अब्राहामकी उपपत्‍नी केतूरापट्टिका सन्‍तानहरू
25
तब फेरि अब्राहामले एउटी पत्‍नी ल्याए, अनि तिनको नाम केतूरा थियो। 2 अनि तिनले उनका निम्ति जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक र शूहलाई जन्माइन्। 3 अनि योक्षानले शबा र ददानलाई जन्माए। अनि ददानका छोराहरू अश्शूरी, लेतूशी र लेऊम्मीहरू भए। 4 अनि मिद्यानका छोराहरू एपा, एपेर, हनोक, अबीदा र एल्दा थिए। यी सबै केतूराका सन्तान हुन्। 5 अनि अब्राहामले आफूसँग भएका सबै कुराहरू इसहाकलाई दिए। 6 तर अब्राहामका उपपत्‍नीहरूका छोराहरूलाई चाहिँ अब्राहामले दानहरू दिए, र आफू जिउँदा हुँदै तिनीहरूलाई आफ्नो छोरा इसहाकबाट पूर्वतिर पूर्वीय देशमा पठाइदिए।
अब्राहामको मृत्यु
7 अनि अब्राहाम बाँचेको उनको जीवनकालको समय यही हो: एक सय पचहत्तर वर्ष। 8 त्‍यसपछि अब्राहामले प्राण त्यागे, र पूरा वृद्ध अवस्थामा, वृद्ध भएर र पूरा वर्ष खाएर उनी मरे, र आफ्ना मानिसहरूकहाँ मिल्न गए। 9 अनि उनका छोराहरू इसहाक र इश्माएलले उनलाई हित्ती सोअरको छोरा एप्रोनको जमिनमा, मम्रेको सामु भएको मक्पेलाको ओड़ारमा गाड़े; 10 जुन जमिनचाहिँ अब्राहामले हित्तीहरूबाट किनेका थिए। त्यहीं नै अब्राहाम र उनकी पत्‍नी सारा गाड़िए। 11 अनि अब्राहामको मृत्युपछि यस्तो भयो: परमेश्‍वरले उनको छोरा इसहाकलाई आशिष्‌ दिनुभयो; अनि इसहाक ‘बेर-लहै-रोई’ भनिने इनारनिर बस्थे।
इश्माएलको वंशावली
12 अब अब्राहामको छोरा इश्माएलको वंशावली यिनै हुन्, जसलाई साराकी दासी मिस्री हागारले अब्राहामका निम्ति जन्माएकी थिई। 13 अनि इश्माएलका छोराहरूका नाम, तिनीहरूका नामले र तिनीहरूका वंशअनुसार यिनै हुन्: इश्माएलको जेठो छोरा नबायोत, त्‍यसपछि केदार, अद्बेएल र मिब्साम, 14 अनि मिश्मा, दूमा, मस्सा, 15 हदर, तेमा, यतूर, नापीश र केद्‍मा। 16 यिनीहरू इश्माएलका छोराहरू हुन्, अनि तिनीहरूका गाउँबस्तीहरू र तिनीहरूका वासस्थानहरूअनुसार तिनीहरूका नाम यी हुन्; आ-आफ्ना कुलअनुसार यिनीहरू बाह्रजना शासक भए। 17 अनि इश्माएलको जीवनका वर्षहरू एक सय सैंतीस वर्ष भए; त्‍यसपछि तिनले प्राण त्यागे, र मरे; अनि आफ्ना मानिसहरूकहाँ मिल्न गए। 18 अनि तिनीहरूले हवीलादेखि शूरसम्म बसोबास गरे, जो तिमी अश्शूरतिर जाँदा मिस्रको सामु पर्छ; अनि तिनी आफ्ना सबै भाइबन्धुहरूको सामु शत्रुतामा बसे।
इसहाकका छोराहरू – याकूब र एसाव
19 अनि अब्राहामको छोरा इसहाकका वंशहरू यी हुन्: अब्राहामले इसहाकलाई जन्माए। 20 अनि इसहाक चालीस वर्षका हुँदा उनले पदन-अरामका अरामी बतूएलकी छोरी अर्थात् अरामी लाबानकी बहिनी रिबेकालाई आफ्नी पत्‍नीको रूपमा लिए। 21 अनि इसहाकले आफ्नी पत्‍नीका निम्ति परमप्रभुलाई विन्‍ती गरे; किनकि तिनी बाँझी थिइन्। अनि परमप्रभुले उनको विन्‍ती सुन्‍नुभयो, र उनकी पत्‍नी रिबेका गर्भवती भइन्। 22 अनि बालकहरू तिनको गर्भभित्र एक-अर्कासँग झगड़ा गर्न लागे। तब तिनले भनिन्: “यसो हो भने म किन यस्तो छु?” अनि तिनी परमप्रभुलाई सोध्‍न गइन्। 23 अनि परमप्रभुले तिनलाई भन्‍नुभयो: “तिम्रो गर्भमा दुई जातिहरू छन्, र यी दुई प्रकारका मानिसहरू तिम्रो पेटबाट छुट्टिनेछन्; अनि एउटा जाति अर्को जातिभन्दा बलियो हुनेछ; अनि जेठाले कान्छाको सेवा गर्नेछ।” 24 अनि जब तिनको जन्माउने दिन पूरा भयो, तब हेर, तिनको गर्भमा जुम्ल्याहा रहेछन्! 25 अनि पहिलो, जो जन्म्यो, रातो थियो; शरीरभरि रौंले बनिएको लुगाझैं थियो; अनि उनीहरूले उसको नाम एसाव राखे। 26 अनि त्‍यसपछि त्‍यसको भाइ जन्म्यो; अनि उसको हातले एसावको कुर्कुच्‍चा पक्रेको थियो; अनि उसको नाम याकूब राखियो। तिनले यिनीहरूलाई जन्माउँदा इसहाक साठी वर्ष पुगेका थिए।
27 अनि ती केटाहरू बढ़े; अनि एसाव एउटा निपुण शिकारी, वनहुँदो घुमिहिँड़्‍ने मानिस भए; अनि याकूबचाहिँ पालहरूमा बसिरहने सादा मानिस थिए। 28 अनि इसहाकले एसावलाई माया गर्थे; किनकि उनले तिनको शिकारको मासु खान्थे; तर रिबेकाले याकूबलाई माया गर्थिन्।
एसावले आफ्नो जेठाको अधिकार बेचे
29 अनि याकूबले सुरुवा पकाए; अनि एसाव वनबाट आए, र तिनलाई भोकले भाउन्‍न छुटेको थियो। 30 अनि एसावले याकूबलाई भने: “म विन्‍ती गर्दछु, मलाई त्यही रातो चीजबाट खान देऊ; किनकि मलाई भाउन्‍न छुटिरहेछ”; यसैकारण तिनको नाम ‘एदोम’ राखियो। 31 तब याकूबले भने: “त्यसो भए आज मलाई तिम्रो जेठाको अधिकार बेच!” 32 अनि एसावले भने: “हेर, म मर्न लागिरहेछु; तब यस जेठाको अधिकारले मलाई के फाइदा गर्छ र?” 33 अनि याकूबले भने: “आज मसँग शपथ खाऊ!” अनि तिनले उनीसँग शपथ खाए, र आफ्नो जेठाको अधिकार याकूबलाई बेचे। 34 तब याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए; अनि तिनले खाए, पिए र उठे, अनि आफ्नो बाटो लागे; यसरी एसावले आफ्नो जेठाको अधिकारलाई तुच्छ ठाने।