साराको मृत्यु
23
अनि सारा एक सय सत्ताइस वर्षकी भइन्; साराको जीवनका वर्षहरू यी नै हुन्। 2 अनि सारा किर्यत-अर्बामा मरिन्, त्योचाहिँ कनान देशमा भएको हेब्रोन हो; अनि अब्राहाम साराका निम्ति विलाप गर्न र तिनका निम्ति रुन आए। 3 अनि अब्राहाम आफ्ना मृतकको सामुबाट उठे, र हित्तीहरूसँग यसो भन्दै बोल्न लागे: 4 “म तपाईंहरूको बीचमा एउटा परदेशी र प्रवासी हुँ; तपाईंहरूको बीचमा मलाई कब्रस्तानका निम्ति निज जमिन दिनुहोस्, र म मेरो मृतकलाई गाड़ेर मेरा आँखाबाट ओझेल पार्न सकूँ!” 5 तब हित्तीहरूले अब्राहामलाई यसो भन्दै उनलाई जवाफ दिए: 6 “हे मेरा प्रभु, हाम्रो कुरा सुन्नुहोस्! तपाईं हाम्रो बीचमा शक्तिशाली शासक हुनुहुन्छ; हाम्रा कब्रस्तानहरूमध्ये सबभन्दा राम्रोमा आफ्नो मृतकलाई गाड़्नुहोस्; तपाईंको मृतकलाई गाड़्न हामीमध्ये कसैले आफ्नो कब्रस्तान तपाईंदेखि रोकेर राख्दैन।” 7 तब अब्राहाम उठे र त्यस देशका मानिसहरूको सामु अर्थात् हित्तीहरूको सामु घोप्टो परे, 8 र यसो भन्दै उनीहरूसँग बोले: “म मेरो मृतकलाई गाड़ेर आफ्ना आँखाबाट ओझेल पारूँ भन्ने तपाईंहरूको इच्छा छ भने मेरो कुरा सुन्नुहोस्, र सोअरको छोरा एप्रोनलाई मेरा निम्ति विन्ती गरिदिनुहोस्, 9 कि उहाँले मलाई मक्पेलाको ओड़ार दिऊन्, जो उहाँकै हो, जो उहाँको जमिनको छेउमा छ; पूरा दाम लिएर उहाँले तपाईंहरूकै बीचमा कब्रस्तानको निज जमिनको रूपमा त्यो मलाई दिऊन्!” 10 अनि एप्रोन हित्तीहरूको बीचमा बस्थे; अनि हित्ती एप्रोनले हित्तीहरूले अर्थात् तिनको शहरको मूलढोकाबाट पस्ने सबैले सुन्ने गरीक अब्राहामलाई यसो भन्दै जवाफ दिए: 11 “होइन, मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्! त्यो जमिन म तपाईंलाई दिन्छु, र त्यसमा भएको ओड़ार – त्यो पनि म तपाईंलाई दिन्छु; आफ्ना जाति-भाइहरूकै आँखाको सामु म त्यो तपाईंलाई दिन्छु; आफ्नो मृतकलाई गाड़्नुहोस्!” 12 तब अब्राहाम त्यस देशका मानिसहरूको सामु घोप्टो परे। 13 अनि उनले त्यस देशका मानिसहरूले सुन्ने गरीख एप्रोनलाई यसो भने: “साँच्चै तपाईंले मेरो कुरा सुन्नुहुन्छ भने, त्यस जमिनका निम्ति म तपाईंलाई पैसा दिन्छु; त्यो मबाट लिनुहोस्! र त्यहाँ म मेरो मृतकलाई गाड़्नेछु” 14 तब एप्रोनले अब्राहामलाई, उनलाई यसो भन्दै जवाफ दिए: 15 “मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्; जमिनको मूल्य त चाँदीको चार सय शेकेल हो; तर तपाईं र मेरो बीचमा यो के हो र? यसकारण आफ्नो मृतकलाई गाड़्नुहोस्!” 16 तब अब्राहामले एप्रोनको कुरा मानेग; अनि अब्राहामले हित्तीहरूले सुन्ने गरीघ एप्रोनले भनेको मूल्य तिनलाई तौलेर दिए अर्थात् चाँदीको चार सय शेकेल, जो व्यापारीहरूकहाँ चल्दथ्यो।17 अनि एप्रोनको जमिन, जो मम्रेको सामु मक्पेलामा थियो, त्यो जमिन र त्यसमा भएको ओड़ार, साथै त्यस जमिनमा भएका सबै रूखहरू, जो त्यसको चारैपट्टिको सारा सिमानाभित्र थिए, 18 ती हित्तीहरूको मुखेन्जी, तिनको शहरको मूलढोकाबाट पस्ने सबैको सामु अब्राहामको सम्पत्तिको रूपमा पक्का गरियो। 19 अनि त्यसपछि अब्राहामले आफ्नी पत्नी सारालाई मम्रेको सामु मक्पेलाको जमिनमा भएको ओड़ारमा गाड़े; त्योचाहिँ कनान देशको हेब्रोन हो। 20 अनि त्यो जमिन र त्यसमा भएको ओड़ार हित्तीहरूको तर्फबाट अब्राहामका निम्ति कब्रस्तानको निज जमिनको रूपमा पक्का गरियो।