इसहाकको जन्म
21
अनि परमप्रभुले साराको वास्ता गर्नुभयो, जस्तो उहाँले भन्नुभएको थियो; अनि परमप्रभुले साराका निम्ति आफूले भन्नुभएअनुसार गर्नुभयो। 2 किनकि सारा गर्भवती भइन्, र अब्राहामको वृद्ध अवस्थामा, परमेश्वरले उनलाई भन्नुभएको त्यस तोकिएको समयमा उनका निम्ति एउटा छोरा जन्माइन्। 3 अनि अब्राहामले आफ्नो छोराको नाम इसहाकक राखे, जो उनका निम्ति जन्मेको थियो, जसलाई साराले उनका निम्ति जन्माएकी थिइन्। 4 अनि परमेश्वरले अब्राहामलाई आज्ञा गर्नुभएअनुसार उनले आफ्नो छोरा इसहाक आठ दिनको हुँदा उसको खतना गरे। 5 अनि उनको छोरा इसहाक उनका निम्ति जन्मँदा अब्राहाम एक सय वर्षका भएका थिए। 6 अनि साराले भनिन्: “परमेश्वरले मलाई हाँस्ने तुल्याउनुभएको छ; यो कुरा सुन्नेहरू सबै मसँग हाँस्नेछन्।” 7 अनि तिनले भनिन्: “साराले छोराछोरीहरूलाई दूध चुसाउँछिन् भनी कसले पो अब्राहामलाई भन्थ्यो होला र? किनकि मैले उहाँको वृद्ध अवस्थामा उहाँका निम्ति एउटा छोरा जन्माएकी छु।”8 अनि बालक बढ़्दै गयो, र दूध छुटाइयो; अनि जुन दिन इसहाकको दूध छुटाइयो, त्यस दिन अब्राहामले ठूलो भोज लगाए।
हागार र इश्माएल
9 अनि साराले मिस्री हागारको छोरालाई, जसलाई त्यसले अब्राहामका निम्ति जन्माएकी थिई, ठट्टा गरिरहेको देखिन्। 10 यसकारण तिनले अब्राहामलाई भनिन्: “त्यस दासी र त्यसको छोरालाई निकालिदिनुहोस्; किनकि त्यस दासीको छोरो मेरो छोरासँगै अर्थात् इसहाकसँग हकवाला हुनेछैन।” 11 अनि आफ्नो छोराको कारणले गर्दा यो कुरा अब्राहामको दृष्टिमा साह्रै दु:खदायक भयो। 12 अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो: “त्यस केटाको कारणले र तिम्री दासीको कारणले यो कुरा तिम्रो दृष्टिमा दु:खदायक नबनोस्; साराले तिमीलाई भनेका सबै कुरामा उसको कुरा मान; किनकि इसहाकमै तिम्रो वंशको नाम लिइनेछ। 13 अनि त्यस दासीको छोराबाट पनि म एउटा जाति बनाउनेछु; किनकि त्यो तिम्रै वंश हो।”
14 तब अब्राहाम एकाबिहानै उठे, अनि रोटी र एक मशकख पानी लिए, र त्यो हागारको काँधमा राखिदिँदै उसलाई दिए; अनि केटा पनि दिए, र उसलाई बिदा गरिदिए; अनि ऊ निस्केर गई, र बेरशेबाको उजाड़स्थानमा भड़्किहिँड़ी। 15 अनि मशकको पानी सिद्धियो; तब उसले केटालाई पोथ्राहरूमध्ये एउटाको मुनि राखीग। 16 अनि त्यहाँबाट काँड़ हाने जति दूरीमा गएर ऊ केटाको सामु बसी; किनकि उसले भनेकी थिई: “मैले केटाको मृत्यु हेर्नु नपरोस्!” यसैले ऊ केटाको सामु बसी, र डाँको छोड़ी-छोड़ी ठूलो सोरले रोई। 17 अनि परमेश्वरले त्यस केटाको सोर सुन्नुभयो; अनि परमेश्वरका दूतले हागारलाई स्वर्गबाट बोलाए र उसलाई भने: “हे हागार, तिमीलाई के भएको छ? नडराऊ; किनकि जहाँ त्यो केटा छ, त्यहींबाट परमेश्वरले त्यसको सोर सुन्नुभएको छ। 18 उठ, त्यस केटालाई उठाऊ, र त्यसलाई आफ्नो हातमा लेऊ; किनकि म त्यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु।” 19 अनि परमेश्वरले उसका आँखाहरू खोलिदिनुभयो; अनि उसले एउटा पानीको कुवाघ देखी; अनि ऊ गएर मशकलाई पानीले भरी र त्यस केटालाई पिउन दिई। 20 अनि परमेश्वर त्यस केटाको साथमा हुनुहुन्थ्यो; अनि त्यो बढ्यो, र उजाड़स्थानमा बस्थ्यो; अनि एउटा धनुर्धारी बन्यो। 21 अनि त्यो पारानको उजाड़स्थानमा बस्थ्यो; अनि त्यसकी आमाले त्यसका निम्ति मिस्र देशबाट एउटी पत्नी ल्याइदिई।
अब्राहाम र अबिमेलेकको बीचको वाचा
22 अनि यस्तो भयो: त्यस बेला अबिमेलेक र तिनका सेनापति पिकोलले अब्राहामलाई यसो भने: “तपाईं जे गर्नुहुन्छ, त्यसमा परमेश्वर तपाईंको साथमा हुनुहुन्छ। 23 यसकारण अब यहाँ मसँग ‘म तिमीसित र तिम्रा छोरासित, र तिम्रा छोराको छोरासित छल गर्नेछैनँ; तर तिमीले मसित गरेको दयाअनुसार म पनि तिमीप्रति, साथै मैले बसोबास गरेको यस देशप्रति दया गर्नेछु’ भनी परमेश्वरको नाममा शपथ खानुहोस्!” 24 अनि अब्राहामले भने: “म शपथ खानेछु।” 25 तब अब्राहामले एउटा पानीको इनारको विषयमा, जुन इनार अबिमेलेकका दासहरूले जबर्जस्ती खोसेर लगेका थिए, अबिमेलेकलाई दोष लगाए। 26 अनि अबिमेलेकले भने: “यस्तो काम कसले गर्यो, त्यो मलाई थाहा छैन; अनि तपाईंले पनि मलाई भन्नुभएन; अनि आजबाहेक मैले कहिल्यै सुनेको छैनँ।” 27 तब अब्राहामले भेड़ाबाख्राहरू र गाईबस्तुहरू लिएर अबिमेलेकलाई दिए; र दुवैजनाले एउटा वाचा बाँधे। 28 अनि अब्राहामले बगालबाट सातवटा भेड़ाका पाठीहरू अलग पारे। 29 तब अबिमेलेकले अब्राहामलाई भने: “यी सातवटा भेड़ाका पाठीहरूको मतलब के हो, जसलाई तपाईंले अलग राख्नुभएको छ?” 30 अनि उनले भने: “यो इनारचाहिँ मैले नै खनेको हुँ भनी यिनीहरू मेरा निम्ति साक्षी होऊन् भन्ने उद्देश्यले यी सातवटा भेड़ाका पाठीहरू तपाईंले मेरो हातबाट लिनू!” 31 यसैकारण उनले त्यस ठाउँको नाम ‘बेरशेबा’ङ राखे; किनभने दुवैजनाले त्यहाँ शपथ खाएका थिए। 32 यसरी उनीहरूले बेरशेबामा एउटा वाचा बाँधे; तब अबिमेलेक र तिनका सेनापति पिकोल उठे, र तिनीहरू पलिस्तीहरूको देशतिर फर्के। 33 अनि बेरशेबामा अब्राहामलेच एउटा झ्याउको रूख रोपे, र त्यहाँ परमप्रभु अनन्तकालका परमेश्वरको नाम पुकारे। 34 अनि धेरै दिनसम्म अब्राहामले पलिस्तीहरूको देशमा बसोबास गरे।