याकूब आफ्ना मामा लाबानकोमा
29
तब याकूब आफ्नो बाटो लागे, र पूर्वेलीहरूको देशमा पुगे। 2 अनि उनले हेरे; अनि हेर, मैदानमा एउटा इनार रहेछ! अनि हेर, त्यहाँ, त्यसको बगलमा तीन बगाल भेड़ाहरू सुतिरहेका थिए; किनकि त्यस इनारबाट तिनीहरूले बगालहरूलाई पानी खुवाउँथे; अनि त्यस इनारको मुखमा एउटा ठूलो ढुङ्गा थियो। 3 अनि त्यहीं सबै बगालहरू भेला हुन्थे; अनि तिनीहरूले यस इनारको मुखबाट त्यो ढुङ्गा गुड़ाउँथे र भेड़ाहरूलाई पानी खुवाउँथे, अनि त्यो ढुङ्गा फेरि यस इनारको मुखमाथि त्यसको ठाउँमा राखिदिन्थे। 4 अनि याकूबले तिनीहरूलाई भने: “मेरा भाइहरूहो, तपाईंहरू कहाँका हुनुहुन्छ?” अनि तिनीहरूले भने: “हामीहरू हारानका हौं।” 5 अनि उनले तिनीहरूलाई भने: “के तपाईंहरू नाहोरका छोरा लाबानलाई चिन्नुहुन्छ?” अनि तिनीहरूले भने: “हामी उनलाई चिन्छौं।” 6 तब उनले तिनीहरूलाई भने: “के उहाँ सन्चै हुनुहुन्छ?” अनि तिनीहरूले भने: “उनी सन्चै छन्; अनि हेर्नुहोस्, उनकी छोरी राहेल आफ्ना भेड़ाहरूसँग आइरहेकी छन्।” 7 अनि उनले भने: “हेर्नुहोस्, दिन त अझै धेरै छ, नता यो गाईबस्तुलाई भेला गर्ने समय नै हो; भेड़ाहरूलाई पानी खुवाउनुहोस्; अनि जानुहोस्, र तिनलाई चराउनुहोस्!” 8 तब तिनीहरूले भने: “जबसम्म सबै बगालहरू भेला हुँदैनन्, तबसम्म हामी यसो गर्न सक्दैनौं; जब तिनीहरूले यस इनारको मुखबाट त्यो ढुङ्गा हटाउँछन्, तब हामी भेड़ाहरूलाई पानी खुवाउँछौं।”9 अनि उनले तिनीहरूसँग अझ कुरा गरिरहेकै बेलामा राहेल आफ्ना बुबाका भेड़ाहरूसित त्यहाँ आइपुगिन्; किनकि तिनीचाहिँ गोठाल्नी थिइन्। 10 अनि यस्तो भयो: जब याकूबले आफ्नी आमाका दाजु लाबानकी छोरी राहेललाई र आफ्नी आमाका दाजु लाबानका भेड़ाहरू देखे, तब याकूब नजिक गएर यस इनारको मुखबाट त्यो ढुङ्गा गुड़ाए, र आफ्नी आमाका दाजु लाबानका बगाललाई पानी खुवाए। 11 अनि याकूबले राहेललाई चुम्बन गरे, र ठूलो सोर निकालेर रोए। 12 अनि याकूबले आफूचाहिँ राहेलका बुबाका भानिज अर्थात् रिबेकाका छोरा हुन् भनी तिनलाई बताइदिए; तब तिनी दगुरेर गइन्, र आफ्ना बुबालाई बताइन्। 13 अनि यस्तो भयो: जब लाबानले आफ्नी बहिनीको छोरा याकूबको खबर सुने, तब तिनी उनलाई भेट्न दगुरे, र उनलाई अँगालो हालेर चुम्बन गरे, अनि उनलाई आफ्नो घरमा ल्याए। अनि उनले लाबानलाई यी सबै कुराहरू बताए। 14 अनि लाबानले उनलाई भने: “साँच्चै तिमी मेरो हाड़ र मेरो मासु हौ।” तब उनी तिनीसँग एक महिना बसे।
15 अनि लाबानले याकूबलाई भने: “तिमी मेरा भाइ भएका हुनाले तिमीले मेरो सेवा सित्तैंमा गर्नुपर्छ र? मलाई भन, तिम्रो ज्याला के हुने हो, सो मलाई भन!” 16 अनि लाबानका दुईजना छोरीहरू थिए: जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो। 17 लेआका आँखाहरू कमजोर थिए, तर राहेलचाहिँ जीउडालमा राम्री र हेर्नमा सुन्दरी थिइन्। 18 अनि याकूबले राहेललाई प्रेम गर्थे, र भने: “तपाईंकी कान्छी छोरी राहेलका निम्ति म सात वर्ष तपाईंको सेवा गर्नेछु।” 19 तब लाबानले भने: “मैले त्यो अरू कुनै मानिसलाई दिनुभन्दा त त्यो तिमीलाई दिनु नै असल हो; हुन्छ, मसँग बस!” 20 अनि याकूबले राहेलका निम्ति सात वर्ष सेवा गरे; तिनीप्रति उनको प्रेम भएकोले ती वर्ष उनलाई थोरै दिनजस्तो लाग्यो।
याकूबको विवाह
21 अनि याकूबले लाबानलाई भने: “मलाई मेरी पत्नी दिनुहोस्; किनकि मेरा दिनहरू पूरा भइसके, र म तिनीकहाँ जान पाऊँ!” 22 तब लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई भेला पारे, र एउटा भोज लगाए। 23 अनि साँझमा यस्तो भयो: तिनले आफ्नी छोरी लेआलाई लिए, र यिनलाई उनीकहाँ ल्याए; अनि उनी यिनीकहाँ गए। 24 अनि लाबानले आफ्नी छोरी लेआलाई तिनकी सहेली हुनका निम्ति आफ्नी दासी जिल्पा दिइहाले। 25 अनि यस्तो भयो: बिहान हेर, यिनी ता लेआ पो रहिछिन्। अनि उनले लाबानलाई भने: “तपाईंले मसित गर्नुभएको यो के हो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तब किन तपाईंले मलाई छल गर्नुभयो?” 26 तब लाबानले भने: “यसरी हाम्रो ठाउँमा जेठीलाई भन्दा पहिले कान्छीलाई दिने चलन छैन। 27 पहिले लेआकोक हप्ता पूरा गरिदेऊ, र हामी तिमीलाई अर्को पनि दिनेछौं; त्यस सेवाका निम्ति, जो तिमीले मसँग बसेर फेरि अर्को सात वर्ष गर्नेछौ।” 28 अनि याकूबले त्यसै गरे, र यिनको हप्ता पूरा गरिदिए; तब तिनले आफ्नी छोरी राहेल पनि उनकी पत्नी हुनका निम्ति उनलाई दिए। 29 अनि लाबानले आफ्नी छोरी राहेललाई तिनकी दासी हुनका निम्ति आफ्नी दासी बिल्हा दिइहाले। 30 अनि उनी राहेलकहाँ पनि गए; अनि उनले लेआलाई भन्दा राहेललाई नै बढ़ी प्रेम गर्थे; र लाबानसँग बसेर उनले अझ अर्को सात वर्ष सेवा गरे।
याकूबका छोराछोरीहरू
31 अनि जब लेआचाहिँ हेला गरिएकी छिन् भनी परमप्रभुले देख्नुभयो, तब उहाँले तिनको कोख खोलिदिनुभयो; तर राहेलचाहिँ बाँझी रहिन्। 32 अनि लेआ गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; अनि तिनले उसको नाम रूबेनख राखिन्; किनकि तिनले भनिन्: “परमप्रभुले साँच्चै मेरो कष्टमाथि दृष्टि लाउनुभएको छ; यसकारण अब मेरा पतिले मलाई प्रेम गर्नुहुनेछ।” 33 अनि तिनी फेरि गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; अनि तिनले भनिन्: “म हेला गरिएकी छु भनी परमप्रभुले सुन्नुभएको छ; यसैले उहाँले मलाई यो छोरा दिनुभएको छ;” र तिनले यसको नाम शिमोनग राखिन्। 34 अनि तिनी फेरि गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; अनि तिनले भनिन्: “अब, यसपालिचाहिँ मेरा पति मसँग मिल्नुहुनेछ; किनभने मैले उहाँका निम्ति तीनजना छोरा जन्माएकी छु”; यसैकारण उसको नाम लेवीघ राखियो। 35 अनि तिनी फेरि गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; अनि तिनले भनिन्: “अब म परमप्रभुको प्रशंसा गर्नेछु”; यसैकारण तिनले उसको नाम यहूदाङ राखिन्; तब तिनले जन्माउन छोड़िन्।