एसावसँगको भेटको तयारी
32
अनि याकूब आफ्नो बाटो लागे; अनि परमेश्‍वरका दूतहरूले उनीसँग भेट गरे। 2 अनि जब याकूबले उनीहरूलाई देखे, तब उनले भने: “यो परमेश्‍वरको फौज हो।” अनि उनले त्‍यस ठाउँको नाम ‘महनैम’ राखे।
3 अनि याकूबले सेईरको देशमा अर्थात् एदोमको मुलुकमा आफ्ना दाजु एसावकहाँ आफ्नो अघि-अघि दूतहरू पठाए। 4 अनि उनले तिनीहरूलाई यसो भन्‍ने आज्ञा दिए: “तिमीहरूले मेरा प्रभु एसावलाई यसो भन्‍नू: ‘तपाईंको दास याकूब यसो भन्‍नुहुन्‍छ: “मैले लाबानसँग बसोबास गरें, र अहिलेसम्म त्यहीं बसें; 5 अनि मसँग बहरहरू, गधाहरू, भेड़ाबाख्राहरू, दासहरू र दासीहरू छन्; अनि तपाईंको दृष्‍टिमा अनुग्रह पाऊँ भनी मेरा प्रभुलाई खबर दिन मैले पठाएको हुँ।” ’ ” 6 अनि ती दूतहरू यसो भन्दै याकूबकहाँ फर्के: “हामी तपाईंका दाजु एसावकहाँ गयौं, अनि उहाँचाहिँ तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ, र उहाँको साथमा चार सय पुरुषहरू छन्।” 7 तब याकूब अत्यन्तै डराएर आत्तिए; अनि उनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राहरू, गाईबस्तुहरू र ऊँटहरूलाई दुई दलमा विभक्त गरे; 8 र भने: “एक दलकहाँ आएर एसावले त्‍यसलाई हमला गरे भने बाँकी रहेको अर्को दलचाहिँ उम्किनेछ।”
9 अनि याकूबले भने: “हे परमप्रभु मेरा बुबा अब्राहामका परमेश्‍वर र मेरा बुबा इसहाकका परमेश्‍वर, जसले मलाई यसो भन्‍नुभयो: ‘आफ्नो देशमा र आफ्नो कुटुम्बकहाँ फर्क, र म तिमीसित असल व्यवहार गर्नेछु;’ 10 तपाईंले आफ्नो दासलाई देखाउनुभएका सबै कृपाहरू र सबै सत्यताका निम्ति म अलिकति पनि योग्यको छैनँ; किनकि मेरो लौरो मात्र लिएर मैले यो यर्दन पार गरेको थिएँ; अनि अहिले म दुईवटा दल भएको छु। 11 म तपाईंलाई विन्‍ती गर्दछु, मलाई मेरा दाजुको हातबाट, एसावको हातबाट छुटाउनुहोस्; किनकि कहीं तिनी आउलान् र मलाई, अनि छोराछोरीहरूसहित आमालाई हिर्काउलान् कि भनी तिनीसित म डराउँदैछु। 12 अनि तपाईंले भन्‍नुभएको छ: ‘निश्‍चय म तिमीसित असल व्यवहार गर्नेछु र तिम्रो वंशलाई म समद्रका बालुवाझैं बनाउनेछु, जो असंख्य भीड़ भएकोले गन्‍न सकिनेछैन।’ ”
13 अनि उनी त्यो रात त्यहीं वास बसे; अनि आफूसँग जे थियो, त्‍यसबाट उनले आफ्ना दाजु एसावका निम्ति सौगात निकाले; 14 दुई सय बाख्रा र बीसवटा बोका; दुई सय भेड़ी र बीसवटा भेड़ा; 15 तिनीहरूका बच्‍चाहरूसहित तीस दुहुना ऊँट, चालीस गाई र दस बहर; बीस गधैनी र दस गधाका बछेड़ाहरू। 16 अनि उनले बथान-बथान हुने गरी तिनलाई आफ्ना दासहरूको हातमा सुम्पिदिए र आफ्ना दासहरूलाई भने: “मेरो अघि पारि जाओ, र बथान-बथानको बीचमा अन्तर राख!” 17 अनि उनले सबैभन्दा अघिल्‍लोलाई यसो भनेर आज्ञा दिए: “जब मेरा दाजु एसावले तिमीलाई भेट्लान्, र यसो भनेर तिमीलाई सोध्लान्: ‘तिमी कसका हौ? अनि तिमी कहाँ जान्छौ? र तिम्रो अघि-अघि गएका यी पशुहरू कसका हुन्?’ 18 तब तिमीले भन्‍नू: ‘यी तपाईंका दास याकूबका हुन्; यी मेरा प्रभु एसावका निम्ति पठाइएको सौगात हुन्; अनि हेर्नुहोस्, उहाँ पनि हाम्रो पछि हुनुहुन्छ।’ ” 19 अनि उनले दोस्रो र तेस्रोलाई, अनि बथानहरूको पछि-पछि लाग्‍ने सबैलाई पनि यसो भनेर आज्ञा दिए: “जब तिमीहरूले एसावलाई भेट्टाउँछौ, तब उनलाई यही प्रकारले भन्‍नू! 20 अनि तिमीहरूले यो पनि भन्‍नू: ‘हेर्नुहोस्, तपाईंका दास याकूब हाम्रो पछि हुनुहुन्छ।’ ” किनकि उनी भन्थे: “मेरो अघि-अघि गएको सौगातद्वारा म उनलाई मनाउनेछु; अनि त्‍यसपछि म उनको दर्शन गर्नेछु; शायद उनले मलाई ग्रहण गर्नेछन्।” 21 यसरी सौगात उनको अघि पारि गयो; अनि त्यो रात उनी छाउनीमा वास बसे।
याकूबले परमेश्‍वरसँग कुश्ती लड़े
22 अनि त्यो रात उनी उठे, अनि आफ्ना दुई पत्‍नीहरू, आफ्ना दुई दासीहरू र आफ्ना एघारजना छोराहरूलाई लिएर यब्बोकको जँघार पार गरे। 23 अनि उनले तिनीहरूलाई लिएर तिनीहरूलाई खोला पार गराए, त्‍यसपछि उनले आफूसँग भएका कुराहरू पार गराए। 24 अनि याकूब एकलै रहे; अनि एकजना मानिसले उज्यालो नहोउन्जेल उनीसँग कुश्ती लड़्नुभयो। 25 अनि जब उहाँले यिनलाई जित्‍न सक्दिनँ भनी थाहा पाउनुभयो, तब उहाँले उनको जाँघको जोर्नी छुनुभयो; र उहाँसँग लड़्‍दा-लड़्दै याकूबको जाँघको जोर्नी खुस्क्यो। 26 अनि उहाँले भन्‍नुभयो: “मलाई जान देऊ; किनकि उज्यालो हुँदैछ।” अनि उनले भने: “जबसम्म तपाईंले मलाई आशिष्‌ दिनुहुन्‍न, तबसम्म म तपाईंलाई जान दिनेछैनँ।” 27 तब उहाँले उनलाई भन्‍नुभयो: “तिम्रो नाम के हो?” अनि उनले भने: “याकूब।” 28 अनि उहाँले भन्‍नुभयो: “अब उसो तिम्रो नाम याकूब होइन, तर इस्राएल भनिनेछ; किनकि तिमीले परमेश्‍वरसित र मानिसहरूसित लड़ेर जितेका छौ।” 29 तब याकूबले उहाँलाई सोधे र भने: “म तपाईंलाई विन्‍ती गर्दछु, तपाईंको नाम मलाई भन्‍नुहोस्!” अनि उहाँले भन्‍नुभयो: “मेरो नाम तिमी किन सोध्छौ?” अनि उहाँले उनलाई त्यहीं आशिष्‌ दिनुभयो। 30 अनि याकूबले त्‍यस ठाउँको नाम ‘पनिएल’ राखे; किनकि “मैले परमेश्‍वरलाई मुखामुख देखेको छु, रपनि मेरो प्राण बचेको छ।” 31 अनि उनले पनिएल पार गर्दाखेरि उनीमाथि घाम झुल्क्यो, अनि उनी आफ्नो जाँघले गर्दा खोच्याइरहेका थिए। 32 यसैकारण इस्राएलीहरूले आजको दिनसम्म जाँघको जोर्नीमाथि भएको मूल-नसा खाँदैनन्; किनभने उहाँले याकूबको जाँघको जोर्नीमा जाँघको मूल-नसा छुनुभयो।