यहूदा र तामार
38
अनि त्‍यस बेला यस्तो भयो: यहूदा आफ्ना दाजुभाइहरूलाई छोड़ेर तलतिर झरे, र कुनै एउटा हिरा नाम भएको अदुल्‍लामवासीकहाँ बस्‍न लागे। 2 अनि त्यहाँ यहूदाले कुनै एकजना शूअ नाम भएको कनानीकी छोरीलाई देखे; तब यहूदाले तिनलाई लगे, र तिनीकहाँ गए। 3 अनि तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्; अनि उनले उसको नाम एर राखे। 4 अनि तिनी फेरि गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; अनि तिनले उसको नाम ओनान राखिन्। 5 अनि अझै तिनी फेरि गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; अनि तिनले उसको नाम शेलाह राखिन्; तिनले उसलाई जन्माएकी समयमा यहूदा कजीबमा थिए। 6 अनि यहूदाले आफ्नो जेठा छोरा एरका निम्ति एउटी स्‍वास्‍नी ल्याए, जसको नाम तामार थियो। 7 तर यहूदाको जेठा छोरा एर परमप्रभुको दृष्‍टिमा दुष्‍ट थियो; अनि परमप्रभुले त्‍यसलाई मार्नुभयो। 8 अनि यहूदाले ओनानलाई भने: “आफ्ना दाजुकी पत्‍नीकहाँ जाऊ, र तिनीसँग देवरको कर्तव्य पूरा गर र आफ्ना दाजुका निम्ति सन्तान पैदा गर!” 9 अनि यो सन्तान मेरो हुँदैन भनी ओनानलाई थाहा थियो; अनि यस्तो भयो: जब त्यो आफ्नी भाउज्यूकहाँ गयो, तब आफ्ना दाजुलाई सन्तान नदिनका निम्ति त्‍यसले त्यो भुइँमा पोखाइदियो। 10 अनि त्‍यसले गरेको यो काम परमप्रभुको दृष्‍टिमा खराब थियो; यसकारण उहाँले त्‍यसलाई पनि मार्नुभयो। 11 तब यहूदाले आफ्नी बुहारी तामारलाई भने: “जबसम्म मेरो छोरा शेलाह ठूलो हुँदैन, तबसम्म तिमी आफ्ना बुबाको घरमा विधवा भएर बस!”; किनकि उनले भन्थे: “कहीं यसका दाजुहरूजस्तै यो पनि मर्ला कि!” अनि तामार गइन्, र आफ्ना बुबाको घरमा बसिन्।
12 अनि धेरै समय बितेपछि शूआकी छोरी अर्थात् यहूदाकी पत्‍नी मरिन्; अनि यहूदाले सान्‍त्‍वना पाए, अनि उनी र उनको साथी अदुल्‍लामवासी हिरा माथि तिम्‍नामा उनका भेड़ाहरूको ऊन कत्रनेहरूकहाँ गए। 13 अनि तामारलाई यसो भनिएको थियो: “हेर, तिम्रा ससूरा आफ्ना भेड़ाहरूको ऊन कत्रन माथि तिम्‍ना जाँदैछन्।” 14 अनि तिनले आफ्नो विधवापनाका लुगाहरू आफूबाट उतारिन्, र घुम्टो हालेर आफूलाई ढाकिन्, अनि तिम्‍ना जाने बाटोमा भएको एनयिमको मूलढोकामा बसिन्; किनकि शेलाह ठूलो भइसकेको, तरैपनि तिनी आफूचाहिँ उसलाई उसकी पत्‍नी हुन नदिइएको कुरा तिनले थाहा पाएकी थिइन्। 15 जब यहूदाले तिनलाई देखे, तब उनले तिनलाई वेश्या ठाने; किनभने तिनले आफ्नो अनुहार ढाकेकी थिइन्। 16 अनि त्‍यस बाटोलाई छोड़ेर उनी तिनीतिर लागे, र भने: “आऊ, म तिमीलाई विन्‍ती गर्दछु, मलाई तिमीकहाँ आउन देऊ!” किनकि तिनी उनकी बुहारी थिइन् भनी उनलाई थाहा भएन। अनि तिनले भनिन्: “तपाईंले मलाई के दिनुहुन्छ, र म तपाईंलाई मकहाँ आउन दिऊँ?” 17 अनि उनले भने: “म तिमीलाई बगालबाट एउटा बाख्राको पाठो पठाइदिनेछु।” तब तिनले भनिन्: “जबसम्म तपाईंले त्यो पठाउनुहुन्‍न, तबसम्मका निम्ति के तपाईं मकहाँ केही धरौटी राख्‍नुहुन्छ की?” 18 अनि उनले भने: “म तिमीलाई के धरौटी दिऊँ?” तब तिनले भनिन्: “तपाईंको छापऔंठी, तपाईंका चुराहरू र तपाईंको हातमा भएको तपाईंको लौरो।” अनि उनले तिनलाई ती चीजहरू दिए, र तिनीकहाँ गए; अनि तिनी उनीबाट गर्भवती भइन्। 19 अनि तिनी उठेर गइन्, र आफूबाट घुम्टो हटाइन्, अनि आफ्नो विधवापनाका वस्त्रहरू पहिरिन्। 20 अनि त्‍यस स्त्रीको हातबाट आफ्नो धरौटी पाउनका निम्ति यहूदाले आफ्नो अदुल्‍लामवासी साथीको हातद्वारा त्यो बाख्राको पाठो पठाए, तर उनले तिनलाई भेट्टाएनन्। 21 तब उनले त्‍यस ठाउँका मानिसहरूलाई यसो भनेर सोधे: “एनयिममा त्‍यस बाटोको किनारमा बस्‍ने वेश्या कहाँ छे?” अनि तिनीहरूले भने: ‘त्‍यस ठाउँमा कुनै वेश्या थिइन।’ ” 22 अनि यहूदाकहाँ फर्केर उनले भने: “मैले त्‍यसलाई भेट्टाउनै सकिनँ; अनि त्‍यस ठाउँका मानिसहरूले पनि भने ‘यस ठाउँमा कुनै वेश्या थिइन।’ ” 23 तब यहूदाले भने: “ती चीजहरू त्यसैले राखोस्, नत्र हामी लाजमा पर्नेछौं; हेर्नुहोस्, यो पाठो मैले पठाएकै हो, र तपाईंले त्‍यसलाई भेट्टाउनुभएन।” 24 अनि प्राय: तीन महिनापछि यस्तो भयो: यहूदालाई यस्तो खबर सुनाइयो: “तपाईंकी बुहारी तामारले वेश्याकर्म गरेकी छे; अनि वेश्याकर्मद्वारा ऊ गर्भवती भएकी छे।” तब यहूदाले भने: “त्‍यसलाई बाहिर ल्याऊ, र त्यो जलाइयोस्!” 25 जब तिनी ल्याइँदैथिइन्, तब तिनले आफ्ना ससूरालाई यसो भनिपठाइन्: “यी चीजहरू जसका हुन्, ती मानिसबाट म गर्भवती भएकी हुँ”; अनि तिनले भनिन्: “यी चीजहरू – यो छापऔंठी, यी चुराहरू र यो लौरो कसका हुन्, म तपाईंलाई विन्‍ती गर्दछु, चिन्‍नुहोस्!” 26 तब यहूदाले ती चीजहरू आफ्ना हुन् भनी स्वीकार गरे, र भने: “तिनी त मभन्दा बढ़ी धर्मी छिन्; किनभने मैले तिनलाई मेरो छोरा शेलाह दिइनँ।” अनि उनले तिनलाई फेरि कहिल्यै चिनेनन् 27 अनि तिनको प्रसूति-वेदनाको समयमा यस्तो भयो: हेर, तिनको गर्भमा जुम्ल्याहा रहेछन्! 28 अनि तिनलाई प्रसूति-वेदना लाग्दा यस्तो भयो: एउटाले आफ्नो हात निकाल्यो; अनि सुँड़ेनीले रातो धागो लिएर यसो भन्दै यसको हातमा बाँधी: “योचाहिँ पहिले निस्क्यो।” 29 अनि जब त्‍यसले आफ्नो हात फेरि भित्र खिँच्यो, तब यस्तो भयो: हेर, त्‍यसको भाइ बाहिर निस्क्यो; अनि उसले भनी: “तँ कसरी फोरेर निस्किस्? यो धाँदो तँमाथि परोस्!” यसैकारण त्‍यसको नाम पेरेज राखियो। 30 अनि त्‍यसपछि त्‍यसको भाइ निस्क्यो, जसको हातमा त्यो रातो धागो थियो; अनि यसको नाम जेरह राखियो।