याकूब बेतएलमा फर्के
35
अनि परमेश्‍वरले याकूबलाई भन्‍नुभयो: “उठ, माथि बेतएलमा जाऊ, र त्यहीं बस; अनि त्यहाँ परमेश्‍वरका निम्ति एउटा वेदी बनाऊ, जो तिमी आफ्ना दाजु एसावको सामुबाट भागेर जाँदा तिमीकहाँ देखा पर्नुभएको थियो!” 2 तब याकूबले आफ्नो घराना र आफूसित भएका सबैलाई भने: “तिमीहरूको बीचमा भएका पराई देवताहरू हटाइदेओ, र आफैलाई शुद्ध पार, अनि आफ्ना लुगाहरू बदली गर! 3 अनि हामी उठौं र माथि बेतएलमा जाऔं! अनि त्यहाँ म परमेश्‍वरका निम्ति एउटा वेदी बनाउनेछु, जसले मेरो कष्‍टको दिनमा मलाई जवाफ दिनुभयो, र जो म गएको बाटोमा मेरो साथमा रहनुभयो।” 4 अनि उनीहरूले आफ्नो हातमा भएका सबै पराई देवताहरू र आफ्ना कानहरूमा भएका कुण्डलहरू याकूबलाई दिए; अनि याकूबले तिनलाई शेकेमनेर भएको फलाँटको रूखमुनि लुकाए। 5 अनि उनीहरूले यात्रा गरे; अनि उनीहरूका चारैतिर भएका शहरहरूमा परमेश्‍वरको त्रास फैलियो, र तिनीहरूले याकूबका छोराहरूलाई पिछा गरेनन्।
6 यसरी याकूब, उनी र उनीसँग भएका सबै मानिसहरू कनान देशमा भएको लूजमा अर्थात् बेतएलमा आइपुगे। 7 तब उनले त्यहाँ एउटा वेदी बनाए, र त्‍यस ठाउँको नाम ‘एल-बेतएल’ राखे; किनभने उनी आफ्ना दाजुको सामुबाट भागेर जाँदा त्यहीं परमेश्‍वर उनीकहाँ देखा पर्नुभएको थियो 8 अनि रिबेकाकी धाई दबोराको मृत्यु भयो; अनि बेतएलको तलतिर तिनी फलाँटको रूखमुनि गाड़िए; अनि त्‍यसको नाम ‘अल्‍लोन-बाकुत’ राखियो।
9 अनि जब याकूब पदन-आरामबाट आए, तब परमेश्‍वर फेरि उनीकहाँ देखा पर्नुभयो, र उनलाई आशिष्‌ दिनुभयो। 10 अनि परमेश्‍वरले उनलाई भन्‍नुभयो: “तिम्रो नाम याकूब हो; अब उसो तिम्रो नाम याकूब भनिनेछैन, तर तिम्रो नाम इस्राएल हुनेछ;” अनि उहाँले उनको नाम इस्राएल राख्‍नुभयो। 11 अनि परमेश्‍वरले उनलाई भन्‍नुभयो: “सर्वशक्तिमान् परमेश्‍वर म नै हुँ; फलवान् होऊ, र संख्यामा बढ़्दै जाऊ! तिमीबाट एउटा जाति र जातिहरूको एउटा समूह बन्‍नेछन्; अनि तिम्रो देहबाट राजाहरू उत्‍पन्‍न हुनेछन्; 12 अनि जुन देश मैले अब्राहाम र इसहाकलाई दिएँ, त्यो म तिमीलाई दिनेछु; अनि तिमीपछि तिम्रो वंशलाई म त्यो देश दिनेछु।” 13 अनि परमेश्‍वर त्‍यस ठाउँमा, जहाँ उहाँले याकूबसँग कुरा गर्नुभएको थियो, उनीकहाँबाट जानुभयो। 14 अनि जुन ठाउँमा उहाँले याकूबसँग कुरा गर्नुभयो, त्यहाँ उनले एउटा खाँबा अर्थात् एउटा ढुङ्गाको खाँबा खड़ा पारे; अनि उनले त्‍यसमाथि अर्घ चढ़ाएर त्‍यसमाथि तेल खन्याए। 15 अनि याकूबले त्‍यस ठाउँको नाम, जहाँ परमेश्‍वरले उनीसँग कुरा गर्नुभएको थियो, बेतएल राखे।
बिन्यामिनको जन्म हुँदा राहेलको मृत्यु
16 अनि उनीहरूले बेतएलबाट यात्रा गरे; अनि एफ्रातामा आइपुग्‍न अझ अलिकति बाटो बाँकी थियो; तब राहेललाई प्रसूति-वेदना लाग्यो, र तिनलाई साह्रै पीड़ा भयो। 17 अनि यस्तो भयो: जब तिनलाई साह्रै पीड़ा भयो, तब सुँड़ेनीले तिनलाई भनी: “नडराउनुहोस्; किनभने तपाईंले यो पनि छोरा नै पाउनुहुनेछ।” 18 अनि यस्तो भयो: तिनको प्राण जाँदै गर्दा, (किनकि तिनी मरिन्), तिनले उसको नाम ‘बेन-ओनी’ राखिन्; तर उसका बुबाले उसको नाम ‘बिन्यामिन’ राखे। 19 अनि राहेल मरिन्, र एफ्राता अर्थात् बेतलेहेमको बाटोमा तिनी गाड़िइन्। 20 अनि याकूबले तिनको चिहानमाथि एउटा खाँबा खड़ा गरे; त्यो राहेलको चिहानको खाँबा हो, जो आजसम्म छ।
याकूबका छोराहरू
21 अनि इस्राएलले यात्रा गरे, र एदेरको धरहराको पल्‍लोपट्टि आफ्नो पाल टाँगे। 22 अनि यस्तो भयो: इस्राएल त्‍यस देशमा बसेको बेलामा रूबेन गएर आफ्ना बुबाकी उपपत्‍नी बिल्हासँग सुते; अनि इस्राएलले यो कुरा सुने। अनि याकूबका बाह्रजना छोराहरू थिए। 23 लेआका छोराहरू: याकूबका जेठा छोरा रूबेन, त्‍यसपछि शिमोन, लेवी, यहूदा, इस्साकार र जबूलून। 24 राहेलका छोराहरू: यूसुफ र बिन्यामिन। 25 अनि राहेलकी सहेली बिल्हाका छोराहरू: दान र नप्‍ताली; 26 र लेआकी सहेली जिल्पाका छोराहरू: गाद र आशेर। यिनीहरू याकूबका छोराहरू हुन्, जो पदन-आराममा उनका निम्ति जन्मेका थिए।
इसहाकको मृत्यु
27 तब याकूब मम्रेमा, आफ्ना बुबा इसहाककहाँ आए, जो किर्यत-अर्बा अर्थात् हेब्रोन हो, जहाँ अब्राहाम र इसहाकले बसोबास गरेका थिए। 28 अनि इसहाकको उमेर एक सय अस्सी वर्ष पुगेको थियो। 29 अनि इसहाकले प्राण त्यागे, र मरे; अनि वृद्ध र पूरा वर्ष खाएर उनी आफ्ना मानिसहरूकहाँ मिल्न गए; अनि उनका छोराहरू एसाव र याकूबले उनलाई गाड़े।