दीनासित गरिएको भ्रष्‍टचार
34
अनि लेआकी छोरी दीना, जसलाई तिनले याकूबका निम्ति जन्माएकी थिइन्, त्‍यस देशका छोरीहरूलाई भेट्न निस्केर गइन्। 2 अनि जब त्‍यस देशका शासक हिव्वी हमोरका छोरा शेकेमले तिनलाई देखे, तब उनले तिनलाई लगे, तिनीसित सुते र तिनीसित कुकर्म गरे। 3 अनि उनको मन याकूबकी छोरी दीनासँग टाँसियो, अनि उनले ती ठिटीलाई प्रेम गरे, र ती ठिटीसँग मनको कुरा गरे। 4 अनि शेकेमले आफ्ना बुबा हमोरसँग यसो भनेर कुरा गरे: “त्‍यस ठिटीलाई पत्‍नी हुनलाई मेरा निम्ति ल्याइदिनुहोस्!” 5 अनि याकूबले आफ्नी छोरी दीनालाई तिनले अशुद्ध पारेका छन् भन्‍ने कुरा सुने; त्‍यस बेला उनका छोराहरू उनका गाईबस्तुसँग मैदानमा थिए; अनि जबसम्म उनीहरू आएनन्, तबसम्म याकूब चुप लागेर बसे। 6 तब शेकेमका बुबा हमोर याकूबसँग कुरा गर्न उनीकहाँ निस्केर गए। 7 अनि जब याकूबका छोराहरूले यो कुरा सुने, तब उनीहरू मैदानबाट आए; अनि ती मानिसहरू दुःखित र साह्रै क्रोधित भए; किनकि याकूबकी छोरीसँग सुतेर तिनले इस्राएलमा मूर्खता गरेका थिए, जुन कुरा गर्न नहुने थियो। 8 अनि हमोरले उनीहरूसित यसो भनेर कुरा गरे: “मेरो छोरा शेकेमको मनले तपाईंहरूकी छोरीको तिर्सना गर्दछ; म तपाईंहरूलाई विन्‍ती गर्दछु, तिनलाई पत्‍नी हुनका निम्ति उसलाई दिनुहोस्! 9 अनि हामीसँग बिहाबारी गर्नुहोस्; तपाईंहरूका छोरीहरू हामीलाई दिनुहोस्, र हाम्रा छोरीहरू आफ्ना निम्ति लैजानुहोस्! 10 अनि हामीसँग बस्‍नुहोस्; अनि देश तपाईंहरूकै सामु छ; यसमा बस्‍नुहोस्, र व्यापार गर्नुहोस्, अनि यहाँ धनसम्पत्ति कमाउनुहोस्!” 11 अनि शेकेमले तिनका बुबा र तिनका दाजुभाइहरूलाई भने: “तपाईंहरूको दृष्‍टिमा अनुग्रह पाऊँ! अनि तपाईंहरूले मलाई जे भन्‍नुहुनेछ, सो म दिनेछु। 12 तपाईंहरूले प्रशस्त गरी दाइजो र सौगात मबाट माग गर्नुहोस्, अनि तपाईंहरूले मलाई भन्‍नुभएअनुसार म दिनेछु; तर ती ठिटीलाई चाहिँ पत्‍नीको रूपमा मलाई दिनुहोस्!” 13 अनि याकूबका छोराहरूले शेकेम र तिनका बुबा हमोरलाई छल गरेर जवाफ दिए; किनभने तिनले उनीहरूकी बहिनी दीनालाई अशुद्ध पारेका थिए; 14 अनि उनीहरूले तिनीहरूलाई भने: “हामी यो काम गर्न अर्थात् आफ्नी बहिनी खतना नभएको मानिसलाई दिन सक्दैनौं; किनभने यो हाम्रो बदनामी हो; 15 तर यस सर्तमा मात्र हामी तपाईंहरूको कुरा मान्‍नेछौं; तपाईंहरू हामीजस्तै हुनुभयो भने अर्थात् तपाईंहरूमा हरेक पुरुषको खतना भयो भने त, 16 हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौं, र तपाईंहरूका छोरीहरू आफ्ना निम्ति ल्याउनेछौं; अनि हामी तपाईंहरूसँग बस्‍नेछौं, र हामी एउटै जाति बन्‍नेछौं। 17 तर खतना हुनका निम्ति तपाईंहरूले हाम्रो कुरा सुन्‍नुभएन भने हामी आफ्नी छोरी लिएर गइहाल्नेछौं।”
18 अनि उनीहरूका कुराहरूमा हमोर र हमोरका छोरा शेकेम खुशी भए। 19 अनि ती जवान मानिसले यो काम गर्न ढिलाएनन्; किनकि याकूबकी छोरीमा तिनको आनन्द थियो; अनि तिनी आफ्ना बुबाको घरानामा सबभन्दा बढ़ी आदरणीय थिए। 20 अनि हमोर र तिनका छोरा शेकेम आफ्ना शहरको मूलढोकामा आए, र यसो भन्दै आफ्ना शहरका मानिसहरूसँग कुरा गरे: 21 “यिनीहरू हामीसँग मेलमिलापसँग रहने मानिसहरू रहेछन्; यसकारण तिनीहरू यस देशमा बसून्, र यसमा व्यापार गरून्; किनकि हेर, यो देश तिनीहरूलाई पनि पुग्‍ने गरी ठूलो छ; तिनीहरूका छोरीहरू स्‍वास्‍नी हुनलाई हामीकहाँ ल्याऔं, र तिनीहरूलाई आफ्ना छोरीहरू दिऔं! 22 तर हामीसँग बस्‍न र एउटै जाति हुनका निम्ति ती मानिसहरू यो एउटै कुरामा मात्र हामीसँग सहमत हुन्छन्: त्यो हो: जसरी तिनीहरू खतना गरिएका छन्, त्‍यसरी नै हामीहरूमा हरेक पुरुषको खतना हुनुपर्छ। 23 के तिनीहरूको गाईबस्तु, तिनीहरूको धनसम्पत्ति र तिनीहरूका सबै पशुहरू हाम्रै हुनेछैनन् र? तिनीहरूलाई हाम्रो सहमति मात्र दिऔं, र तिनीहरू हामीसित बस्‍नेछन्।” 24 तब तिनको शहरको मूलढोकाबाट निस्कने सबैले हमोर र तिनका छोरा शेकेमको कुरा माने; अनि हरेक पुरुषको खतना भयो: ती सबैको भयो, जो तिनको शहरको मूलढोकाबाट निस्कन्थे।
25 अनि यस्तो भयो: तेस्रो दिनमा जब तिनीहरू पीड़ामा थिए, तब याकूबका छोराहरूमा दुईजना, दीनाका दाजुहरू शिमोन र लेवीले आ-आफ्नो तरवार लिए, अनि साहससित त्‍यस शहरमाथि जाइलागे र सबै पुरुषहरूलाई मारे। 26 अनि तिनीहरूले हमोर र तिनका छोरा शेकेमलाई तरवारको धारले मारे, अनि दीनालाई शेकेमको घरबाट निकाले, र निस्के। 27 याकूबका छोराहरू ती मारिएकाहरूमाथि जाइलागे र त्‍यस शहरलाई लुटे; किनकि तिनीहरूले उनीहरूकी बहिनीलाई अशुद्ध पारेका थिए। 28 तिनीहरूका भेड़ाबाख्राहरू, तिनीहरूका गाईबस्तुहरू र तिनीहरूका गधाहरू, अनि शहरमा भएका र खेतबारीमा भएका थोकहरू, 29 साथै तिनीहरूका सबै धनसम्पत्ति उनीहरूले लगे; अनि तिनीहरूका सबै बालबच्‍चाहरूलाई र तिनीहरूका स्‍वास्‍नीहरूलाई उनीहरूले कैदी बनाए, र घरमा भएका सबै थोकहरू पनि लुटे। 30 अनि याकूबले शिमोन र लेवीलाई भने: “यस देशका बासिन्दाहरूको बीचमा, कनानी र परिज्जीहरूको बीचमा मलाई डुङडुङती गनाउने तुल्‍याएर तिमीहरूले मलाई कष्‍ट दिएका छौ। अनि म संख्यामा थोरै छु; यसैले तिनीहरू मेरो विरोधमा भेला हुनेछन्, र मलाई मार्नेछन्; म नाश पारिनेछु, म र मेरो घराना।” 31 अनि उनीहरूले भने: “के त्‍यसले हाम्री बहिनीसित वेश्यासँग जस्तै व्यवहार गर्नु हुन्छ?”