यूसुफका सपनाहरू
37
अनि याकूब कनान देशमा अर्थात् उनका बुबा परदेशी भई रहेका देशमा बस्थे। 2 याकूबका वंशहरू यी हुन्: यूसुफ सत्र वर्षको हुँदा आफ्ना दाजुभाइहरूको साथमा भेड़ाबाख्राहरू चराउँथे; अनि त्यो जवान आफ्ना बुबाका स्‍वास्‍नीहरू बिल्हाका छोराहरू र जिल्पाका छोराहरूसँग थिए; अनि यूसुफले तिनीहरूका बुबाकहाँ तिनीहरूको खराब समाचार ल्याउँथे। 3 अनि इस्राएलले यूसुफलाई आफ्ना सबै छोराछोरीहरूलाई भन्दा बढ़ी माया गर्थे; किनकि तिनी उनका बूढ़ेसकालका छोरा थिए; अनि उनले तिनका निम्ति एउटा रङ्गबिरङ्गी लबेदा बनाइदिए। 4 अनि जब तिनीहरूका बुबाले तिनलाई तिनका सबै दाजुभाइहरूलाई भन्दा बढ़ी माया गरेका कुरा तिनका दाजुभाइहरूले देखे, तब तिनीहरूले तिनलाई घृणा गरे र तिनीसित मिलापको भावले कुरा गर्न सकेनन्।
5 अनि यूसुफले एउटा सपना देखे; अनि तिनले त्यो आफ्ना दाजुभाइहरूलाई बताए; तब तिनीहरूले तिनलाई झन् बढ़ी घृणा गरे। 6 अनि तिनले तिनीहरूलाई भने: “दया गरी मैले देखेको सपना सुन्‍नुहोस्! 7 किनकि हेर्नुहोस्, हामी खेतबारीमा बिटाहरू बाँधिरहेका थियौं; अनि हेर्नुहोस्, मेरो बिटा उठ्यो, र उभियो पनि; अनि हेर्नुहोस्, तपाईंहरूका बिटाहरू वरिपरि आएर मेरो बिटालाई दण्‍डवत्‌ गरे।” 8 अनि तिनका दाजुभाइहरूले तिनलाई भने: “के तैंले साँच्‍चै हामीमाथि राज्य गर्छस्? अथवा के तैंले साँच्‍चै हामीमाथि अधिकार चलाउँछस्?” अनि तिनका सपनाहरू र तिनका शब्दहरूले गर्दा तिनीहरूले तिनलाई झन् बढ़ी घृणा गरे। 9 अनि तिनले अझै अर्को सपना देखे, र त्यो आफ्ना दाजुभाइहरूलाई बताएर भने: “हेर्नुहोस्, मैले अझै एउटा सपना देखेको छु; अनि हेर्नुहोस्, घाम, जून र एघारवटा ताराहरूले मलाई दण्‍डवत्‌ गरे।” 10 अनि तिनले आफ्ना बुबा र आफ्ना दाजुभाइहरूलाई यो बताए; तब तिनका बुबाले तिनलाई हप्काएर तिनलाई भने: “तिमीले देखेको यो सपना के हो? के मैले र तिम्री आमाले, अनि तिम्रा दाजुभाइहरूले साँच्‍चै आएर भुइँसम्म झुकेर तिमीलाई दण्‍डवत्‌ गर्नुपर्छ?” 11 अनि तिनका दाजुभाइहरूले तिनलाई डाहा गर्न थाले; तर तिनका बुबाले यो कुरा मनमा राखे।
यूसुफ मिस्र देशमा बेचिए
12 अनि तिनका दाजुभाइहरू शेकेममा आफ्ना बुबाका भेड़ाबाख्राहरू चराउन गए। 13 अनि इस्राएलले यूसुफलाई भने: “के तिम्रा दाजुभाइहरूले शेकेममा भेड़ाबाख्राहरू चराउँदैनन् र? आऊ, म तिमीलाई तिनीहरूकहाँ पठाउनेछु।” अनि तिनले उनलाई भने: “म यहाँ छु।” 14 अनि उनले तिनलाई भने: “जाऊ त, तिम्रा दाजुभाइहरूको अवस्था राम्रै छ कि छैन, र भेड़ाबाख्राहरू ठीक छन् कि छैनन्, हेर; र मकहाँ खबर ल्याऊ!” तब उनले तिनलाई हेब्रोनको बेंसीबाट पठाए; अनि तिनी शेकेममा आइपुगे। 15 अनि कुनै एउटा मानिसले तिनलाई भेट्टायो; अनि हेर, तिनी त मैदानमा यताउता भड़्किरहेका थिए; अनि त्‍यस मानिसले तिनलाई यसो भनेर सोध्यो: “तिमी के खोज्दैछौ?” 16 अनि तिनले भने: “म त आफ्ना दाजुभाइहरूलाई खोज्दैछु; म तपाईंलाई विन्‍ती गर्दछु, मलाई बताउनुहोस्, तिनीहरूले भेड़ाबाख्राहरू कहाँ चराउँदैछन्?” 17 अनि त्‍यस मानिसले भन्यो: “तिनीहरू यहाँबाट गइसके; किनकि मैले तिनीहरूलाई ‘लौ, हामी दोतानतिर जाऔं’ भन्दै गरेको सुनें।” अनि यूसुफ आफ्ना दाजुभाइहरूको पछि लागे, र तिनीहरूलाई दोतानमा भेट्टाए। 18 अनि जब तिनीहरूले तिनलाई टाढ़ामा देखे, तब तिनी तिनीहरूको नजिकमा आउनुभन्दा पहिल्यै तिनीहरूले तिनको विरोधमा तिनलाई मार्ने षड़्यन्‍त्र गरे। 19 अनि तिनीहरूले आपसमा भने: “हेर, त्यो स्‍वप्‍न-दर्शी आउँदैछ। 20 यसकारण अब आओ, हामी त्‍यसलाई मारौं, र कुनै एउटा खाल्डोभित्र फ्याँकिदिऔं; अनि ‘त्‍यसलाई कुनै दुष्‍ट पशुले खाएछ’ भनी भनौं; अनि हेरौं, त्‍यसका सपनाहरू के हुने रहेछन्!” 21 अनि रूबेनले यो कुरा सुने, अनि उनले तिनलाई तिनीहरूको हातबाट छुटाए, र भने: “हामी त्‍यसलाई नमारौं!” 22 अनि रूबेनले तिनीहरूलाई भने: “रगत नबगाओ! तर उजाड़स्थानमा भएको यस खाल्डोभित्र फालिदेओ; र त्‍यसमाथि हात नहाल!” तिनलाई तिनीहरूको हातबाट छुटाएर तिनलाई तिनका बुबाकहाँ फर्काइदिने विचारले उनले यसो भनेका थिए। 23 अनि यस्तो भयो: जब यूसुफ आफ्ना दाजुभाइहरूकहाँ आए, तब तिनीहरूले यूसुफबाट तिनको लबेदा अर्थात् तिनले पहिरेको रङ्गबिरङ्गी लबेदा उतारिदिए; 24 अनि तिनीहरूले तिनलाई लगे, र तिनलाई एउटा खाल्डोभित्र फालिदिए; अनि त्यो खाल्डो खाली थियो; त्‍यसमा पानी थिएन।
25 अनि तिनीहरू रोटी खान बसे; तब तिनीहरूले आफ्ना आँखा उठाएर हेरे; अनि हेर, गिलादबाट आएको एक दल इश्माएलीहरूलाई तल मिस्रमा लैजानलाई सुगन्धित द्रव्य, सुगन्धित मलहम र गन्धरस बोकेका तिनीहरूका ऊँटहरूको साथमा गइरहेका थिए। 26 अनि यहूदाले आफ्ना दाजुभाइहरूलाई भने: “हामीले आफ्नो भाइलाई मार्नु र त्‍यसको रगत लुकाउनुमा के फाइदा छ र? 27 आओ, हामी त्‍यसलाई इश्माएलीहरूको हातमा बेचिदिऔं, र त्‍यसमाथि हाम्रो हात नपरोस्; किनकि त्यो हाम्रै भाइ र हाम्रै मासु हो।” अनि उनका दाजुभाइहरूले उनको कुरा माने। 28 अनि मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गइरहेका थिए; तब तिनीहरूले यूसुफलाई खाल्डोबाट तानेर माथि निकाले, र यूसुफलाई बीस टुक्रा चाँदीमा इश्माएलीहरूको हातमा बेचिदिए; अनि उनीहरूले यूसुफलाई मिस्रमा लगे। 29 अनि रूबेन त्‍यस खाल्डोमा फर्केर गए; अनि हेर, यूसुफ खाल्डोभित्र थिएनन्; तब उनले आफ्ना लुगा च्याते। 30 अनि उनी आफ्ना भाइहरूकहाँ फर्के, र भने: “त्यो केटा त छैन! अनि म, मचाहिँ कहाँ जाऊँ?”
31 अनि तिनीहरूले यूसुफको लबेदा लिए, अनि बाख्राको एउटा पाठो मारेर त्यो लबेदा त्‍यस रगतमा चोपे; 32 अनि तिनीहरूले त्यो रङ्गबिरङ्गी लबेदा पठाए, र आफ्ना बुबाकहाँ लगेर भने: “यो हामीले भेट्टाएका छौं; अब यो तपाईंका छोराको लबेदा हो कि होइन, चिन्‍नुहोस्!” 33 अनि उनले त्यो चिने र भने: “यो मेरो छोराको लबेदा हो; कुनै दुष्‍ट पशुले उसलाई खाएको छ; निस्सन्देह यूसुफ धुजा-धुजा पारिएको हुनुपर्छ।” 34 तब याकूबले आफ्ना लुगाहरू च्याते, आफ्नो कम्मरमा भाङ्ग्राको लुगा लगाए र धेरै दिनसम्म आफ्नो छोराका निम्ति विलाप गरे। 35 अनि उनका सबै छोराहरू र उनका सबै छोरीहरू उनलाई सान्‍त्‍वना दिन उठे, तर उनले शान्त हुन मानेनन्; अनि उनले भने: “म विलाप गर्दै-गर्दै तल अधलोकमा मेरो छोराकहाँ जानेछु।” यसरी तिनका बुबा तिनका निम्ति रोए। 36 अनि ती मिद्यानीहरूले तिनलाई मिस्रमा फाराओका अफिसर अर्थात् अङ्गरक्षकहरूका प्रधान पोतिफरको हातमा बेचिदिए।