याकूबको छल
27
अनि यस्तो भयो: जब इसहाक वृद्ध भए, र उनका आँखाहरू देख्‍न नसक्ने गरी धमिला भए; तब उनले आफ्ना जेठा छोरा एसावलाई बोलाएर तिनलाई भने: “हे मेरा छोरा!” अनि तिनले उनलाई भने: “हेर्नुहोस्, म यहाँ छु!” 2 अनि उनले भने: “हेर, अब म बूढ़ो भएँ; म आफ्नो मृत्युको दिन जान्दिनँ; 3 यसकारण अब, म तिमीलाई विन्‍ती गर्छु, आफ्ना हतियारहरू अर्थात् आफ्नो ठोक्रो र आफ्नो धनु लेऊ, वनमा जाऊ र मेरा निम्ति एउटा शिकार ल्याऊ; 4 अनि मेरा निम्ति मैले मन पराउने किसिमको स्वादिलो भोजन बनाऊ, र त्यो मकहाँ ल्याऊ; र म खाउँला, र म मर्नुभन्दा अघि मेरो प्राणले तिमीलाई आशीर्वाद देओस्!” 5 अनि इसहाकले आफ्नो छोरा एसावसँग इसहाकले गरेको कुरा रिबेकाले सुनिन्; अनि एसाव एउटा शिकार ल्याउन वनतिर गए। 6 अनि रिबेकाले आफ्नो छोरा याकूबसँग यसो भन्दै कुरा गरिन्: “हेर, तिम्रा दाजु एसावसँग तिम्रा बुबाले यसो भन्दै कुरा गरेको मैले सुनें: 7 ‘मेरा निम्ति शिकार ल्याऊ, र मेरा निम्ति स्वादिलो भोजन बनाऊ; र म खाउँला, र मेरो मृत्युभन्दा अघि परमप्रभुको सामु तिमीलाई आशीर्वाद दिउँला।’ 8 यसकारण अब हे मेरा छोरा, म तिमीलाई जे आज्ञा गर्दछु, त्यहीअनुसार मेरो कुरा मान! 9 अब बगालमा जाऊ, र त्यहाँबाट मेरा निम्ति बाख्राका दुईवटा राम्रा पाठा ल्याऊ; अनि तीबाट म तिम्रा बुबाका निम्ति उहाँलाई मन पर्ने किसिमको स्वादिलो भोजन बनाउनेछु; 10 अनि तिमीले त्यो तिम्रा बुबाकहाँ लैजानू, र उहाँले खाऊन्, र आफ्नो मृत्युभन्दा अघि तिमीलाई आशीर्वाद दिऊन्!” 11 तब याकूबले आफ्नी आमा रिबेकालाई भने: “हेर्नुहोस्, मेरा दाजु एसाव ता रौं नै रौं भएका मानिस हुन्, तर मचाहिँ रौंविनाको मानिस हुँ; 12 शायद मेरा बुबाले मलाई छाम्‍नुहुन्छ, तब उहाँको दृष्‍टिमा मचाहिँ धोकाबाज देखा पर्नेछु; अनि म आफूमाथि आशिष्‌ होइन, तर श्राप पो ल्याउनेछु।” 13 अनि उनकी आमाले उनलाई भनिन्: “हे मेरा छोरा, तिम्रो श्राप ममाथि परोस्; तिमीले खालि मेरो कुरा मान र जाऊ; अनि ती कुरा मेरा निम्ति ल्याऊ!”
14 तब उनी गए, पक्रे र आफ्नी आमाकहाँ ल्याए; अनि उनकी आमाले उनका बुबालाई मन पर्ने किसिमको स्वादिलो भोजन बनाइदिइन्। 15 अनि रिबेकाले आफ्ना जेठा छोरा एसावका राम्रा-राम्रा लुगाहरू ल्याइन्, जो घरमा तिनीसँग थिए, र आफ्ना कान्छा छोरा याकूबलाई लगाइदिइन्; 16 अनि तिनले बाख्राका पाठाका छालाहरू उनका हातहरूमाथि र उनको गर्दनको चिल्‍लो भागमाथि लगाइदिइन्; 17 अनि तिनले आफूले तयार पारेको स्वादिलो भोजन र रोटी आफ्ना छोरा याकूबको हातमा दिइन्।
18 अनि उनी आफ्ना बुबाकहाँ आएर भने: “हे मेरा पिताजी!” अनि उनले भने: “म यहाँ छु; हे मेरा छोरा, तिमी को हौ?” 19 अनि याकूबले आफ्ना बुबालाई भने: “म तपाईंको जेठा छोरा एसाव हुँ; तपाईंले मलाई भन्‍नुभएअनुसार मैले गरेको छु; उठ्नुहोस्, म तपाईंलाई विन्‍ती गर्छु, बस्‍नुहोस् र मेरो शिकारको मासुबाट खानुहोस्, र तपाईंको प्राणले मलाई आशीर्वाद देओस्!” 20 अनि इसहाकले आफ्नो छोरालाई भने: “हे मेरा छोरा, कसरी हो, तिमीले त्यो यति छिटो पायौ?” अनि उनले भने: “किनभने परमप्रभु तपाईंका परमेश्‍वरले त्‍यसलाई मेरो अघि ल्याइदिनुभयो।” 21 अनि इसहाकले याकूबलाई भने: “नजिक आऊ, म तिमीलाई विन्‍ती गर्दछु, र हे मेरा छोरा, तिमीचाहिँ मेरा छोरा एसाव हौ कि होइनौ भनी म तिमीलाई छाम्‍न पाऊँ!” 22 अनि याकूब आफ्ना बुबा इसहाकको नजिक गए; अनि तिनले उनलाई छामेर भने: “सोरचाहिँ याकूबको सोर हो, तर हातहरूचाहिँ एसावका हातहरू हुन्।” 23 अनि तिनले उनलाई चिन्‍न सकेनन्; किनकि उनका हातहरू उनका दाजु एसावका हातहरूजस्तै रौं नै रौं भएका थिए; यसैले तिनले उनलाई आशीर्वाद दिए। 24 अनि तिनले भने: “के तिमी साँच्‍ची नै मेरा छोरा एसाव हौ त?” अनि उनले भने: “ज्यू, म हुँ।” 25 अनि तिनले भने: “त्यो मेरो नजिकमा ल्याऊ, अनि म मेरो छोराको शिकारको मासुबाट खानेछु, र मेरो प्राणले तिमीलाई आशीर्वाद देओस्!” अनि उनले त्यो तिनको नजिकमा ल्याए, र तिनले खाए; अनि उनले तिनीकहाँ दाखमद्य ल्याए, र तिनले पिए। 26 अनि उनका बुबा इसहाकले उनलाई भने: “हे मेरा छोरा, अब नजिक आऊ, र मलाई चुम्बन गर!” 27 अनि उनी नजिक आए, र तिनलाई चुम्बन गरे; अनि तिनले उनका लुगाको बास्‍ना सुँघे, र उनलाई आशीर्वाद दिएर भने: “हेर, मेरो छोराको बास्‍ना त्‍यस खुला मैदानको बास्‍नाजस्तो छ, जसलाई परमप्रभुले आशिष्‌ दिनुभएको छ; 28 यसकारण परमेश्‍वरले तिमीलाई आकाशको शीतबाट, अनि पृथ्वीको उत्तम वस्तुबाट, साथै प्रशस्त अन्‍न र नयाँ दाखमद्य दिऊन्! 29 मानिसहरूले तिम्रो सेवा गरून्, र जाति-जातिले तिमीलाई दण्‍डवत्‌ गरून्; आफ्ना दाजुभाइहरूमाथि मालिक होऊ, र तिम्री आमाका छोराहरूले तिमीलाई दण्‍डवत्‌ गरून्; तिमीलाई श्राप दिनेहरू श्रापित होऊन्, र तिमीलाई आशीर्वाद दिनेहरू आशिषित होऊन्!”
30 अनि यस्तो भयो: इसहाकले याकूबलाई आशीर्वाद दिइसक्ने बित्तिकै, अनि याकूब आफ्ना बुबा इसहाकको सामुबाट निस्कनसाथ उनका दाजु एसाव आफ्नो शिकारबाट भित्र आए। 31 अनि उनले पनि स्वादिलो भोजन बनाए, आफ्ना बुबाकहाँ ल्याए र आफ्ना बुबालाई भने: “मेरा पिता उठून्, र आफ्ना छोराको शिकारको मासुबाट खाऊन्, र तपाईंको प्राणले मलाई आशीर्वाद देओस्!” 32 अनि उनका बुबा इसहाकले उनलाई भने: “तिमी को हौ?” अनि उनले भने: “म तपाईंको छोरा – तपाईंको जेठा छोरा एसाव हुँ।” 33 तब इसहाक डरले साह्रै गरी थरथर कामे, अनि भने: “तब त्यो को थियो त, जसले शिकार गरी त्यो मकहाँ ल्यायो? अनि तिमी आउनुभन्दा पहिले मैले ती सबै कुराबाट खाएँ, र उसलाई आशीर्वाद दिएँ; अँ, त्यो आशिषित हुनेछ।” 34 अनि जब एसावले आफ्ना बुबाका कुराहरू सुने, तब उनी ठूलो र साह्रै तीतो आवाज निकालेर चिच्च्याए, र आफ्ना बुबालाई भने: “हे मेरा पिताजी, मलाई, मलाई पनि आशीर्वाद दिनुहोस्!” 35 तब तिनले भने: “तिम्रो भाइ छल गरेर आयो, र तिम्रो आशिष्‌ लग्यो।” 36 अनि उनले भने: “के त्‍यसलाई ‘याकूब’ भनेर ठीक नाम राखिएको होइन र? किनभने त्‍यसले मलाई यी दुईचोटि ठगिसक्यो। त्‍यसले मेरो जेठाको अधिकार लियो; अनि हेर्नुहोस्, अहिले त्‍यसले मेरो आशिष्‌ लग्यो।” अनि उनले भने: “के तपाईंले मेरा निम्ति कुनै आशीर्वाद साँचिराख्‍नुभएको छैन?” 37 अनि इसहाकले एसावलाई जवाफ दिएर भने: “हेर, उसलाई मैले तिम्रो मालिक बनाएको छु; अनि उसका सबै दाजुभाइहरूलाई दासहरू हुनका निम्ति मैले उसलाई दिएको छु; अनि अन्‍न र नयाँ दाखमद्यले मैले उसलाई सम्हालेको छु; अनि अब, हे मेरा छोरा, म तिम्रा निम्ति के गरूँ?” 38 तब एसावले आफ्ना बुबालाई भने: “हे मेरा बुबा, के तपाईंसँग एउटै मात्र आशीर्वाद छ? मलाई, मलाई पनि आशीर्वाद दिनुहोस्!” अनि एसाव ठूलो सोरले चिच्च्याएर रोए। 39 अनि उनका बुबा इसहाकले जवाफ दिएर उनलाई भने: “हेर, पृथ्वीको उत्तम-उत्तम पदार्थ र माथि आकाशको शीतबाट तिम्रो वासस्थान टाढ़ा हुनेछ; 40 अनि आफ्नो तरवारद्वारा तिमी बाँच्‍नेछौ, र आफ्नो भाइको सेवा गर्नेछौ; अनि यस्तो हुनेछ: जब तिमी बेचैन हुनेछौ, तब तिमीले उसको जुवा आफ्नो गर्दनबाट भाँचेर फाल्नेछौ।”
41 अनि उनका बुबाले याकूबलाई जुन आशीर्वादले आशिष्‌ दिएका थिए, त्‍यस आशीर्वादले गर्दा एसावले याकूबलाई घृणा गर्थे; अनि एसावले मन-मनमा भन्थे: “मेरा बुबाका निम्ति विलाप गर्ने दिनहरू नजिकै छन्; त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु।” 42 अनि तिनका जेठा छोरा एसावका यी कुराहरू रिबेकालाई सुनाइए; अनि तिनले आफ्नो कान्छा छोरा याकूबलाई बोलाइपठाइन्, र उनलाई भनिन्: “हेर, तिम्रा दाजु एसावले तिमीलाई मार्ने विचार गरेर उसले तिम्रो विषयमा आफूलाई सान्‍त्‍वना दिएको छ 43 यसकारण अब हे मेरा छोरा, मेरो कुरा सुन; र उठ, हारानमा, मेरा दाजु लाबानकहाँ भागेर जाऊ! 44 अनि तिम्रा दाजुको तातो रिस नमरुन्जेल केही दिन उहाँसित बस, 45 अर्थात् तिम्रा दाजुको रिस तिमीबाट नहटुन्जेल, र तिमीले उसलाई जे गरेका छौ, त्यो कुरा उसले नबिर्सुन्जेल बस; त्‍यसपछि म कसैलाई पठाएर तिमीलाई त्यहाँबाट झिकाउनेछु; एकै दिनमा तिमीहरू दुवैबाट म किन बिछोड़िऊँ?” 46 अनि रिबेकाले इसहाकलाई भनिन्: “हित्तीका छोरीहरूको कारणले गर्दा म आफ्नो जीवनबाट विरक्त भएको छु; यदि याकूबले यस देशका छोरीहरूबाट अर्थात् यीजस्तै हित्तीका छोरीहरूबाट कसैलाई स्‍वास्‍नी तुल्यायो भने त मेरो जीवन मेरा निम्ति के राम्रो भयो र?”