अब्राहाम र अबिमेलेक
20
अनि अब्राहाम त्यहाँबाट दक्षिण देशतिर यात्रा गरे, अनि कादेश र शूरको बीचमा बसे; अनि गरारमा बसोबास गर्न लागे। 2 अनि अब्राहामले आफ्नी पत्‍नी साराको विषयमा ‘उनी मेरी बहिनी हुन्’ भने; अनि गरारका राजा अबिमेलेकले सारालाई झिकाएर ल्याए। 3 तर राति, सपनामा परमेश्‍वर अबिमेलेककहाँ आउनुभयो, र तिनलाई भन्‍नुभयो: “हेर, त्‍यस स्त्रीको कारणले, जसलाई तिमीले ल्याएका छौ, तिमी मर्ने भयौ; किनकि ऊ अर्काकी पत्‍नी हो।” 4 तर अबिमेलेक तिनको नजिकमा आएका थिएनन्; यसकारण तिनले भने: “हे प्रभु, के तपाईं धर्मी जातिलाई पनि मार्नुहुन्छ? 5 के उसैले मलाई ‘ऊ मेरी बहिनी हो’ भनेन र? के यसले, हो, यसले पनि ‘उनी मेरा दाजु हुन्’ भनिन र? यो ता मैले मेरो हृदयको इमानदारी र मेरा हातहरूको निर्दोषतामा गरेको हुँ।” 6 अनि परमेश्‍वरले सपनामा तिनलाई भन्‍नुभयो: “अँ, म जान्दछु, तिमीले यो कुरा तिम्रो हृदयको इमानदारीमा गरेका हौ; यसैले मैले पनि तिमीलाई मेरो विरोधमा पाप गर्नदेखि रोकें; त्यही कारणले नै मैले तिमीलाई उसलाई छुन दिइनँ। 7 यसकारण अब त्‍यस मानिसकी पत्‍नीलाई फर्काइदेऊ; किनकि ऊ भविष्यवक्ता हो; अनि उसले तिम्रा निम्ति प्रार्थना गर्नेछ, र तिमी बाँच्‍नेछौ। तर तिमीले उसलाई फर्काइदिएनौ भने चाहिँ यो जानिराख, तिमी निश्‍चय मर्नेछौ – तिमी र तिम्रा सबै जनहरू।”
8 तब अबिमेलेक एकाबिहानै उठे, र आफ्ना सबै सेवकहरूलाई बोलाए, र ती सबै कुराहरू तिनीहरूका कानमा सुनाए; अनि ती मानिसहरू अत्यन्तै डराए। 9 अनि अबिमेलेकले अब्राहामलाई बोलाए र उनलाई भने: “तिमीले हामीलाई के गरेका हौ? अनि कुन कुरामा मैले तिम्रो विरोधमा पाप गरें, र तिमीले ममाथि र मेरो राज्यमाथि यति ठूलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने कामहरू गरेका छौ।” 10 अनि अबिमेलेकले अब्राहामलाई भने: “तिमीले के देख्यौ, र यो काम गर्‍यौ?” 11 अनि अब्राहामले भने: “किनभने यस ठाउँमा निश्‍चय नै परमेश्‍वरको डर छैन, र मेरी पत्‍नीको कारणले यिनीहरूले मलाई मार्नेछन् भनी मैले सोचें। 12 तर पनि ऊ साँच्‍चै मेरी बहिनी हो; ऊ मेरा बुबाकी छोरी हो, तर मेरी आमाकी छोरीचाहिँ होइन; अनि ऊ मेरी पत्‍नी भई। 13 अनि यस्तो भयो: जब परमेश्‍वरले मलाई मेरा बुबाको घरलाई छोड़ेर घुमिहिँड़्न लाउनुभयो, तब मैले उसलाई भनेको थिएँ: ‘तिमीले मप्रति देखाउनुपर्ने तिम्रो दया यही हो: जुन ठाउँमा हामी पुगौंला, त्यहाँ तिमीले मेरो विषयमा “यिनी मेरा दाजु हुन्” भनिदेऊ!’ ” 14 तब अबिमेलेकले भेड़ाबाख्राहरू, गाईबस्तुहरू, कमाराहरू र कमारीहरू ल्याए, र ती अब्राहामलाई दिए, अनि उनकी पत्‍नी सारालाई उनीकहाँ फर्काइदिए। 15 अनि अबिमेलेकले भने: “हेर, मेरो देश तिम्रो सामु छ; जहाँ तिमीलाई मन पर्छ, त्यहीं बस!” 16 अनि तिनले सारालाई भने: “मैले तिम्रा दाजुलाई हजार टुक्रा चाँदी दिएको छु; हेर, त्योचाहिँ तिम्रा निम्ति तिमीसँग हुने सबैको सामु र अरू सबै मानिसहरूको सामु आँखाहरूको पर्दा हुनेछ;” यसरी तिनी हप्काइए। 17 तब अब्राहामले परमेश्‍वरलाई प्रार्थना गरे; अनि परमेश्‍वरले अबिमेलेक, तिनकी पत्‍नी र तिनका दासीहरूलाई निको पार्नुभयो; र तिनीहरूले जन्माउन लागे; 18 किनकि अब्राहामकी पत्‍नी साराको कारणले परमप्रभुले अबिमेलेकको घरका सबैका कोख पूरा बन्द गरिदिनुभएको थियो।