याकूब लाबानबाट आफ्‍नो घरतिर भागे
31
अनि उनले लाबानका छोराहरूका यसो भनेका कुराहरू सुने: “हाम्रा बुबाका जे थिए, याकूबले ती सबै लिए; अनि जे कुरा हाम्रा बुबाको थियो, त्यसैबाट उनले यो सब सम्पत्ति बनाए।” 2 अनि याकूबले लाबानको चेहरा हेरे; अनि हेर, त्यो उनीप्रति पहिलेको जस्तो थिएन। 3 तब परमप्रभुले याकूबलाई भन्‍नुभयो: “आफ्ना पितापुर्खाहरूको देशमा र आफ्ना कुटुम्बकहाँ फर्क; अनि म तिम्रो साथमा हुनेछु।” 4 अनि याकूबले राहेल र लेआलाई खुला मैदानमा, आफ्नो बगाल भएको ठाउँमा बोलाइपठाए; 5 अनि उनले तिनीहरूलाई भने: “म तिमीहरूका बुबाको चेहरा देख्दछु; त्यो मप्रति पहिलेको जस्तो छैन; तर मेरा पिताका परमेश्‍वर मेरो साथमा रहनुभएको छ। 6 अनि तिमीहरू आफै जान्दछौ, मैले मेरो पूरा शक्तिले तिमीहरूका बुबाको सेवा गरेको छु। 7 अनि तिमीहरूका बुबाले मलाई ठगेका छन्, र मेरो ज्याला दसपल्ट बदलेका छन्; तर परमेश्‍वरले तिनलाई मेरो हानि गर्न दिनुभएन। 8 ‘छिरबिरेजति तिम्रो ज्याला हुनेछन्’ तिनले भन्दाखेरि सारा बगालले छिरबिरे नै बियाउँथे; अनि ‘पाङ्ग्रेहरूजति तिम्रो ज्याला हुनेछन्’ तिनले भन्दाखेरि सारा बगालले पाङ्ग्रे नै बियाउँथे। 9 यसरी परमेश्‍वरले तिमीहरूका बुबाको पशुधन लैजानुभएको छ, र त्यो मलाई दिनुभएको छ। 10 अनि यस्तो भयो: भेड़ाबाख्राहरू गार्भिणी भएको समयमा मैले आफ्ना आँखाहरू उचालें, र सपनामा देखें; अनि हेर, भेड़ीबाख्रीहरूमाथि चढ्ने भेड़ाबोकाहरू पाङ्ग्रे, छिरबिरे र छिर्केमिर्के रहेछन्। 11 तब सपनामा परमेश्‍वरका दूत मसँग यसो भन्दै बोल्नुभयो: ‘याकूब’; अनि मैले भने: ‘म यहाँ छु।’ 12 अनि उहाँले भन्‍नुभयो: ‘अब आफ्ना आँखा माथि उठाऊ, र हेर, भेड़ीबाख्रीहरूमाथि चढ्ने सबै भेड़ाबोकाहरू पाङ्ग्रे, छिरबिरे र छिर्केमिर्के छन्; किनकि लाबानले तिमीलाई जे गरिरहेको छ, त्यो सब मैले देखेको छु। 13 म बेतएलका परमेश्‍वर हुँ, जहाँ तिमीले त्‍यस खाँबामा तेल लगायौ, जहाँ तिमीले मसँग भाकल गर्‍यौ। अब उठ, यस देशबाट निस्क, र तिम्रा कुटुम्बको देशमा फर्क!’ ” 14 तब राहेल र लेआले जवाफ दिएर उनलाई भने: “के हाम्रा बुबाको घरमा हाम्रा निम्ति अझै पनि कुनै भाग वा अंश छ र? 15 के उहाँका निम्ति हामी पराई गनिएका छैनौं र? किनभने उहाँले हामीलाई बेच्‍नुभएको छ, र हाम्रो पैसा पनि पूरै सिद्ध्याइसक्नुभएको छ। 16 किनकि परमेश्‍वरले हाम्रा बुबाबाट लिनुभएको सबै सम्पत्ति हाम्रै हुन्, र हाम्रा छोराछोरीहरूका हुन्; यसकारण अब परमेश्‍वरले तपाईंलाई जे भन्‍नुभएको छ, सो गर्नुहोस्!” 17 तब याकूब उठे, र आफ्ना छोराहरू र आफ्नी पत्‍नीहरूलाई ऊँटहरूमाथि चढ़ाए। 18 अनि उनले आफ्ना सबै पशुहरू र आफूले कमाएका सबै धनमालहरू अर्थात् उनको कमाइको पशुधन, जो उनले पदन-आराममा कमाएका थिए, कनान देशमा, आफ्ना बुबा इसहाककहाँ जानका निम्ति साथमा लगे। 19 अनि लाबान आफ्ना भेड़ाहरूका ऊन कत्रन गए; अनि राहेलले आफ्ना बुबाका घर-देवताहरू चोरिन्। 20 अनि याकूब अरामी लाबानले थाहा नपाउने गरी सुटुक्‍क हिँड़े; किनकि आफू भाग्‍न लागेको कुरा उनले तिनलाई भनेनन्। 21 यसरी उनी आफूसँग जेजति थिए, ती सबैलाई लिएर भागे; अनि उनी उठे, र नदी पार गरे, अनि आफ्नो अनुहार गिलादको पहाड़तिर लगाए।
लाबानले याकूबको पिछा गरे
22 अनि तेस्रो दिनमा याकूब भागेको कुरा लाबानलाई सुनाइयो। 23 तब तिनले आफ्ना दाजुभाइहरूलाई साथमा लिएर सात दिनको बाटोसम्म उनको पिछा गरे; अनि तिनीहरूले उनलाई गिलादको पहाड़मा भेट्टाए। 24 अनि राति सपनामा परमेश्‍वर अरामी लाबानकहाँ आउनुभयो, र तिनलाई भन्‍नुभयो: “आफ्नो विषयमा होशियार बस! तिमीले याकूबलाई न असल कुरा भन, न खराब नै!” 25 तब लाबानले याकूबलाई भेट्टाए; त्‍यस बेला याकूबले पहाड़मा आफ्ना पाल टाँगेका थिए; अनि लाबानले चाहिँ आफ्ना दाजुभाइहरूसित गिलादको पहाड़मा पाल टाँगे। 26 अनि लाबानले याकूबलाई भने: “तिमी ता मैले थाहा नपाउने गरी सुटुक्‍क हिँड्यौ, र मेरा छोरीहरूलाई तरवारले जितेका कैदीहरूलाई झैं गरी लिएर गयौ; तिमीले गरेको यो के हो? 27 तिमी किन सुटुक्‍कै भाग्यौ, मबाट लुकीचोरी गइहाल्यौ, र मलाई भनेनौ? म तिमीलाई आनन्दसँग, गीतहरू गाउँदै र खैंजड़ी र वीणा बजाउँदै बिदा गर्नेथिएँ। 28 अनि तिमीले मलाई मेरा छोराहरू र मेरा छोरीहरूलाई चुम्बन गर्न समेत दिएनौ? अहिले यसो गरेर तिमीले मूर्खता गरेका छौ। 29 मेरो हातमा तिमीहरूको हानि गर्ने शक्ति छ, तर हिजो राति तिमीहरूका बुबाका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: ‘आफ्नो विषयमा होशियार बस! तिमीले याकूबलाई न असल कुरा भन, न खराब नै!’ 30 अनि अब तिमीले आफ्ना बुबाको घरको यति बढ़ी चाहना गरेका हुनाले तिमीले पक्‍का पनि जानैपर्थ्यो; तर तिमीले मेरा देवताहरू किन चोर्‍यौ?” 31 तब याकूबले लाबानलाई जवाफ दिँदै भने: “कहीं तपाईंले आफ्ना छोरीहरूलाई जबरजस्ती मबाट खोसेर लानुहुन्छ कि भनेर मैले सोचेको हुनाले म डराएँ। 32 जससँग तपाईंले आफ्ना देवताहरू भेट्टाउनुहुनेछ, त्यो बाँच्‍नेछैन; मसँग तपाईंको जे छ, सो हाम्रा दाजुभाइहरूको सामु आफैले चिन्‍नुहोस्, र साथमा लैजानुहोस्!” किनकि राहेलले ती चोरेकी छिन् भनी याकूबलाई थाहा थिएन। 33 तब लाबान याकूबको पालभित्र, लेआको पालभित्र, र दुई सहेलीका पालहरूभित्र गए; तर तिनले ती भेट्टाएनन्। त्‍यसपछि तिनी लेआको पालबाट निस्केर राहेलको पालभित्र पसे। 34 तर राहेलले ती घर-देवताहरू लिएर तिनलाई ऊँटको काठीभित्र राखेकी थिइन् र तीमाथि बसेकी थिइन्। अनि लाबानले सारा पाल तलासी गरे, तर भेट्टाएनन्। 35 अनि यिनले आफ्ना बुबालाई भनिन्: “म तपाईंको सामु उठ्न सक्दिनँ, यस कुराले मेरा प्रभुलाई नाराज नतुल्याओस्; किनकि म स्त्रीहरूको रीतिमा छु।” अनि तिनले खोजे, तर ती घर-देवताहरू भेट्टाएनन्। 36 तब याकूब क्रोधित भए, र लाबानसँग झगड़ा गरे; अनि याकूबले जवाफ दिँदै लाबानलाई भने: “मेरो अपराध के हो? मेरो पाप के हो, र तपाईं यति साह्रै मलाई पिछा गर्नुभयो? 37 यद्यपि तपाईंले मेरा जम्मै मालसामानहरू तलासी गर्नुभयो, त के तपाईंको घरका सबै मालसामानहरूमध्ये तपाईंले कुनै कुरा भेट्टाउनुभयो? यहाँ मेरा दाजुभाइहरू र तपाईंका दाजुभाइहरूको सामु त्यो कुरा राख्‍नुहोस्, र उनीहरूले हामी दुईजनाको बीचमा न्याय गरून्! 38 यी बीस वर्षसम्म म तपाईंसँग रहें; तपाईंका भेड़ीहरू र तपाईंका बाख्रीहरूले कहिल्यै बच्‍चा तुहाएनन्, न ता तपाईंको बगालका भेड़ाहरू मैले खाएँ। 39 जङ्गली पशुहरूद्वारा फारिएकोलाई मैले तपाईंकहाँ ल्याइनँ; मैले नै त्‍यसको हानि सहें; चाहे दिनमा चोरिएको होस् वा रातमा चोरिएको होस्, तपाईंले मेरो हातबाट त्‍यसको क्षतिपूर्ति लिनुभयो। 40 मेरो हालत यस्तो थियो: दिनमा मलाई गर्मीले खान्थ्यो, र रातमा तुसारोले; अनि मेरो निद्रा मेरा आँखाबाट भाग्थ्यो। 41 यस प्रकारले म तपाईंको घरमा बीस वर्ष बसें; मैले तपाईंका दुईजना छोरीहरूका निम्ति चौध वर्ष तपाईंको सेवा गरें, र तपाईंका भेड़ाबाख्राहरूका निम्ति छ वर्ष; अनि तपाईंले मेरो ज्याला दसपल्ट बदल्नुभयो। 42 मेरा बुबाका परमेश्‍वर, अब्राहामका परमेश्‍वर अनि इसहाकको भय मेरो साथमा नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई अहिले रित्तै पठाउनुहुनेथियो। परमेश्‍वरले मेरो कष्‍ट र मेरा हातको परिश्रम देख्‍नुभयो, र हिजो राति तपाईंलाई हप्काउनुभयो।” 43 अनि लाबानले जवाफ दिँदै याकूबलाई भने: “यी छोरीहरू मेरा छोरीहरू हुन्, यी नानीहरू मेरा नानीहरू हुन्, यी भेड़ाबाख्राहरू मेरा भेड़ाबाख्राहरू हुन्, र तिमीले देखेका यी सबै थोक मेरा हुन्। तर आज यी मेरा छोरीहरूलाई वा तिनीहरूले जन्माएका तिनीहरूका छोराछोरीहरूलाई म के गर्न सक्छु र? 44 यसकारण अब आऊ, तिमी र म, हामी एउटा वाचा बाँधौं; र योचाहिँ मेरो र तिम्रो बीचमा एउटा साक्षीका निम्ति होस्!”
लाबान र याकूबको बीचको सम्‍झौता
45 तब याकूबले एउटा ढुङ्गा लिए, र त्‍यसलाई खाँबाझैं खड़ा पारे। 46 अनि याकूबले आफ्ना दाजुभाइहरूलाई भने: “ढुङ्गाहरू बटुल!” अनि तिनीहरूले ढुङ्गाहरू लिएर एउटा राश बनाए; अनि उनीहरूले त्यहाँ त्‍यस राशमाथि खाए। 47 अनि लाबानले त्‍यसलाई ‘यगर-सहदूता’ भन्‍ने नाम दिए; तर याकूबले त्‍यसलाई ‘गलेद’ नाम दिए। 48 अनि लाबानले भने: “यो राशचाहिँ मेरो र तिम्रो बीचमा आज साक्षी हो।” यसैकारण यसको नाम ‘गलेद’ भनिएको हो; 49 र ‘मिज्पा’ पनि; किनकि तिनले भने: “जब हामी एक-अर्काबाट अलग हुन्छौं, तब परमप्रभु मेरो र तिम्रो बीचमा पहरा बसून्! 50 तिमीले मेरा छोरीहरूलाई कष्‍ट दियौ भने अथवा मेरा छोरीहरूबाहेक तिमीले अरू पत्‍नीहरू ल्यायौ भने हामीसँग अरू कोही मानिस छैन; हेर, मेरो र तिम्रो बीचमा परमेश्‍वर साक्षी हुनुहुन्छ।” 51 अनि लाबानले याकूबलाई भने: “यो राश हेर, र यो खाँबा हेर, जो मैले मेरो र तिम्रो बीचमा खड़ा गरेको छु; 52 यो राश साक्षी होस्, यो खाँबो पनि साक्षी होस्, कि हानि गर्नका निम्ति म यो राश नाघेर तिमीकहाँ आउनेछैनँ, र तिमी पनि यो राश र यो खाँबो नाघेर मकहाँ आउनेछैनौ। 53 अब्राहामका परमेश्‍वर र नाहोरका परमेश्‍वर, उनीहरूका पिताका परमेश्‍वरले हामी दुईजनाको बीचमा न्याय गरून्!” अनि याकूबले आफ्ना बुबा ‘इसहाकका भय’को नाममा शपथ खाए। 54 तब याकूबले पहाड़माथि बलि चढ़ाए, र आफ्ना दाजुभाइहरूलाई रोटी खान बोलाए; अनि उनीहरूले रोटी खाए, र त्‍यस पहाड़मा रात बिताए। 55 अनि लाबान एकाबिहानै उठे, अनि आफ्ना छोराहरू र आफ्ना छोरीहरूलाई चुम्बन गरे, र तिनीहरूलाई आशीर्वाद दिए; अनि लाबान बिदा लिएर आफ्नो ठाउँमा फर्के।