरूकहाँ फर्केर उनले उनीहरूसँग कुरा गरे; अनि उनीहरूको बीचबाट उनले शिमोनलाई निकाले, र तिनलाई उनीहरूका आँखाको सामु बाँधे। 25 तब यूसुफले, उनीहरूका धोक्राहरू अन्‍नले भरिदिनू, हरेकको पैसा फेरि उसैको धोक्रामा राखिदिनू र बाटोका निम्ति खानेकुरा दिनू भनी आज्ञा दिए; अनि उनले उनीहरूका निम्ति त्यसै गरे। 26 अनि उनीहरूले आफ्ना अन्‍न आफ्ना गधाहरूमा लादे, र त्यहाँबाट हिँड़े। 27 अनि वास बसेको ठाउँमा जब एकजनाले आफ्नो गधालाई दाना दिन आफ्नो धोक्रो खोले, तब तिनले आफ्नो पैसा देखे; अनि हेर, त्यो तिनको धोक्रोको मुखमै थियो। 28 अनि तिनले आफ्ना दाजुभाइहरूलाई भने: “मेरो पैसा फर्काइएको रहेछ; अनि हेर, यो त मेरो धोक्रोमा छ।” तब उनीहरूको ज्यानमा ज्यान रहेन, र एक-अर्कालाई यसो भन्दै उनीहरू भयभीत भए: “परमेश्‍वरले हामीसित गर्नुभएको यो के कुरा हो?”
29 अनि उनीहरू कनान देशमा आफ्ना बुबाकहाँ आए, र आफूमाथि आइपरेका सबै कुरा उनलाई यसो भन्दै सुनाए: 30 “ती मानिसले, जो त्‍यस देशका मालिक हुन्, हामीसित कठोर वचनहरू बोले, र हामीलाई त्‍यस देशका जासूसहरू ठाने। 31 तर हामीले उनलाई भन्यौं: ‘हामी सच्‍चा मानिसहरू हौं; हामी जासूसहरू होइनौं। 32 हामी बाह्र दाजुभाइहरू, हाम्रा बुबाका छोराहरू हौं; एकजना छैन, अनि कान्छाचाहिँ यस घड़ी कनान देशमा हाम्रा बुबासँग छ।’ 33 अनि त्‍यस देशका मालिक – ती मानिसले हामीलाई भने: ‘यसैद्वारा तिमीहरू इमानदार रहेछौ भनी म जान्दछु; आफ्ना भाइहरूमध्ये एकजनालाई मसित छोड़, र आफ्ना घरानाहरूको अनिकालका लागि अन्‍न लिएर बाटो लाग! 34 र आफ्नो कान्छा भाइलाई मकहाँ ल्याओ, तब तिमीहरू जासूस होइन रहेछौ, तर सच्‍चा मानिसहरू रहेछौ भनी म जान्‍नेछु; तब म तिमीहरूलाई तिमीहरूको भाइ फिर्ता दिनेछु, अनि तिमीहरू यस देशमा व्यापार गर्न सक्नेछौ।’ ”
35 अनि यस्तो भयो: उनीहरूले आ-आफ्ना धोक्राहरू खाली गरिरहेका थिए; अनि हेर, हरेकको पैसाको थैली उसैको धोक्रोमा रहेछ; अनि जब उनीहरू र उनीहरूका बुबाले पैसाका ती थैलीहरू देखे, तब उनीहरू भयभीत भए। 36 अनि उनीहरूका बुबा याकूबले उनीहरूलाई भने: “तिमीहरूले मलाई छोराछोरीविहीन तुल्यायौ; यूसुफ छैन, र शिमोन छैन; अनि बिन्यामिनलाई पनि तिमीहरूले लानेछौ। यी सब कुराहरू मेरो विरोधमा छन्।” 37 तब रूबेनले आफ्ना बुबालाई यसो भने: “उसलाई मैले तपाईंकहाँ फर्काएर ल्याइनँ भने मेरा दुईजना छोराहरूलाई मारिदिनुहोस्! उसलाई मेरो हातमा सुम्पिदिनुहोस्, र म उसलाई तपाईंकहाँ फर्काएर ल्याउनेछु।” 38 अनि उनले भने: “मेरो छोरा तिमीहरूसँग तल जानेछैन; किनकि उसको दाजु मरिहाल्यो, अनि ऊ मात्र रहेको छ; यदि तिमीहरू गएको बाटोमा ऊमाथि कुनै खराबी आइपर्‍यो भने, तिमीहरूले मेरो सेतो केश शोकको साथमा चिहानमा तल पुर्‍याइदिनेछौ।”