यूसुफ पोतिफरको घरमा
39
अनि यूसुफ तल मिस्रमा लगिए; अनि एकजना मिस्री मानिस पोतिफरले, जो फाराओका अफिसर अर्थात् अङ्गरक्षकहरूका प्रधान थिए, उनलाई इश्माएलीहरूको हातबाट किने, जसले उनलाई त्यहाँ ल्याएका थिए। 2 अनि परमप्रभु यूसुफको साथमा हुनुहुन्थ्यो; अनि उनी उन्‍नतिशील मानिस थिए; अनि उनी आफ्ना मिस्री मालिकको घरमा थिए। 3 अनि परमप्रभु उनको साथमा हुनुहुन्छ, र उनले गरेका सबै कामहरू परमप्रभुले उनको हातमा सफल तुल्याउनुहुन्छ भन्‍ने कुरा उनका मालिकले थाहा पाए। 4 अनि यूसुफले तिनको दृष्‍टिमा अनुग्रह पाए, र तिनको सेवा गरे; अनि तिनले उनलाई आफ्नो घरको अधिकारी तुल्याए, र आफ्ना सबै थोक उनको हातमा सुम्पिदिए। 5 अनि यस्तो भयो: जुन बेलादेखि तिनले यूसुफलाई आफ्नो घर र आफ्नो सबै थोकमाथि अधिकारी तुल्याए, त्‍यस बेलादेखि परमप्रभुले यूसुफको कारणले त्‍यस मिस्रीको घरलाई आशिष्‌ दिनुभयो; अनि परमप्रभुको आशिष्‌ घरमा र खेतबारीमा भएका तिनका सबै थोकमाथि रह्‍यो। 6 अनि तिनले आफूसँग भएका सबै थोक यूसुफको हातमा छोड़िदिए; आफूले खाएको रोटीबाहेक तिनीसँग भएको कुनै कुराको विषयमा तिनलाई थाहा हुँदैनथ्यो; अनि यूसुफको जिउडाल राम्रो र हेर्नमा सुन्दर थियो।
7 अनि यस्तो भयो: यी कुराहरूपछि उनका मालिककी पत्‍नीले यूसुफमाथि आफ्ना आँखा गाड़्‍न थालिन्; अनि तिनले भनिन्: “मसँग सुत!” 8 तर उनले अस्वीकार गरे, र आफ्ना मालिककी पत्‍नीलाई भने: “हेर्नुहोस्, मेरा मालिकले घरमा मसित के छ, केही जान्‍नुहुन्‍न; अनि उहाँले आफ्ना सबै थोक मेरो हातमा सुम्पनुभएको छ; 9 यस घरमा मभन्दा ठूलो अरू कोही छैन; अनि उहाँले तपाईंबाहेक, किनकि तपाईं उहाँकी पत्‍नी हुनुहुन्छ, अरू कुनै थोक पनि मबाट रोकेर राख्‍नुभएको छैन; तब कसरी म यति ठूलो दुष्‍टता गर्न र परमेश्‍वरको विरोधमा पाप गर्न सक्छु र?” 10 अनि यस्तो भयो: तिनले यूसुफसँग दिन प्रतिदिन कुरा गरेकी भए तापनि तिनीसित सुत्‍नु वा तिनीसित रहनु भन्‍ने तिनको कुरा उनले मानेनन्। 11 अनि त्‍यस समयमा यस्तो भयो: जब यूसुफ आफ्ना काम गर्न घरभित्र पसे; अनि त्‍यस घरका मानिसहरूमध्ये कुनै पनि घरभित्र थिएन; 12 तब तिनले उनलाई उनको लुगामा यसो भन्दै समातिन्: “मसँग सुत!” तब उनी आफ्नो लुगा तिनकै हातमा छोड़ेर भागे, र बाहिर निस्के। 13 अनि यस्तो भयो: जब यूसुफले आफ्नो लुगा तिनकै हातमा छोड़ेर बाहिर भागेको देखिन्, 14 तब तिनले आफ्ना घरका मानिसहरूलाई बोलाएर तिनीहरूलाई यसो भनिन्: “हेर, हाम्रो ठट्टा गर्न उहाँले एउटा हिब्रू मानिसलाई हामीकहाँ ल्याउनुभएको छ; मसँग सुत्‍न त्यो मकहाँ भित्र आयो; तब मैले ठूलो सोरले चिच्च्याएँ। 15 अनि यस्तो भयो: जब त्‍यसले मैले आफ्नो सोर उचालेर कराएकी सुन्यो, तब आफ्नो लुगा मसित छोड़ेर त्‍यो भाग्यो, र बाहिर निस्क्यो।” 16 अनि उनका मालिक घरमा नआउन्जेल तिनले उनको लुगा आफ्नै छेउमा राखिछोड़िन्। 17 अनि तिनले यसो भन्दै यिनलाई यी शब्दहरू नै भनिन्: “यो हिब्रू दास, जसलाई तपाईंले हामीकहाँ ल्याउनुभएको छ, मेरो ठट्टा गर्न मकहाँ आयो; 18 अनि यस्तो भयो: जब मैले आफ्नो सोर उचालेर कराएँ, तब आफ्नो लुगा मसित छोड़ेर त्‍यो बाहिर भाग्यो।”
19 अनि यस्तो भयो: जब उनका मालिकले आफ्नी पत्‍नीका कुराहरू सुने, जो तिनले यिनलाई यसो भन्दै भनिन्: “तपाईंको दासले मसित यस प्रकारले व्यवहार गर्‍यो”; तब यिनको रिस दन्कियो। 20 अनि यूसुफका मालिकले उनलाई लगे, र उनलाई झ्यालखानामा हालिदिए, त्‍यस ठाउँमा, जहाँ राजाका कैदीहरू थुनिन्थे; अनि उनी त्यहाँ, त्‍यस झ्यालखानामा रहे। 21 तर परमप्रभु यूसुफको साथमा हुनुहुन्थ्यो, र उनीप्रति दया देखाउनुभयो, अनि उनलाई झ्यालखानाका हाकिमको दृष्‍टिमा कृपाको पात्र तुल्याउनुभयो। 22 अनि झ्यालखानाका हाकिमले झ्यालखानामा भएका सबै कैदीहरूलाई यूसुफको हातमा सुम्पे, अनि तिनीहरूले त्यहाँ जे पनि गर्थे, त्यो गर्ने उनी नै हुन्थे। 23 झ्यालखानाका हाकिमले उनको हातमा सुम्पेको कुनै पनि कुरा हेर्दैनथे; किनभने परमप्रभु उनको साथमा हुनुहुन्थ्यो, र उनले जे गर्थे, त्यो काम परमप्रभुले सफल तुल्याइदिनुहुन्थ्यो।