यूसुफ झ्यालखानामा
40
अनि यी कुराहरूपछि यस्तो भयो: मिस्रका राजाका मद्य टक्र्याउने र रोटी पकाउनेले आफ्ना मालिक मिस्रका राजाको विरोधमा अपराध गरे। 2 तब फाराओ आफ्ना दुईजना अफिसरहरूसँग अर्थात् मद्य टक्र्याउनेहरूका हाकिम र रोटी पकाउनेहरूका हाकिमसँग क्रोधित भए। 3 अनि तिनले तिनीहरूलाई अङ्गरक्षकहरूका प्रधानको घरमा झ्यालखानाभित्र, त्यस ठाउँमा थुनामा राखे, जहाँ यूसुफ कैदमा थिए। 4 अनि अङ्गरक्षकहरूका प्रधानले तिनीहरूलाई यूसुफको जिम्मामा सुम्पे, अनि उनले तिनीहरूको सेवाटहल गरे; अनि तिनीहरू त्यहाँ केही समय थुनामा रहे। 5 अनि झ्यालखानामा थुनिएका मिस्रका राजाका मद्य टक्र्याउने र रोटी पकाउने दुवैले – हरेकले एकै रातमा आ-आफ्नो सपना, हरेकले आ-आफ्नो सपनाको अर्थअनुसारको सपना देखे। 6 अनि बिहान यूसुफ तिनीहरूकहाँ आए, र तिनीहरूलाई हेरे; अनि हेर, तिनीहरू उदास थिए। 7 अनि उनले फाराओका अफिसरहरूलाई, जो उनका मालिकको घरमा उनीसँग थुनामा थिए, यसो भनेर सोधे: “आज तपाईंहरूका चेहराहरू किन उदास छन्?” 8 तब तिनीहरूले उनलाई भने: “हामीले सपना देखेका छौं, तर यसको अर्थ खोलिदिने कोही छैन।” अनि यूसुफले तिनीहरूलाई भने: “के सपनाका अर्थहरू खोल्ने काम परमेश्वरको होइन र? म तपाईंहरूलाई विन्ती गर्दछु, मलाई भन्नुहोस्!”9 तब मद्य टक्र्याउनेहरूका हाकिमले यूसुफलाई आफ्नो सपना बताए, र उनलाई भने: “मेरो सपनामा हेर, एउटा दाखको बोट मेरो सामु थियो; 10 र त्यस दाखको बोटमा तीनवटा हाँगाहरू थिए; अनि त्यसमा मानौं कोपिलाहरू लागेका थिए; त्यसका फूलहरू फुले, र त्यसका झुप्पाहरू पाकेका अङ्गुरहरू भए; 11 अनि फाराओको कचौरा मेरो हातमा थियो; अनि मैले ती अङ्गुरहरू टिपेर तिनलाई फाराओको कचौरामा निचोरें; अनि त्यो कचौरा मैले फाराओको हातमा दिएँ।” 12 तब यूसुफले तिनलाई भने: “यसको अर्थ यो हो: ती तीन हाँगाहरू तीन दिन हुन्; 13 अबको तीन दिनभित्र फाराओले तपाईंको शिर उच्च पार्नुहुनेछ, र फेरि तपाईंलाई तपाईंको पदमा राख्नुहुनेछ; अनि तपाईं उहाँको मद्य टक्र्याउने हुनुहुँदाको पहिलेको रीतिअनुसार तपाईंले फाराओको कचौरा उहाँको हातमा दिनुहुनेछ। 14 तर जब तपाईंको भलो हुनेछ, तब मेरो सम्झना गर्नुहोस्! अनि म तपाईंलाई विन्ती गर्दछु, मप्रति दया देखाएर फाराओकहाँ मेरो कुरा गरिदिनुहोस्, र मलाई यस घरबाट निकालिदिनुहोस्; 15 किनकि साँच्चै म हिब्रूहरूको देशबाट चोरिएको हुँ; अनि यहाँ पनि तिनीहरूले मलाई यस तहखानामा हाल्नुपर्ने कुनै काम मैले गरेको छैनँ।”
16 अनि सपनाको अर्थ राम्रो भएको देखेर रोटी पकाउनेहरूका हाकिमले यूसुफलाई भने: “म पनि आफ्नो सपनामा थिएँ; अनि हेर, सेता रोटीका तीनवटा टोकरीहरू मेरो टाउकोमा थिए; 17 अनि माथिल्लो टोकरीमा रोटी पकाउनेले फाराओका निम्ति बनाएका सब प्रकारका खानेकुरा थिए; अनि चराहरूले मेरो टाउकोमाथि भएको त्यस टोकरीबाट ती खानेकुरा खाइदिए।” 18 अनि यूसुफले जवाफ दिएर भने: “यसको अर्थ यो हो: ती तीन टोकरीहरू तीन दिन हुन्; 19 अबको तीन दिनभित्र फाराओले तपाईंको शिरबाट तपाईंबाट उठाउनुहुनेछ, र तपाईंलाई एउटा रूखमा झुन्ड्याउनुहुनेछ; अनि चराहरूले तपाईंबाट तपाईंको मासु खानेछन्।” 20 अनि यस्तो भयो: तेस्रो दिनमा, जोचाहिँ फाराओको जन्म-दिन थियो, फाराओले आफ्ना सबै कर्मचारीहरूका निम्ति भोज लगाए; अनि तिनले आफ्ना कर्मचारीहरूको बीचमा मद्य टक्र्याउनेहरूका हाकिम र रोटी पकाउनेहरूका हाकिमलाई झ्यालखानाबाट निकालेक। 21 अनि तिनले मद्य टक्र्याउनेहरूका हाकिमलाई फेरि तिनको मद्य टक्र्याउने काममा राखे; अनि तिनले फाराओको हातमा त्यो कचौरा दिन थाले। 22 तर रोटी पकाउनेहरूका हाकिमलाई चाहिँ तिनले झुन्ड्याइदिए, जसरी यूसुफले तिनीहरूलाई अर्थ खोलिदिएका थिए। 23 तरै पनि मद्य टक्र्याउनेहरूका हाकिमले यूसुफको सम्झना गरेनन्, तर उनलाई बिर्से।