सदोम र गमोरामाथि परमेश्‍वरको न्याय
19
अनि साँझमा दुईजना स्वर्गदूत सदोममा आए; अनि लूत सदोमको मूलढोकामा बसिरहेका थिए; अनि जब लूतले उनीहरूलाई देखे, तब तिनी उनीहरूलाई भेट्न उठे; अनि उनले आफ्नो अनुहार भुइँतिर झुकाएर दण्‍डवत्‌ गरे; 2 अनि तिनले भने: “हे मेरा प्रभुहरूहो, अब हेर्नुहोस्, म तपाईंहरूलाई विन्‍ती गर्दछु, आफ्नो दासको घरमा पाल्नुहोस्, रातभर रहनुहोस् र आफ्ना पाउहरू धुनुहोस्; अनि बिहान चाँड़ै उठेर आफ्नो बाटोमा लाग्‍नुहोस्!” अनि उनीहरूले भने: “अहँ, हामी सड़कमै रात बिताउनेछौं।” 3 अनि तिनले उनीहरूलाई खूबै कर गरे, तब उनीहरू तिनीकहाँ आए, र तिनको घरभित्र पसे। अनि तिनले उनीहरूका निम्ति भोज तयार गरे, र अखमिरे रोटी पकाए; अनि उनीहरूले खाए। 4 तर उनीहरू सुत्‍नुभन्दा अघि त्‍यस शहरका पुरुषहरूले अर्थात् सदोमका पुरुषहरूले, जवान र वृद्ध दुवैले, अँ, शहरका छेउ-छेउका सबै मानिसहरूले त्‍यस घरलाई घेरे; 5 अनि तिनीहरूले लूतलाई बोलाएर तिनलाई भने: “आज राति तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? तिनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, र हामी तिनीहरूलाई जानौं!” 6 तब लूत ढोकाबाहिर तिनीहरूकहाँ गए, र आफ्नो पछिल्तिर ढोका थुने, 7 अनि भने: “हे मेरा दाजुभाइहरूहो, म तपाईंहरूलाई विन्‍ती गर्दछु, यस्तो दुष्‍ट काम नगरिदिनुहोस्! 8 अब हेर्नुहोस्, मेरा दुई छोरीहरू छन्, जसले कुनै पुरुषलाई जानेका छैनन्; म विन्‍ती गर्दछु, तिनीहरूलाई म बाहिर तपाईंहरूकहाँ ल्याउँछु, र तपाईंहरूका आँखामा जे असल छ, त्यही नै तिनीहरूसित गर्नुहोस्! तर यी मानिसहरूलाई चाहिँ केही नगर्नुहोस्; किनकि यही उद्देश्‍यले उनीहरू मेरो छानाको छायामुनि आएका छन्।” 9 तर तिनीहरूले भने: “पछि हट्!” फेरि तिनीहरूले भने: “यो मानिस परदेशी भई यहाँ रहनलाई आयो, र यो न्यायकर्ता पनि बन्‍न खोज्छ?! अब हामी तिनीहरूसँग भन्दा तँसँग बढ़ी खराब व्यवहार गर्नेछौं।” अनि तिनीहरूले त्‍यस मानिस लूतलाई जोड़ले ठेल्न थाले, र ढोका फोर्न नजिक आए। 10 तर ती मानिसहरूले आफ्नो हात बढ़ाए, अनि लूतलाई घरभित्र आफूकहाँ ताने, र ढोका थुने। 11 अनि उनीहरूले त्‍यस घरको ढोकामा भएका साना-ठूला सबै मानिसहरूलाई अन्धा पारिदिए; यसकारण ढोका भेट्टाउन खोज्दा-खोज्दा तिनीहरू हैरान भए
12 अनि ती मानिसहरूले लूतलाई भने: “के यहाँ तिम्रा अरू कोही छन्? जुवाइँ, तिम्रा छोराहरू, तिम्रा छोरीहरू र यस शहरमा तिम्रा अरू जो-जो छन्, ती सबैलाई यस ठाउँबाट बाहिर लैजाऊ! 13 किनकि हामी यस ठाउँलाई नष्‍ट पार्न लागेका छौं; किनभने परमप्रभुको सामु तिनीहरूको चिच्च्याहट ठूलो भएको छ; यसैले परमप्रभुले हामीलाई यसलाई नष्‍ट गर्न पठाउनुभएको छ।” 14 अनि लूत बाहिर गए, र आफ्ना जुवाइँहरूसँग, जसले तिनका छोरीहरूलाई विवाह गरेका थिए, कुरा गरे, र भने: “उठ, यस ठाउँबाट निस्केर जाओ; किनकि परमप्रभुले यस शहरलाई नष्‍ट गर्नुहुनेछ।” तर तिनी आफ्ना जुवाइँहरूको दृष्‍टिमा ठट्टा गर्ने मानिसजस्ता देखा परे।
15 अनि उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लूतलाई यसो भन्दै हतार लगाए: “उठ, आफ्नी पत्‍नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लैजाऊ; नत्र तिमी यस शहरको अधर्ममा भस्म हुनेछौ।” 16 अनि जब उनी अल्याङ-टल्याङ गर्न लागे, तब परमप्रभुले तिनीमाथि दया राख्‍नुभएकोले ती मानिसहरूले तिनको हात, तिनकी पत्‍नीको हात र तिनका छोरीहरूको हात पक्रे, र तिनलाई निकालेर तिनलाई शहरबाहिर छोड़िदिए। 17 अनि यस्तो भयो: जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, तब उनले भने: “आफ्नो प्राण बचाउनलाई भाग! आफ्नो पछिल्तिर फर्केर नहेर! सारा बेंसीमा कहीं नबस! पहाड़तिर भागेर जाऊ; नत्र तिमी भस्म हुनेछौ।” 18 अनि लूतले उनीहरूलाई भने: “विन्‍ती छ, त्यस्तो नहोस्, हे मेरा प्रभु! 19 अब हेर्नुहोस्, तपाईंको दासले तपाईंको दृष्‍टिमा अनुग्रह पाएको छ, र तपाईंले आफ्नो कृपा बढ़ाउनुभएको छ, जुन कृपा मेरो प्राणलाई बचाईकन तपाईंले देखाउनुभयो; तर मचाहिँ भागेर पहाड़तिर जान सक्दिनँ, नत्र त्यो खराबी ममाथि आइपर्ला, र म मर्नेछु। 20 अब हेर्नुहोस्, त्यतातिर भागेर जान यो शहर नजिकै छ, अनि यो सानो छ; दया गरी मलाई त्यहीं भागेर जान दिनुहोस्! के यो सानो छैन र? र मेरो प्राण बाँच्‍नेछ।” 21 अनि उनले तिनलाई भने: “हेर, यस कुराको विषयमा पनि मैले तिमीलाई ग्रहण गरेको छु; र त्‍यस शहरलाई, जसको विषयमा तिमीले कुरा गरेका छौ, म नाश गर्नेछैनँ। 22 छिट्टै गर, त्यहीं भागेर जाऊ; किनकि तिमी त्यहाँ नपुगुन्जेल म केही गर्न सक्नेछैनँ।” यसैकारण त्‍यस शहरको नाम सोअर राखियो।
23 लूत सोअरभित्र पस्दा पृथ्वीमाथि घाम झुल्किसकेको थियो। 24 तब परमप्रभुले आफ्‍नो तर्फबाट सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो; 25 अनि उहाँले ती शहरहरूलाई, समस्त बेंसी र ती शहरहरूका सबै बासिन्दाहरूलाई, साथै जमिनमा उम्रेका सबै थोकहरू नष्‍ट पारिदिनुभयो। 26 तर तिनकी पत्‍नीले, जो तिनको पछिल्तिर थिइन्, पछि फर्केर हेरिन्, र उनी नुनको खाँबा भइन्।
27 अनि अब्राहाम एकाबिहानै उठे र त्‍यस ठाउँमा गए, जहाँ उनी परमप्रभुको सामु उभिएका थिए; 28 अनि उनले सदोम र गमोरातिर अनि त्‍यस बेंसीको सारा भूमिलाई नियालेर हेरे; अनि उनले देखे; हेर, त्‍यस देशको धूवाँ भट्टीको धूवाँजस्तै उँभोतिर उठिरहेको थियो। 29 अनि यस्तो भयो: जब परमेश्‍वरले त्‍यस बेंसीका शहरहरूलाई नष्‍ट गर्नुभयो, तब परमेश्‍वरले अब्राहामलाई सम्झना गर्नुभयो, यसैले जुन शहरहरूमा लूत बस्थे, ती शहरहरूलाई नष्‍ट गर्नुहुँदा उहाँले लूतलाई विनाशको बीचबाट निकाल्नुभयो।
लूत र तिनका छोरीहरू
30 अनि लूत सोअरबाट निस्केर गए, र पहाड़मा बस्‍न लागे; अनि तिनका दुई छोरीहरू तिनको साथमा थिए; किनकि तिनी सोअरमा बस्‍न डराए। अनि तिनी एउटा ओड़ारमा बस्थे – तिनी र तिनका दुई छोरीहरू। 31 अनि जेठी छोरीले कान्छीलाई भनी: “हाम्रा बुबा वृद्ध हुनुहुन्छ; अनि सारा संसारको रीतिबमोजिम हामीकहाँ आउनका निम्ति यस पृथ्वीमा कुनै पुरुष छैन। 32 आऊ, हामी आफ्ना बुबालाई दाखमद्य पिलाऔं, र आफ्ना बुबाको सन्तानको जीवित राख्‍नलाई हामी उहाँसित सुतौं!” 33 अनि त्‍यस रात तिनीहरूले आफ्ना बुबालाई दाखमद्य पिलाए; अनि जेठीचाहिँ भित्र गएर आफ्ना बुबासित सुती; अनि तिनले न त्यो सुतेकी थाहा पाए, न त्यो उठेकी नै। 34 अनि भोलिपल्ट यस्तो भयो: जेठीले कान्छीलाई भनी: “हेर, हिजो राति म मेरा बुबासित सुतें। आज रात पनि हामी उहाँलाई दाखमद्य पिलाऔं; अनि आफ्ना बुबाको सन्तान जीवित राख्‍नलाई तिमी भित्र गएर उहाँसित सुत!” 35 अनि तिनीहरूले त्‍यस रात पनि आफ्ना बुबालाई दाखमद्य पिलाए; अनि कान्छीचाहिँ उठी र तिनीसित सुती; अनि तिनले न त्यो सुतेकी थाहा पाए, न त्यो उठेकी नै। 36 यस प्रकारले लूतका दुई छोरीहरू आफ्ना बुबाबाट गर्भवती भए। 37 अनि जेठीले एउटा छोरा जन्माई, र त्‍यसको नाम मोआब राखी; उही आजसम्म मोआबीहरूको पुर्खा हो। 38 अनि कान्छी – उसले पनि एउटा छोरा जन्माई, र त्‍यसको नाम बेन-अम्मी राखी; त्‍योचाहिँ आजसम्म अम्मोनीहरूको पुर्खा हो।