फाराओका सपनाहरू
41
अनि यस्तो भयो: पूरा दुई वर्षपछि फाराओले सपना देखे; अनि हेर, तिनी नदीको किनारमा उभिएका रहेछन्! 2 अनि हेर, त्‍यस नदीबाट सातवटा हेर्नमा सुन्दर-सुन्दर र मोटा-मोटा जीउ भएका गाईहरू निस्केर आए, र काँसको घाँसमा चर्न थाले। 3 अनि हेर, तिनीहरूको पछि-पछि अरू सातवटा हेर्नमा कुरूप र दुब्ला जीउ भएका गाईहरू त्‍यस नदीबाट निस्केर आए, र नदीको किनारमा अरू गाईहरूको छेउमा उभिए। 4 अनि ती हेर्नमा कुरूप र दुब्ला जीउ भएका गाईहरूले ती हेर्नमा सुन्दर र मोटा गाईहरूलाई खाइदिए। तब फाराओ बिउँझे। 5 अनि तिनी निदाए, र तिनले दोस्रोचोटि सपना देखे; अनि हेर, एउटै डाँठबाट सातवटा मोटा र राम्रा बालाहरू निस्के। 6 अनि हेर, तिनको पछि पतला र पूर्वीय हावाले स्याप्य्राक्‍क पारेका सातवटा बालाहरू निस्के। 7 अनि ती सातवटा पतला बालाहरूले सातवटा मोटा र भरिला बालाहरूलाई निलिदिए। तब फाराओ बिउँझे; अनि हेर, यो त सपना रहेछ! 8 अनि बिहान यस्तो भयो: तिनको आत्मा व्याकुल भयो; र तिनले मिस्रका सबै जादुगरहरू र त्‍यसका सबै विद्वान्‌हरूलाई बोलाइपठाए; अनि फाराओले तिनीहरूलाई आफ्ना सपना बताए; तर फाराओलाई तिनको अर्थ खोलिदिने कोही भएन।
9 तब मद्य टक्र्याउनेहरूका हाकिमले फाराओलाई यसो भने: “आज मलाई मेरा अपराधहरूको सम्झना आएको छ: 10 फाराओ आफ्ना दासहरूसँग क्रोधित हुनुभयो, र मलाई अङ्गरक्षकहरूका प्रधानको घरमा थुनामा राख्‍नुभयो: मलाई र रोटी पकाउनेहरूका हाकिमलाई। 11 अनि हामीले एउटै रातमा सपना देख्यौं, मैले र उसले; हामी हरेकले आ-आफ्नो सपनाको अर्थअनुसारको सपना देख्यौं। 12 अनि त्यहाँ हामीसँग एकजना हिब्रू जवान थियो – अङ्गरक्षकहरूका प्रधानको दास; अनि हामीले उसलाई बतायौं, र उसले हामीलाई हाम्रा सपनाहरूका अर्थ खोलिदियो; उसले हरेकलाई आ-आफ्नो सपनाअनुसारको अर्थ खोलिदियो। 13 अनि यस्तो भयो: उसले हामीलाई जस्तो अर्थ बताएको थियो, त्यस्तै भयो। हजुरले मलाई मेरो काममा फेरि राख्‍नुभयो, र त्‍यसलाई झुन्ड्याउनुभयो।”
14 तब फाराओले यूसुफलाई बोलाइपठाए, अनि तिनीहरूले उनलाई हतारसित त्‍यस तहखानाबाट ल्याए; अनि उनले दाह्री खौरे, आफ्नो लुगा फेरे र फाराओकहाँ भित्र आए। 15 अनि फाराओले यूसुफलाई भने: “मैले एउटा सपना देखेको छु, तर त्‍यसको अर्थ खोलिदिन सक्‍ने कोही भएन; अनि मैले तिम्रो विषयमा यस्तो कुरा सुनेको छु, कि तिमीले सपना सुनेपछि त्‍यसको अर्थ खोल्न सक्छौ रे।” 16 अनि यूसुफले फाराओलाई यसो भन्दै जवाफ दिए: “म त होइन, परमेश्‍वरले नै फाराओलाई भलाइको उत्तर दिनुहुनेछ!” 17 अनि फाराओले यूसुफलाई भने: “मेरो सपनामा हेर, म नदीको किनारमा उभिरहेको थिएँ; 18 अनि हेर, नदीबाट सातवटा मोटा-मोटा जीउ भएका र हेर्नमा सुन्दर-सुन्दर गाईहरू निस्केर आए, र काँसको घाँसमा चर्न थाले; 19 अनि हेर, तिनीहरूको पछि-पछि अरू सातवटा तुच्छ, अति कुरूप र दुब्ला जीउ भएका गाईहरू निस्केर आए; सम्‍पूर्ण मिस्र देशमा मैले यीजस्ता कुरूप गाईहरू कहिल्यै देखेको थिइनँ। 20 अनि यी दुब्ला र कुरूप भएका गाईहरूले ती पहिलेका सातवटा मोटा गाईहरूलाई खाइदिए। 21 अनि यिनीहरूले तिनलाई खाए, तरै पनि यिनीहरूले तिनलाई खाएको जस्‍तो देखिँदैनथियो; तर यिनीहरूको रूप पहिलेझैं कुरूप नै थियो। तब म बिउँझें। 22 अनि मेरो सपनामा मैले देखें; अनि हेर, एउटै डाँठबाट सातवटा भरिला र राम्रा बालाहरू निस्के; 23 अनि हेर, तिनको पछि ओइलिएका, पतला र पूर्वीय हावाले स्याप्य्राक्‍क पारेका सातवटा बालाहरू निस्के; 24 अनि यी पतला बालाहरूले ती सातवटा राम्रा बालाहरूलाई निलिदिए; अनि मैले यी कुराहरू जादुगरहरूलाई बताएँ; तर मलाई अर्थ बताउन सक्ने कोही भएन।”
25 तब यूसुफले फाराओलाई भने: “फाराओको सपना एउटै हो; परमेश्‍वरले जे गर्न लाग्‍नुभएको छ, त्यो कुरा उहाँले फाराओलाई देखाउनुभएको हो। 26 ती सातवटा राम्रा गाईहरू सात वर्ष हुन्; अनि ती सातवटा राम्रा बालाहरू सात वर्ष हुन्; सपना एउटै हो। 27 अनि तिनीहरूको पछि-पछि निस्केर आउने सातवटा दुब्ला र कुरूप गाईहरू सात वर्ष हुन्; अनि पूर्वीय हावाले स्याप्य्राक्‍क पारेका सातवटा फोस्रा बालाहरूचाहिँ अनिकालका सात वर्ष हुनेछन्। 28 मैले फाराओलाई जे भनेको छु, त्यो कुरा यही हो: परमेश्‍वरले जे गर्न लाग्‍नुभएको छ, त्यो कुरा उहाँले फाराओलाई देखाउनुभएको हो। 29 हेर्नुहोस्, सारा मिस्र देशभरि ठूलो सहकालका सात वर्ष आइरहेका छन्; 30 अनि तिनीहरूको पछि-पछि अनिकालका सात वर्ष आउनेछन्; अनि मिस्र देशभरि त्यो सारा भरपूरी बिर्सिइनेछ; अनि यस अनिकालले देशलाई स्वाहा पार्नेछ। 31 अनि पछिबाट आउने त्‍यस अनिकालले गर्दा देशमा सहकालको सम्झनाधरि रहनेछैन; किनकि त्यो अनिकाल साह्रै कष्‍टदायक हुनेछ। 32 अनि फाराओलाई यो सपना दुईपल्ट दोहोर्‍याइएको अर्थ यो हो: परमेश्‍वरबाट यो कुरा सुनिश्‍चित भइसकेको छ; र परमेश्‍वरले यो कुरा चाँड़ै पूरा गर्नुहुनेछ। 33 यसकारण फाराओले अब एउटा समझदार र बुद्धिमान् मानिसलाई खोजून्, र सारा मिस्र देशमाथि अधिकारी ठहराऊन्! 34 फाराओले यसो गरून्, र यस देशमाथि अफिसरहरू नियुक्त गरून्, अनि सहकालका सात वर्षभित्र मिस्र देशको उब्जनीको पाँचौं भाग कर उठाऊन्! 35 अनि तिनीहरूले ती आउन लागेका असल वर्षहरूका सबै भोजनवस्तुहरू जम्मा गरून्, अनि शहरहरूमा भोजनका निम्ति फाराओको अधिकारमा अन्‍नहरू थुपारून्, र जोहो गरून्! 36 अनि मिस्र देशमाथि आउन लागेका अनिकालका ती सात वर्षका लागि त्यो भोजनवस्तु देशका निम्ति भण्डारमा राखियोस्; र यो देश अनिकालद्वारा नाश नहोस्!”
मिस्र देशका शासक यूसुफ
37 यो कुरा फाराओको दृष्‍टिमा र तिनका सबै कर्मचारीहरूको दृष्‍टिमा असल ठहरियो। 38 अनि फाराओले आफ्ना कर्मचारीहरूलाई भने: “के यिनीजस्ता कुनै मानिस हामी पाऔंला र, जसभित्र परमेश्‍वरको आत्मा रहनुहुन्छ?” 39 अनि फाराओले यूसुफलाई भने: “परमेश्‍वरले तिमीलाई यी सबै कुरा देखाउनुभएपछि तिमीजस्ता समझदार र बुद्धिमान् अरू कोही छैन। 40 तिमी मेरो घरका अधिकारी हुनेछौ, र मेरो समस्त प्रजा तिम्रो वचनअनुसार चल्नेछ। सिंहासनको सम्बन्धमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।” 41 अनि फाराओले यूसुफलाई भने: “हेर, मैले तिमीलाई मिस्रको सारा देशमाथि अधिकारी ठहराएको छु।” 42 अनि फाराओले आफ्नो औंठी आफ्नो हातबाट फुकाले, र त्यो यूसुफको हातमा लगाइदिए; अनि तिनले उनलाई मिहिन मलमलका वस्त्र पहिर्‍याइदिए र उनको गलामा एउटा सुनको सिक्री लगाइदिए; 43 अनि तिनले उनलाई आफ्नो दोस्रो रथमा चढ़ाए; अनि उनको अघि-अघि तिनीहरूले यो घोषणा गर्दै भने: “घुँड़ा टेक!” अनि फाराओले उनलाई सारा मिस्र देशमाथि अधिकारी ठहराए। 44 अनि फाराओले यूसुफलाई भने: “फाराओ म नै हुँ; अनि मिस्रको सारा देशभरि तिम्रो आज्ञाविना कसैले पनि आफ्नो हात वा पाउ उठाउन पाउनेछैन।” 45 अनि फाराओले यूसुफको नाम सापनत-पानेह राखे; अनि तिनले उनको विवाह ओनका पूजाहारी पोतीफेराकी छोरी आसनतसँग गरिदिए। अनि यूसुफ मिस्रको सारा देशभरि दौड़ाहा गर्न लागे। 46 अनि मिस्रका राजा फाराओको सामु उभिँदा यूसुफ तीस वर्षका थिए। अनि यूसुफ फाराओको सामुबाट निस्केर मिस्रको सारा देशभरि दौड़ाहा गर्न लागे।
47 अनि सहकालको सात वर्षमा पृथ्वीले प्रशस्त उब्जनी दियो। 48 अनि यूसुफले सात वर्षको सबै भोजनवस्तु, जो मिस्र देशमा हुन्थे, जम्मा गरे, र शहरहरूमा भोजनवस्तु साँचेर राखे; हरेक शहरको वरिपरिको जमिनको भोजनवस्तु उनले त्यही शहरभित्र साँचेर राखे। 49 अनि यूसुफले अत्यन्तै धेरै, समुद्रका बालुवाझैं गरी अन्‍नहरू थुपारे; यहाँसम्म कि उनले हिसाब राख्‍नधरि छोड़े; किनकि त्यो बेहिसाबको थियो। 50 अनि अनिकालका वर्षहरू आउनुभन्दा पहिले यूसुफका दुईजना छोराहरू जन्मे, जसलाई ओनका पूजाहारी पोतीफेराकी छोरी आसनतले उनका निम्ति जन्माएकी थिइन्। 51 अनि यूसुफले जेठाको नाम मनस्से राखे; किनकि उनी भन्थे: “परमेश्‍वरले मलाई मेरो सबै परिश्रम र मेरा बुबाको सम्‍पूर्ण घर बिर्सन लाउनुभएको छ।” 52 अनि दोस्राको नाम उनले एप्रैम राखे; “किनकि परमेश्‍वरले मेरो कष्‍टको देशमा मलाई फलवान् बनाउनुभएको छ।”
53 अनि मिस्र देशमा भएको सहकालका सात वर्ष समाप्‍त भए। 54 अनि यूसुफले भनेअनुसार सात वर्षको अनिकाल आउन थाल्यो; अनि सबै देशहरूमा अनिकाल परेको थियो; तर सारा मिस्रमा चाहिँ खानेकुरा थियो। 55 अनि जब मिस्रको सारा देश भोकले पीड़ित भयो, तब मानिसहरूले रोटीका निम्ति फाराओलाई कौलासो गरे; तब फाराओले सबै मिस्रीहरूलाई भने: “यूसुफकहाँ जाओ; जे उनले तिमीहरूलाई भन्छन्, त्यही गर!” 56 अनि पृथ्वीको सारा सतहभरि नै अनिकाल पर्‍यो; अनि यूसुफले सबै भण्डारहरू खोले, र मिस्रीहरूलाई अन्‍न बेचे; अनि मिस्र देशमा अनिकाल चर्को भयो। 57 अनि सारा पृथ्वीका मानिसहरू मिस्रमा, यूसुफकहाँ अन्‍न किन्‍न आउँथे; किनकि सारा पृथ्वीभरि नै चर्को अनिकाल परेको थियो।