अब्राहामको परीक्षा
22
अनि यस्तो भयो: यी कुराहरूपछि परमेश्‍वरले अब्राहामलाई जाँच्‍नुभयो, र उनलाई भन्‍नुभयो: “हे अब्राहाम!” अनि उनले भने: “हेर्नुहोस्, म यहाँ छु!” 2 अनि उहाँले भन्‍नुभयो: “तिम्रो छोरा, तिम्रो एकमात्र छोरा इसहाकलाई लेऊ, जसलाई तिमी प्रेम गर्छौ, र मोरियाह देशमा जाऊ! अनि त्यहाँ ती पहाड़हरूमध्ये एउटामा, जो म तिमीलाई भन्‍नेछु, उसलाई होमबलिको रूपमा चढ़ाऊ!” 3 तब अब्राहाम एकाबिहानै उठे, र आफ्नो गधामा काठी कसे; अनि उनले आफ्ना जवानहरूमध्ये दुईजनालाई र आफ्नो छोरा इसहाकलाई आफ्नो साथमा लिए, अनि होमबलिका निम्ति दाउरा चिरे, र उठे, अनि परमेश्‍वरले उनलाई भन्‍नुभएको ठाउँतिर हिँड़े। 4 अनि तेस्रो दिनमा अब्राहामले आफ्ना आँखा उठाए, र टाढ़ामा त्यो ठाउँ देखे। 5 अनि अब्राहामले आफ्ना जवानहरूलाई भने: “तिमीहरू यहीं गधासँग बस! अनि म र यो केटोचाहिँ अलिक पर जान्छौं, र उपासना गर्नेछौं, अनि तिमीहरूकहाँ फर्केर आउनेछौं।” 6 अनि अब्राहामले होमबलिको दाउरा लिए र आफ्नो छोरा इसहाकलाई लदाए; अनि उनले आगो र छुरी आफ्नो हातमा लिए; अनि उनीहरू दुवै सँग-सँगै हिँड़े। 7 अनि इसहाकले आफ्ना बुबा अब्राहामसँग बोले र भने: “मेरा पिताजी!”; अनि उनले भने: “हेर, म यहाँ छु, मेरा छोरा!” अनि उसले भन्यो: “हेर्नुहोस्, आगो र दाउरा त छन्, तर होमबलिका निम्ति पाठो कहाँ छ?” 8 अनि अब्राहामले भने: “मेरा छोरा, परमेश्‍वर आफैले होमबलिका निम्ति पाठाको प्रबन्ध गर्नुहुनेछ।” यसरी उनीहरू दुवै सँग-सँगै हिँड़े।
9 अनि उनीहरू परमेश्‍वरले उनलाई भन्‍नुभएको ठाउँमा आइपुगे; अनि अब्राहामले त्यहाँ एउटा वेदी बनाए, र दाउराहरू मिलाएर राखे; अनि उनले आफ्नो छोरा इसहाकलाई बाँधे, र उसलाई वेदीमा दाउरामाथि राखे। 10 अनि अब्राहामले आफ्नो हात बढ़ाएर आफ्नो छोरालाई बलि गर्नका निम्ति छुरी उठाए। 11 तब परमप्रभुका दूतले स्वर्गबाट उनलाई पुकारेर भने: “अब्राहाम! अब्राहाम!” अनि उनले भने: “हेर्नुहोस्, म यहाँ छु!” 12 अनि उहाँले भन्‍नुभयो: “त्‍यस केटामाथि आफ्नो हात नबढ़ाऊ र त्‍यसलाई केही नगर; किनकि अब म जान्दछु – तिमी परमेश्‍वरको डर मान्दा रहेछौ, किनभने तिम्रो छोरालाई, तिम्रो एकमात्र छोरालाई पनि तिमीले मबाट रोकेर राखेका छैनौ।” 13 अनि अब्राहामले आफ्ना आँखाहरू उठाएर हेरे; अनि हेर, उनको पछिल्तिर एउटा भेड़ा झाड़ीमा आफ्ना सिङहरू अल्झेर फसेको रहेछ! अनि अब्राहाम गए, र त्‍यो भेड़ा लिए, र त्‍यसलाई आफ्नो छोराको सट्टामा होमबलि चढ़ाए। 14 अनि अब्राहामले त्‍यस ठाउँको नाम यहोवा-यिरे राखे; यसकारण आजसम्म पनि ‘परमप्रभुको पर्वतमा प्रबन्ध गरिनेछ’ भनी भनिन्छ।
15 अनि स्वर्गबाट परमप्रभुका दूतले अब्राहामलाई दोस्रो पल्ट पुकारे, 16 र भने: “परमप्रभु भन्‍नुहुन्‍छ: मैले आफ्नै नाममा शपथ खाएको छु; किनकि तिमीले यो काम गरेका छौ, र आफ्नो छोरालाई, आफ्नो एकमात्र छोरालाई रोकेर राखेका छैनौ; 17 यसैले म तिमीलाई आशिष्‌माथि आशिष्‌ दिनेछु; म तिम्रो वंशलाई आकाशका ताराहरूझैं र समुद्रका किनारमा हुने बालुवाझैं गरी वृद्धिमाथि वृद्धि गर्नेछु; अनि तिम्रो वंशले आफ्ना शत्रुहरूको मूलढोका अधिकार गर्नेछन्; 18 अनि तिम्रो वंशमा पृथ्वीका सबै जातिहरू आशिषित हुनेछन्; किनकि तिमीले मेरो आज्ञा पालन गरेका छौ।” 19 अनि अब्राहाम आफ्ना जवानहरूकहाँ फर्के; अनि उनीहरू उठे, र एकसाथ बेरशेबा गए; अनि अब्राहाम बेरशेबामा बसे।
नाहोरका सन्तानहरू
20 अनि यस्तो भयो: यी कुराहरूपछि अब्राहामलाई यो खबर दिइयो: “हेर, मिल्का – तिनले पनि तिम्रा भाइ नाहोरका निम्ति छोराहरू जन्माएकी छन्;” 21 तिनका जेठा ऊज, र उसको भाइ बूज, अनि आरामका बुबा कमूएल; 22 साथै केसेद, हजो, पिल्दाश, यिद्लाप र बतूएल। 23 अनि बतूएलले रिबेकालाई जन्माए। यी आठजनालाई मिल्काले अब्राहामका भाइ नाहोरका निम्ति जन्माइन्। 24 अनि तिनकी उपपत्‍नीले पनि, जसको नाम रेऊमा थियो, तेबह, गहम, तहश र माकालाई जन्माई।