30
अनि जब आफूले याकूबका निम्ति कोही सन्तान जन्माउन नसकेको कुरा जब राहेलले देखिन्, तब राहेलले आफ्नी दिदीलाई डाहा गर्न लागिन्; अनि तिनले याकूबलाई भनिन्: “मलाई सन्तान दिनुहोस्, नत्र म मर्छु!” 2 तब राहेलप्रति याकूबको रिस दन्कियो, र उनले भने: “के म परमेश्‍वरको स्थानमा छु, जसले तिमीबाट गर्भको फल रोकेर राख्‍नुभएको छ?” 3 अनि तिनले भनिन्: “हेर्नुहोस्, मेरी सहेली बिल्हा! यसकहाँ जानुहोस्, अनि यसले मेरा घुँड़ाहरूमा जन्माओस्, र यसद्वारा मेरा पनि सन्तान होऊन्!” 4 तब तिनले स्‍वास्‍नी हुनका निम्ति आफ्नी सहेली बिल्हा उनलाई दिइन्; अनि याकूब ऊकहाँ गए। 5 अनि बिल्हा गर्भवती भई, र याकूबका निम्ति एउटा छोरा जन्माई। 6 तब राहेलले भनिन्: “परमेश्‍वरले मेरो न्याय गर्नुभयो, र मेरो पुकार पनि सुन्‍नुभयो, अनि मलाई एउटा छोरा दिनुभएको छ”; यसकारण तिनले उसको नाम दान राखिन्। 7 अनि राहेलकी सहेली बिल्हा फेरि गर्भवती भई, र याकूबका निम्ति दोस्रो छोरा जन्माई। 8 तब राहेलले भनिन्: “मैले ठूलो कुश्तीले मेरी दिदीसँग कुश्ती खेलेकी छु, र जितेकी छु”; यसैले तिनले उसको नाम नप्‍ताली राखिन्। 9 जब लेआले आफ्नो कोख बन्द भएको देखिन्, तब तिनले आफ्नी सहेली जिल्पालाई लिएर त्यो स्‍वास्‍नी हुनका निम्ति याकूबलाई दिइन्। 10 अनि लेआकी सहेली जिल्पाले याकूबका निम्ति एउटा छोरा जन्माई। 11 तब लेआले भनिन्: “एउटा फौज आउँदैछ!”, र तिनले उसको नाम गाद राखिन्। 12 अनि लेआकी सहेली जिल्पाले याकूबका निम्ति दोस्रो छोरा जन्माई। 13 तब लेआले भनिन्: “म खुशी रहिरहुँ! किनकि स्त्रीहरूले मलाई धन्यको भन्‍नेछन्;” अनि तिनले उसको नाम आशेर राखिन्।
14 अनि गहुँको कटनी भएको बेलामा रूबेन गएर बारीमा दूधे-फलहरू भेट्टाए, र ती आफ्नी आमा लेआकहाँ ल्याए। तब राहेलले लेआलाई भनिन्: “म तिमीलाई विन्‍ती गर्छु, तिम्रा छोराका दूधे-फलहरूबाट मलाई केही देऊ न!” 15 अनि तिनले यिनलाई भनिन्: “तिमीले मेरा पतिलाई लगेकी छौ, के यो सानो कुरा हो र! अनि के तिमी मेरा छोराका दूधे-फलहरू पनि लैजान चाहन्छ्यौ?” तब राहेलले भनिन्: “यसकारण तिम्रा छोराका दूधे-फलहरूका निम्ति उहाँ आज रात तिमीसँग सुत्‍नुहुनेछ।” 16 अनि साँझमा याकूब बारीबाट फर्केर आए; तब लेआ उनलाई भेट्न निस्केर गइन् र भनिन्: “तपाईं मकहाँ आउनैपर्छ; किनभने मेरा छोराका दूधे-फलहरू दिएर मैले साँच्‍चै तपाईंलाई भाड़ामा लिएकी छु।” अनि त्यो रात उनी तिनीसित सुते। 17 अनि परमेश्‍वरले लेआको विन्‍ती सुन्‍नुभयो; अनि तिनी गर्भवती भइन्, र याकूबका निम्ति पाँचौं छोरा जन्माइन्। 18 तब लेआले भनिन्: “परमेश्‍वरले मलाई मेरो ज्याला दिनुभएको छ; किनभने मैले मेरी सहेली मेरा पतिलाई दिएकी छु”; अनि तिनले उसको नाम इस्साकार राखिन्। 19 अनि लेआ फेरि गर्भवती भइन्, र याकूबका निम्ति छैटौं छोरा जन्माइन्। 20 तब लेआले भनिन्: “परमेश्‍वरले मलाई असल उपहार प्रदान गर्नुभएको छ; अब मेरा पति मसँग बस्‍नुहुनेछ; किनकि मैले उहाँका निम्ति छजना छोरा जन्माएकी छु;” अनि तिनले उनको नाम जबूलून् राखिन्। 21 अनि त्‍यसपछि तिनले एउटी छोरी जन्माइन्, र उसको नाम दीना राखिन्।
22 तब परमेश्‍वरले राहेललाई सम्झनुभयो; अनि परमेश्‍वरले तिनको पुकार सुन्‍नुभयो, र तिनको कोख खोलिदिनुभयो। 23 अनि तिनी गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; तब तिनले भनिन्: “परमेश्‍वरले मेरो निन्दा हटाउनुभएको छ।” 24 अनि तिनले उसको नाम यूसुफ राखिन्, र भनिन्: “परमप्रभुले मलाई अर्को छोरा पनि थपिदिनुहुनेछ।”
याकूबको सम्पत्तिको वृद्धि
25 अनि यस्तो भयो: जब राहेलले युसूफलाई जन्माइन्, तब याकूबले लाबानलाई भने: “मलाई बिदा गर्नुहोस्, र म आफ्नै ठाउँ र आफ्नै देशमा जान सकूँ! 26 मलाई मेरा पत्‍नीहरू र छोराछोरीहरू दिनुहोस्, जसका निम्ति मैले तपाईंको सेवा गरेको छु, र मलाई जान दिनुहोस्; किनकि मैले तपाईंका निम्ति गरेको सेवा तपाईं जान्‍नुहुन्‍छ।” 27 अनि लाबानले उनलाई भने: “तिम्रो दृष्‍टिमा मैले कृपा पाएको छु भने, म तिमीलाई विन्‍ती गर्दछु, बसिदेऊ; किनकि मैले अनुभवद्वारा थाहा पाएको छु, परमप्रभुले मलाई तिम्रो कारणले आशिष्‌ दिनुभएको छ।” 28 अनि तिनले भने: “मैले दिनुपर्ने तिम्रो ज्याला तोकिदेऊ, र म त्यो दिनेछु।” 29 तब उनले तिनलाई भने: “मैले तपाईंको सेवा कसरी गरेको छु, अनि तपाईंका गाईबस्तुहरू मसँग कसरी रहे, सो कुरा तपाईं जान्‍नुहुन्‍छ। 30 किनकि म आउनुभन्दा पहिले तपाईंसित थोरै थिए, अनि अहिले बढ़ेर भीड़ भएको छ; अनि म आएको समयदेखि परमप्रभुले तपाईंलाई आशिष्‌ दिनुभएको छ; अनि अब आफ्नै घरका निम्ति चाहिँ म कहिले प्रबन्‍ध गरूँ?” 31 अनि तिनले भने: “म तिमीलाई के दिऊँ?” तब याकूबले भने: “तपाईंले मलाई केही नदिनुहोस्; तपाईंले मेरा निम्ति यो कुरा गर्नुभयो भने म तपाईंको बगाल फेरि चराउनेछु र देखरेख गर्नेछु। 32 आज म तपाईंको सम्‍पूर्ण बगालको बीचबाट भएर जानेछु; र त्यहाँबाट सबै छिरबिरे र टाटेपाटे भेड़ाहरू, अनि भेड़ाका पाठाहरूबाट सबै खैरा पाठाहरू, र बाख्राहरूमध्येबाट सबै टाटेपाटे र छिरबिरे बाख्राहरू अलग पार्नेछु; यिनीहरू नै मेरो ज्याला हुनेछन्। 33 यसकारण आउँदो दिनमा तपाईंको सामु मेरो ज्यालाको विषयमा कुरा उठ्यो भने मेरो धार्मिकताले नै मेरा निम्ति जवाफ दिनेछ; बाख्राहरूको बीचमा जेजति छिरबिरे र टाटेपाटे छैनन्, र भेड़ाका पाठाहरूको बीचमा जो खैरा छैनन्, ती सबै, मसँग भेट्टाइए भने चोरी गरिएका ठहरिनेछन्।” 34 अनि लाबानले भने: “हेर, कुरा तिम्रो वचनअनुसार नै होस्!” 35 तब त्यही दिन उनले पाङ्ग्रे र टाटेपाटे बोकाहरू र सबै छिरबिरे र टाटेपाटे बाख्राहरू, अँ, सबै, जसमा केही सेतो थियो, र भेड़ाका पाठाहरूमध्ये सबै खैरा अलग पारे, र ती आफ्ना छोराहरूको हातमा सुम्पे। 36 अनि तिनले आफू र याकूबको बीचमा तीन दिनको बाटोको अन्तर राखे; अनि याकूब लाबानका बाँकी बगालहरू चराउन लागे। 37 अनि याकूबले काँचो जामुनु, कागजी-बदाम र कटुसका हरिया लट्ठीहरू लिए, र तिनमा छिलेर सेता-सेता धर्काहरू निकाले, अनि ती लट्ठीहरूमा भएको सेतो भाग नाङ्गो पारे। 38 अनि उनले बोक्रा छिलेका ती लट्ठीहरू नालीहरूमा, पानी पिउने डुँड़हरूमा, जहाँ बगालहरू पानी पिउन आउँथे, ठीक बगालहरूको सामु राखिदिए; पानी पिउन आउँदा ती गर्भिणी होऊन् भनेर। 39 अनि भेड़ाबाख्राहरू ती लट्ठीहरूको सामु गर्भिणी हुन्थे; अनि तिनीहरूले पाङ्ग्रे, छिरबिरे र टाटेपाटे पाठापाठीहरू बियाए। 40 अनि याकूबले ती पाठाहरू अलग गरे, र बगालको मुख लाबानको बगालका पाङ्ग्रे र सबै खैराहरूतिर फर्काइदिए; अनि उनले आफ्ना बगालहरू अलग्गै राखे र तिनलाई लाबानको बगालसँग राखेनन्। 41 अनि यस्तो भयो: जब-जब बलिया-बलिया भेड़ाबाख्राहरू गाभिनी हुन्थे, तब-तब तिनीहरू ती लट्ठीहरूको बीचमा गाभिनी होऊन् भनेर याकूबले ती लट्ठीहरू नालीहरूमा तिनीहरूकै आँखाको सामु राखिदिन्थे। 42 तर जब भेड़ाबाख्राहरू दुब्ला हुन्थे, तब उनले ती राख्दैनथिए; यसरी दुब्ला-दुब्ला लाबानका भए, र बलिया-बलिया याकूबका भए। 43 अनि ती मानिस अत्यन्तै धनवान् भए; अनि उनका धेरै भेड़ाबाख्राहरू, साथै दासीहरू, दासहरू, ऊँटहरू र गधाहरू थिए।