इसहाकको विवाह रेबिकासित
24
अनि अब्राहाम वृद्ध भए, र उनको उमेर ढल्किसकेको थियो; अनि परमप्रभुले अब्राहामलाई सबै कुरामा आशिष्‌ दिनुभएको थियो। 2 अनि अब्राहामले आफ्नो घरको आफ्नो सबैभन्दा वृद्ध सेवकलाई भने, जसले उनको सबै सम्पत्तिमाथि अख्तियार राख्दथ्यो: “म विन्‍ती गर्दछु, तिमीले आफ्नो हात मेरो तिघ्रामुनि राख! 3 अनि म तिमीलाई परमप्रभु स्वर्गका परमेश्‍वर र पृथ्वीका परमेश्‍वरको नाममा शपथ खान लाउँछु; कि तिमीले जुन कनानीहरूको बीचमा म बस्दछु, तिनीहरूका छोरीहरूमध्येबाट मेरा छोराका निम्ति कुनै पत्‍नी नल्याउनू; 4 तर तिमी मेरै देशमा, मेरै कुटुम्बकहाँ जानू, र मेरो छोरा इसहाकका निम्ति एउटी पत्‍नी ल्याउनू!” 5 अनि त्‍यस सेवकले उनलाई भन्यो: “हुन सक्छ, त्यो स्त्री यस देशसम्म मेरो पछि लाग्‍न राजी नहोली; त के मैले तपाईंको छोरालाई जुन देशबाट तपाईं निस्केर आउनुभयो, त्यहाँ फेरि लैजानुपर्छ?” 6 तब अब्राहामले उसलाई भने: “होशियार! तिमीले मेरो छोरालाई त्यहाँ फेरि नलैजानू! 7 परमप्रभु स्वर्गका परमेश्‍वर, जसले मलाई मेरा बुबाको घरबाट र मेरो जन्मेको देशबाट निकाल्नुभयो, अनि जो मसँग बोल्नुभयो र ‘तिम्रो वंशलाई म यो देश दिनेछु’ भन्दै मसित शपथ खानुभयो; उहाँले नै आफ्ना दूत तिम्रो अघि-अघि पठाउनुहुनेछ, र तिमीले त्यहाँबाट मेरा छोराका निम्ति एउटी पत्‍नी ल्याउनेछौ। 8 अनि त्यो स्त्री तिम्रो पछि लाग्‍न राजी भइन भने तिमी यो मेरो शपथबाट छुट्नेछौ; खालि तिमीले मेरो छोरालाई त्यहाँ फेरि नलैजानू!” 9 तब त्‍यस दासले आफ्नो हात आफ्ना मालिक अब्राहामको तिघ्रामुनि राख्यो, र यस विषयमा उनीसँग शपथ खायो।
10 अनि त्यो दास आफ्ना मालिकका ऊँटहरूमध्ये दसवटा ऊँट लिएर बाटो लाग्यो; किनकि उसका मालिकका सबै सम्पत्ति उसकै हातमा थियो; अनि ऊ उठ्यो र मेसोपोटामियामा नाहोरको शहरमा गयो। 11 अनि साँझको बेला अर्थात् त्‍यस बेला, जब स्त्रीहरू पानी भर्न बाहिर निस्कन्छन्, उसले शहरबाहिर, पानीको इनारनिर आफ्ना ऊँटहरूलाई घुँड़ा टेकायो। 12 अनि उसले भन्यो: “हे परमप्रभु मेरा मालिक अब्राहामका परमेश्‍वर, म तपाईंलाई विन्‍ती गर्दछु, आज मलाई सफलता दिनुहोस्, र मेरा मालिक अब्राहामप्रति दया देखाउनुहोस्! 13 हेर्नुहोस्, म यहाँ पानीको इनारननिर उभिरहेको छु; अनि यस शहरका मानिसका छोरीहरू पानी भर्न निस्केर आउँछन्; 14 अनि यस्तो होस्: जुन ठिटीलाई म भनुँला: ‘म विन्‍ती गर्छु, आफ्नो गाग्रो तल ओरालिदेऊ, र म पिउन पाऊँ!’, अनि त्‍यसले भन्ली: ‘पिउनुहोस्! अनि म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु’; यहीचाहिँ आफ्नो दास इसहाकका निम्ति तपाईंले ठहराउनुभएको व्यक्ति होस्! अनि यसैबाट तपाईंले मेरा मालिकलाई दया देखाउनुभएको छ भनी म जान्‍नेछु।”
15 अनि यस्तो भयो: उसले बोलिसक्नुभन्दा पहिल्यै, हेर, आफ्नो काँधमा आफ्नो गाग्रो बोकेर रिबेका निस्केर आइन्, जो अब्राहामको भाइ नाहोरकी पत्‍नी मिल्काको छोरा बतूएलकी छोरी थिइन्। 16 अनि ती ठिटी हेर्नमा अति सुन्दरी थिइन्, कन्या रहेछिन्, कुनै पुरुषले तिनलाई जानेको रहेनछ; तिनी इनारमा ओर्लिन्, आफ्नो गाग्रो भरिन् र माथि आइन्। 17 अनि त्यो दास तिनलाई भेट्न दगुर्‍यो, र भन्यो: “म विन्‍ती गर्दछु, तिम्रो गाग्रोबाट मलाई अलिकति पानी पिउन देऊ न!” 18 अनि तिनले भनिन्: “पिउनुहोस्, मेरा प्रभु!” अनि तिनले हतार गरेर आफ्नो गाग्रो आफ्नो हातमा ओरालिन्, र उसलाई पिउन दिइन्। 19 अनि उसलाई पिउन दिइसकेपछि तिनले भनिन्: “म तपाईंका ऊँटहरूका निम्ति पनि, जबसम्म तिनीहरूले पिइसक्दैनन्, म पानी भर्नेछु।” 20 तब तिनले हतार गरेर आफ्नो गाग्रोको पानी डुँड़मा खन्याइन्, अनि फेरि इनारमा पानी भर्न दगुरिन्; यसरी तिनले उसका सबै ऊँटहरूका निम्ति पानी भरिन्। 21 अनि परमप्रभुले मेरो यात्रा सफल तुल्याउनुभएको छ कि छैन भनी जान्‍नका निम्ति त्यो मानिस छक्‍क परेर तिनलाई हेर्दै चुप लागिरह्‍यो।
22 अनि यस्तो भयो: ती ऊँटहरूले पानी पिइसकेपछि त्‍यस मानिसले आधा शेकेल तौलको सुनको एउटा नत्थ र तिनका हातहरूका निम्ति दस-दस शेकेल तौलका सुनका दुई बाला निकाल्यो। 23 अनि उसले भन्यो: “म विन्‍ती गर्दछु, मलाई भन! तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हाम्रा निम्ति वास बस्‍नलाई ठाउँ छ?” 24 तब तिनले उसलाई भनिन्: “म मिल्काका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले नाहोरका निम्ति जन्माउनुभएको थियो।” 25 अझै तिनले उसलाई भनिन्: “पराल र चारो पनि हामीसँग प्रशस्त छन्, र वास बस्‍नलाई ठाउँ पनि छ।” 26 तब त्‍यस मानिसले आफ्नो शिर झुकाएर परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो। 27 अनि उसले भन्यो: “परमप्रभु मेरा मालिक अब्राहामका परमेश्‍वर धन्यका होऊन्, जसले मेरा मालिकबाट आफ्नो दया र आफ्नो सत्यता हटाउनुभएको छैन; म बाटोमा हुँदा नै परमप्रभुले मलाई मेरा मालिकका भाइहरूको घरमा डोर्‍याएर ल्याउनुभयो।”
28 अनि ती ठिटी दगुरेर गइन् र आफ्नी आमाको घरानालाई यी कुराहरू बताइन्। 29 अनि रिबेकाका एकजना दाजु थिए, र उनको नाम लाबान थियो; अनि लाबान बाहिर त्‍यस इनारमा त्‍यस मानिसकहाँ दगुरेर गए। 30 अनि यस्तो भयो: जब उनले त्यो नत्थ र आफ्नी बहिनीका हातहरूमा ती बाला देखे, अनि जब ‘यस मानिसले मलाई यसो भने’ भन्‍ने आफ्नी बहिनी रिबेकाका कुराहरू सुने, तब उनी यस मानिसकहाँ आए; अनि हेर, ऊ त्‍यस इनारमा ऊँटहरूको छेउमा उभिरहेको थियो। 31 अनि उनले भने: “हे परमप्रभुका धन्य जन, भित्र आउनुहोस्! तपाईं किन बाहिर उभिरहनुहुन्छ? किनभने मैले घर र ऊँटहरूका निम्ति ठाउँ तयार पारेको छु।” 32 तब त्यो मानिस घरभित्र आयो; अनि उनले उसका ऊँटहरूका काठी खोलिदिए, अनि ऊँटहरूलाई पराल र चारो दिए, अनि उसका पाउ, र ऊसित भएका मानिसहरूका पाउ धुनलाई पानी दिए। 33 त्‍यसपछि खानका निम्ति उसको सामु खानेकुरा राखियो; तर उसले भन्यो: “जबसम्म म मेरो कुरा भन्दिनँ, तबसम्म म खानेछैनँ।” अनि उनले भने: “भन्‍नुहोस्!”
34 अनि उसले भन्यो: “म अब्राहामको सेवक हुँ। 35 अनि परमप्रभुले मेरा मालिकलाई प्रशस्त आशिष्‌ दिनुभएको छ; अनि उहाँ महान् हुनुभएको छ; अनि परमप्रभुले उहाँलाई भेड़ा-बाख्राहरू, गाईबस्तुहरू, चाँदी, सुन, दासहरू, दासीहरू, ऊँटहरू र गधाहरू दिनुभएको छ। 36 अनि मेरा मालिककी पत्‍नी साराले आफू वृद्धा भइसक्नुभएपछि मेरा मालिकका निम्ति एउटा छोरा जन्माउनुभयो; अनि उनैलाई उहाँले आफूसित भएका सबै थोक दिनुभएको छ। 37 अनि मेरा मालिकले यसो भन्दै मलाई शपथ खान लाउनुभयो: ‘जुन कनानीहरूको देशमा म बस्दछु, तिनीहरूका छोरीहरूबाट तिमीले मेरो छोराका निम्ति कुनै पत्‍नी नल्याउनू! 38 तर तिमी मेरा बुबाको घरमा र मेरा कुटुम्बकहाँ जाऊ, र मेरो छोराका निम्ति एउटी पत्‍नी ल्याऊ!’ 39 अनि मैले मेरा मालिकलाई भनें: ‘हुन सक्छ, त्यो स्त्री मेरो पछि नलाग्ली।’ 40 तब उहाँले मलाई भन्‍नुभयो: ‘परमप्रभुले, जसको सामु म हिँड्‍दछु, आफ्नो दूत तिम्रो साथमा पठाउनुहुनेछ र तिम्रो यात्रा सफल तुल्याउनुहुनेछ; अनि तिमीले मेरा कुटुम्बकहाँबाट र मेरा बुबाको घरबाट मेरा छोराका निम्ति एउटी पत्‍नी ल्याउनेछौ 41 जब तिमी मेरा कुटुम्बकहाँ पुगौला, तब तिमी मेरो शपथबाट छुट्नेछौ; अनि उनीहरूले तिमीलाई कोही दिएनन् भने पनि तिमी मेरो शपथबाट छुट्नेछौ।’ 42 अनि आज म त्‍यस इनारमा आइपुगें, र भनें: ‘हे परमप्रभु मेरा मालिक अब्राहामका परमेश्‍वर, अब तपाईंले म गइरहेको मेरो यात्रा सफल पारिदिनुभयो भने, 43 हेर्नुहोस्, म यस पानीको इनारननिर उभिरहेको छु; अनि यस्तो होस्: जब कन्या पानी भर्न आउँछे, र जब म उसलाई “म विन्‍ती गर्छु, तिम्रो गाग्रोबाट मलाई अलिकति पानी पिउन देऊ” भनुँला; 44 अनि उसले मलाई भन्ली: ‘पिउनुहोस्, अनि म तपाईंका ऊँटहरूका निम्ति पनि पानी भर्नेछु’; तब परमप्रभुले मेरा मालिकका छोराका निम्ति ठहराउनुभएको स्त्री उही होस्!’ 45 मैले मेरो हृदयमा बोलिसक्नुभन्दा पहिल्यै, हेर्नुहोस्, आफ्नो काँधमाथि आफ्नो गाग्रो बोकेर रिबेका निस्केर आइन्; अनि तिनी तल इनारमा ओर्लिन् र पानी भरिन्; अनि मैले तिनलाई भनें: ‘दया गरी मलाई पिउन देऊ!’ 46 तब तिनले हतार गरेर आफ्नो काँधबाट आफ्नो गाग्रो ओरालिन्, र भनिन्: ‘पिउनुहोस्! अनि म तपाईंका ऊँटहरूलाई पनि पिउन दिनेछु’; अनि मैले पिएँ, अनि तिनले ऊँटहरूलाई पनि पानी पिउन दिइन्। 47 अनि मैले तिनलाई सोधें, र भनें: ‘तिमी कसकी छोरी हौ?’ अनि तिनले भनिन्: ‘म नाहोरका छोरा बतूएलकी छोरी हुँ, जसलाई मिल्काले नाहोरका निम्ति जन्माउनुभएको थियो।’ तब मैले तिनको नाकमा त्यो नत्थ र तिनका हातहरूमा ती बाला लगाइदिएँ; 48 अनि मैले शिर झुकाएर परमप्रभुलाई दण्‍डवत्‌ गरें, र परमप्रभु मेरा मालिक अब्राहामका परमेश्‍वरलाई धन्यका भनें, जसले मेरा मालिकका भाइकी छोरीलाई उहाँका छोराका निम्ति लैजान मलाई ठीक बाटोमा डोर्‍याउनुभयो। 49 अनि अब तपाईंहरूले मेरा मालिकसँग दया र सत्यताको व्यवहार गर्नुहुन्छ भने मलाई भन्‍नुहोस्; अनि गर्नुहुन्‍न भने त्‍यो पनि मलाई भन्‍नुहोस्, र म दाहिनेतिर वा देब्रेतिर लाग्‍न सकूँ!”
50 तब लाबान र बतूएलले जवाफ दिएर भने: “यो कुरा परमप्रभुबाट हुन आएको हो; हामी तपाईंलाई असल वा खराब केही भन्‍न सक्दैनौं। 51 हेर्नुहोस्, रिबेका तपाईंकै सामु छ, तिनलाई लिएर जानुहोस्! अनि परमप्रभुले भन्‍नुभएझैं तिनी तपाईंका मालिकका छोराकी पत्‍नी होऊन्!” 52 अनि यस्तो भयो: जब अब्राहामको सेवकले उनीहरूका कुराहरू सुन्यो, तब उसले भुइँमा घोप्‍टो परेर परमप्रभुलाई दण्‍डवत्‌ गर्‍यो। 53 तब यस सेवकले चाँदीका गहनाहरू, सुनका गहनाहरू र वस्त्रहरू निकाल्यो र रिबेकालाई दियो; अनि उसले तिनका दाजु र तिनकी आमालाई पनि बहुमूल्य चीजहरू दियो। 54 अनि उनीहरूले खाए र पिए, उसले र ऊसित भएका मानिसहरूले; अनि उनीहरू त्यो रात वास बसे; अनि बिहान उनीहरू उठे, र उसले भन्यो: “मलाई मेरा मालिककहाँ पठाउनुहोस्!” 55 तर तिनका दाजु र तिनकी आमाले भने: “यस ठिटीलाई केही दिन, थोरैमा दस दिनसम्म हामीसँग बस्‍न दिनुहोस्! त्‍यसपछि तिनी जानेछिन्।” 56 तब उसले तिनीहरूलाई भन्यो: “तपाईंहरूले मलाई नरोक्नुहोस्; किनभने परमप्रभुले मेरो यात्रा सफल पार्नुभएको छ; मलाई बिदा गर्नुहोस्, र म मेरा मालिककहाँ जान पाऊँ!” 57 तब तिनीहरूले भने: “हामी यी ठिटीलाई बोलाऔं, र तिनकै मुखबाट कुरा बुझौं!” 58 अनि तिनीहरूले रिबेकालाई बोलाए र तिनलाई सोधे: “के तिमी यस मानिसको साथमा जान्छ्यौ?” अनि तिनले भनिन्: “म जान्छु।” 59 अनि तिनीहरूले आफ्नी बहिनी रिबेकालाई र तिनकी धाईलाई, साथै अब्राहामको सेवक र उसका मानिसहरूलाई बिदा दिए। 60 अनि तिनीहरूले रिबेकालाई आशीर्वाद दिए र तिनलाई भने: “हे हाम्री बहिनी, तिमी लाखौं-लाखकी आमा होऊ! अनि तिम्रो वंशले आफूलाई घृणा गर्नेहरूको मूलढोका अधिकार गरोस्!”
61 अनि रिबेका र तिनका सहेलीहरू उठे, ती ऊँटहरूमा चढ़े र त्‍यस मानिसको पछि लागे; अनि त्यो दास रिबेकालाई लिएर आफ्नो बाटो लाग्यो। 62 अनि इसहाक ‘बेर-लहै-रोई’ भनिने इनारको बाटो भएर आए; किनकि उनी दक्षिण देशमा बस्थे। 63 अनि साँझ पर्दै गर्दा इसहाक ध्यान गर्न भनी मैदानमा निस्केका थिए; अनि उनले आफ्ना आँखा उठाए, र हेरे; अनि हेर, ऊँटहरू आइरहेका थिए। 64 अनि रिबेकाले आफ्ना आँखा उठाइन्, अनि जब तिनले इसहाकलाई देखिन्, तब तिनी हतारसँग ऊँटबाट ओर्लिन्। 65 किनकि तिनले यस सेवकलाई भनेकी थिइन्: “हामीलाई भेट्न मैदानमा हिँड़्‍दै आउनुहुने यी मानिस को हुनुहुन्छ?” अनि त्‍यस सेवकले भनेको थियो: “उहाँ मेरा मालिक हुनुहुन्छ।” यसकारण तिनले एउटा घुम्टो लिएर आफैलाई ढाकिन्। 66 अनि त्‍यस सेवकले इसहाकलाई आफूले गरेका सबै कामहरू बतायो। 67 अनि इसहाकले तिनलाई आफ्नी आमा साराको पालभित्र लगे; अनि उनले रिबेकालाई ग्रहण गरे, र तिनी उनकी पत्‍नी भइन्; अनि उनले तिनलाई प्रेम गरे। अनि इसहाकले आफ्नी आमाको मृत्युपछि सान्‍त्‍वना पाए।