एसावसितको भेट
33
तब याकूबले आफ्ना आँखाहरू उठाएर हेरे; अनि हेर, एसाव आइरहेका थिए, र तिनको साथमा चार सय पुरुषहरू थिए; अनि उनले छोराछोरीहरूलाई लेआ, राहेल र दुई दासीहरूको बीचमा बाँड़िदिए। 2 अनि उनले दासीहरू र तिनीहरूका छोराछोरीहरूलाई सबैभन्दा अघि, लेआ र तिनका छोराछोरीहरूलाई तिनीहरूको पछि, अनि राहेल र यूसुफलाई सबैभन्दा पछाड़ि राखे। 3 अनि उनी तिनीहरूको अघि-अघि गए, र आफ्ना दाजुको नजिकमा नआइपुगुन्जेल सातपल्‍ट भुइँसम्म घोप्‍टो परे। 4 अनि एसाव उनलाई भेट्न दगुरे, उनलाई अँगालो हाले र उनको गलामा टाँसिएर उनलाई चुम्बन गरे; अनि उनीहरू दुवै रोए। 5 तब तिनले आफ्ना आँखा उठाएर ती स्त्रीहरू र ती छोराछोरीहरूलाई देखे; अनि तिनले भने: “तिमीसित भएका यिनीहरू को हुन्?” अनि उनले भने: “यिनीहरू परमेश्‍वरले अनुग्रह गरी तपाईंको दासलाई दिनुभएका छोराछोरीहरू हुन्।” 6 तब ती दासीहरू नजिक आए, तिनीहरू र तिनीहरूका छोराछोरीहरू, अनि तिनीहरू घोप्‍टो परे। 7 अनि लेआ पनि आफ्ना छोराछोरीहरूसित नजिक आइन्, अनि तिनीहरू घोप्‍टो परे; अनि त्‍यसपछि यूसुफ र राहेल नजिक आए, र घोप्‍टो परे। 8 तब तिनले भने: “यो सारा दल, जो मैले भेटें, यसमा तिम्रो उद्देश्‍य के हो?” अनि उनले भने: “मेरा प्रभुको दृष्‍टिमा अनुग्रह पाउनु यसको उद्देश्‍य हो।” 9 अनि एसावले भने: “हे मेरा भाइ, मसँग प्रशस्तै छन्; तिमीसँग जे छ, त्यो तिम्रै रहोस्!” 10 अनि याकूबले भने: “होइन, म तपाईंलाई विन्‍ती गर्दछु, मैले तपाईंको दृष्‍टिमा अनुग्रह पाएको छु भने मेरो हातबाट मेरो सौगात ग्रहण गर्नुहोस्; किनकि यही कारणले मैले परमेश्‍वरको दर्शन पाएझैं तपाईंको दर्शन पाएको छु, अनि तपाईं मसित प्रसन्‍न हुनुभएको छ। 11 म तपाईंलाई विन्‍ती गर्दछु, तपाईंकहाँ ल्याइएको मेरो आशिष्‌ ग्रहण गर्नुहोस्; किनकि परमेश्‍वरले मसँग अनुग्रहपूर्वक व्यवहार गर्नुभएको छ, र मसँग सब थोक छन्”; अनि उनले तिनलाई कर लगाए, र तिनले यो ग्रहण गरे। 12 अनि तिनले भने: “लौ जाऔं, हिँड़ौं! र म तिम्रो अघि-अघि हिँड़्‍नेछु।” 13 अनि उनले तिनलाई भने: “मेरा प्रभु जान्‍नुहुन्‍छ; यी नानीहरू कलिला छन्, अनि मसित दुहुना भेड़ीबाख्रीहरू र गाईहरू छन्; मानिसहरूले एकै दिन पनि तिनलाई बेसी हिँड़ाए भने सारा बगाल मरिजानेछ। 14 म तपाईंलाई विन्‍ती गर्दछु, मेरा प्रभु आफ्नो दासलाई छोड़ेर अघि बढून्; अनि सेईरमा, मेरा प्रभुकहाँ नआइपुगुन्जेल मेरो अघि भएका गाईबस्तुको हिँड़ाइअनुसार र यी नानीहरूको हिँड़ाइअनुसार मचाहिँ बिस्तारै-बिस्तारै डोर्‍याएर हिँड़्‍नेछु।” 15 अनि एसावले भने: “अब मसँग भएका मानिसहरूमध्ये कसै-कसैलाई तिम्रो साथमा छोड़िराख्‍न देऊ त!” अनि उनले भने: “यसको खाँचो किन? मेरा प्रभुको दृष्‍टिमा म अनुग्रह पाऊँ!” 16 अनि त्यही दिन एसाव, आफ्नो बाटोमा, सेईरतिर फर्के।
17 अनि याकूब यात्रा गर्दै सुक्‍कोत गए, र आफ्ना निम्ति एउटा घर बनाए, र आफ्ना पशुधनका निम्ति छाप्राहरू हाले; यसैकारण त्‍यस ठाउँको नाम सुक्‍कोत राखियो। 18 तब याकूब पदन-आरामबाट आउँदा सुरक्षासाथ शेकेमको शहरमा आइपुगे, जो कनान देशमा छ; अनि उनले त्‍यस शहरको अघिल्तिर आफ्नो पाल टाँगे। 19 अनि उनले शेकेमका बुबा हमोरका छोराहरूको हातबाट त्यो जमिनको टुक्रा, जहाँ उनले आफ्नो पाल टाँगेका थिए, एक सय चाँदीको टुक्रामा किने। 20 अनि त्यहाँ उनले एउटा वेदी खड़ा गरे, र त्‍यसको नाम ‘एल-एलोहे-इस्राएल’ राखे।