याकूब एसावबाट भागे
28
तब इसहाकले याकूबलाई बोलाएर उनलाई आशीर्वाद दिए र उनलाई आज्ञा दिएर उनलाई भने: “कनानका छोरीहरूबाट तिमीले कुनै पत्‍नी नल्याउनू! 2 उठ, पदन-आराममा तिम्री आमाका बुबा बतूएलको घरमा जाऊ; अनि त्यहाँबाट, तिम्री आमाका दाजु लाबानका छोरीहरूबाट आफ्ना निम्ति एउटी पत्‍नी ल्याऊ! 3 अनि सर्वशक्तिमान् परमेश्‍वरले तिमीलाई आशिष्‌ दिऊन्, तिमीलाई फलवान् बनाऊन् र तिम्रो वृद्धि गरून्, र तिमी जाति-जातिको समूह होऊ; 4 र तिमीलाई अब्राहामको आशिष्‌ दिऊन् – तिमीलाई र तिमीसित तिम्रो वंशलाई; फलस्वरूप तिमी यस देशका अधिकारी होऊ, जहाँ तिमी परदेशी भएर रहेका छौ, जुन देशचाहिँ परमेश्‍वरले अब्राहामलाई दिनुभएको हो।” 5 अनि इसहाकले याकूबलाई बिदा गरे; अनि उनी पदन-आराममा अरामी बतूएलका छोरा, एसाव र याकूबकी आमा रिबेकाका दाजु लाबानकहाँ गए।
6 अनि जब एसावले इसहाकले याकूबलाई आशीर्वाद दिएर उनलाई पदन-आराममा, त्यहाँबाट आफ्ना निम्ति एउटी पत्‍नी ल्याउन भनी पठाएको कुरा, र उनलाई आशीर्वाद दिँदा ‘तिमीले कनानका छोरीहरूबाट कुनै पत्‍नी नल्याउनू’ भनी उनलाई आज्ञा दिएको कुरा, 7 अनि याकूबले आफ्ना बुबा र आफ्नी आमाको आज्ञा पालन गरेको र पदन-आराममा गएको कुरा थाहा पाए; 8 अनि उनका बुबा इसहाकको दृष्‍टिमा कनानका छोरीहरू दुष्‍ट रहेछन् भन्‍ने कुरा जब एसावले थाहा पाए; 9 तब उनी इश्माएलकहाँ गए, अब्राहामको छोरा इश्माएलकी छोरी अर्थात् नबायोथकी बहिनी महलतलाई स्‍वास्‍नी तुल्याए र आफ्ना अरू स्‍वास्‍नीहरूमा थपे।
बेतएलमा याकूबको सपना
10 अनि याकूब बेरशेबाबाट निस्केर हारानतिर गए। 11 अनि उनी कुनै एउटा ठाउँमा आइपुगे, र त्यहाँ रात बिताए; किनकि घाम अस्ताइसकेको थियो; अनि उनले त्‍यस ठाउँका ढुङ्गाहरूबाट एउटा लिएर आफ्नो सिरानी लगाए, र त्‍यस ठाउँमा निदाउन ढल्के। 12 अनि उनले सपना देखे; अनि हेर, पृथ्वीमाथि एउटा भर्‍याङ राखियो; अनि त्‍यसको टुप्पा स्वर्गसम्म पुगेको थियो; अनि हेर, परमेश्‍वरका दूतहरू त्‍यसमा उक्लिरहेका र ओर्लिरहेका थिए। 13 अनि हेर, परमप्रभु त्‍यसको माथि उभिनुभयो, र भन्‍नुभयो: “म परमप्रभु तिम्रा बुबा अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ; जुन भूमिमा तिमी ढल्किरहेका छौ, त्यो म तिमीलाई र तिम्रो वंशलाई दिनेछु; 14 अनि तिम्रो वंश पृथ्वीको धूलोझैं हुनेछ; अनि तिमी पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिनेछौ; अनि तिमीमा र तिम्रो वंशमा पृथ्वीका सबै घरानाहरू आशिषित हुनेछन्। 15 अनि हेर, म तिम्रो साथमा छु, र तिमीलाई सबै ठाउँहरूमा, जहाँ तिमी जान्छौ, रक्षा गर्नेछु; अनि म तिमीलाई यस ठाउँमा फर्काएर ल्याउनेछु; किनकि जुन कुरा मैले तिमीलाई भनेको छु, सो पूरा नगरुन्जेल म तिमीलाई छोड़्‍नेछैनँ।” 16 अनि याकूब आफ्नो निद्राबाट बिउँझे; अनि उनले भने: “साँच्‍चै यस ठाउँमा परमप्रभु हुनुहुँदो रहेछ; अनि मलाई यो थाहा थिएन।” 17 अनि उनी डराए, र भने: “यो ठाउँ कति डरलाग्दो रहेछ! यो परमेश्‍वरको घरबाहेक अरू केही होइन; यो त स्वर्गको ढोका हो!”
18 अनि याकूब एकाबिहानै उठे, र जुन ढुङ्गा उनले आफ्नो सिरानी लगाएका थिए, त्‍यसलाई लिए, त्‍यसलाई खाँबोझैं खड़ा गरे र त्‍यसको शीरमाथि तेल खन्याइदिए। 19 अनि उनले त्‍यस ठाउँको नाम ‘बेतएल’ राखे; तर त्‍यस शहरको नाम पहिले लूज थियो। 20 अनि याकूबले यसो भन्दै एउटा भाकल गरे: “परमेश्‍वर मेरो साथमा रहनुभयो, र म गइरहेको यस बाटोमा मेरो रक्षा गर्नुभयो भने, अनि मलाई खानका निम्ति रोटी र लाउनका निम्ति वस्त्र दिनुभयो भने, 21 र म मेरा बुबाको घरमा कुशलतापूर्वक फर्केर आएँ भने परमप्रभु मेरा परमेश्‍वर हुनुहुनेछ; 22 अनि यो ढुङ्गा, जसलाई मैले खाँबोझैं खड़ा गरेको छु, परमेश्‍वरको घर बनिनेछ; अनि तपाईंले मलाई जे दिनुहुनेछ, ती सबैको दशौं भाग म निश्‍चय तपाईंलाई दिनेछु।”