अब्राहामसित परमप्रभुको भेट
18
अनि मम्रेका फलाँटका रूखहरूनिर परमप्रभु अब्राहामकहाँ देखा पर्नुभयो; जब उनी दिनको गर्मीमा पालको ढोकामा बसिरहेका थिए। 2 अनि उनले आफ्ना आँखा उठाएर हेरे; अनि हेर, तीनजना मानिसहरू उनको सामु उभिरहनुभएको थियो। अनि जब उनले उहाँहरूलाई देखे, तब उनी पालको ढोकाबाट उहाँहरूलाई भेट्न दगुरे; अनि भुइँसम्‍म घोप्‍टो परेर 3 उनले भने: “मेरा प्रभु, मैले तपाईंको दृष्‍टिमा कृपा पाएको छु भने, म विन्‍ती गर्दछु, आफ्नो दासकहाँबाट नजानुहोस्! 4 म तपाईंहरूलाई विन्‍ती गर्दछु, अलिकति पानी ल्याइयोस्, र तपाईंहरू आफ्ना पाउ धुनुहोस्, र यस रूखमुनि विश्राम गर्नुहोस्! 5 अनि म एक गाँस रोटी लिएर आउनेछु, र तपाईंहरूले आफ्ना हृदयहरू तृप्‍त पार्नुहोस्; त्‍यसपछि तपाईंहरू अघि बढ़्‍नुहोस्; किनकि यसैका निम्ति तपाईंहरू आफ्ना दासकहाँ आउनुभएको हो।” तब उहाँहरूले भन्‍नुभयो: “जस्तो तिमीले भनेका छौ, त्यस्तै गर!” 6 अनि अब्राहाम हतार-हतार गर्दै पालभित्र साराकहाँ गए, र भने: “झट्टै तीन सेआ मैदा तयार पारेर मुछ, र रोटी बनाऊ!” 7 अनि अब्राहामचाहिँ बथानतिर दगुरे, अनि एउटा कलिलो र राम्रो बाछो ल्याएर एउटा युवकलाई दिए; अनि त्‍यसलाई तयार पार्न त्‍यसले हतार गर्‍यो। 8 अनि उनी दही, दूध र आफैले तयार पारेको त्यो बाछा लिएर गए, र उहाँहरूका अघिल्तिर टक्र्याइदिए। अनि उनीचाहिँ उहाँहरूकै छेउमा रूखमुनि उभिरहे; अनि उहाँहरूले खानुभयो।
9 अनि उहाँहरूले उनलाई भन्‍नुभयो: “तिम्री पत्‍नी सारा कहाँ छिन्?” अनि उनले भने: “हेर्नुहोस्, तिनी पालभित्र छिन्।” 10 अनि उहाँले भन्‍नुभयो: “निश्‍चय म जीवनको समयअनुसार तिमीकहाँ फर्कनेछु; अनि हेर, तिम्री पत्‍नी साराको एउटा छोरा हुनेछ।” अनि सारा उनको पछिल्तिर भएको पालको ढोकामा कुरा सुनिरहेकी थिइन्। 11 अब अब्राहाम र सारा बूढ़ाबूढ़ी भइसकेका थिए, उनीहरूको उमेर धेरै ढल्किसकेको थियो; साराको मासिक-धर्म बन्द भइसकेको थियो। 12 यसैले सारा यसो भन्दै मनमनै हाँसिन्: “म बूढ़ी भइसकेकी छु, र मेरा प्रभु पनि वृद्ध भइसक्नुभएको छ; त के म यो सुख पाउँला र?” 13 अनि परमप्रभुले अब्राहामलाई भन्‍नुभयो: “ ‘यति बूढ़ी भएर पनि के म साँच्‍चै जन्माउन सकुँली?’ भन्दै सारा किन हाँसिन्? 14 के परमप्रभुका निम्ति कुनै कुरा कठिन छ र? जीवनको समयअनुसार म तोकिएको समयमा तिमीकहाँ फर्कनेछु, र साराको एउटा छोरा हुनेछ।” 15 तब साराले ‘म हाँसिनँ’ भन्दै इन्कार गरिन्; किनकि तिनी डराएकी थिइन्। तब उहाँले भन्‍नुभयो: “अहँ, तिमी हाँसेकै थियौ!”
सदोमका निम्ति अब्राहामको अन्तर्विन्‍ती
16 अनि ती मानिसहरू त्यहाँबाट उठ्नुभयो, अनि सदोमतिर हेर्न लाग्‍नुभयो; उहाँहरूलाई बिदा गर्न अब्राहाम उहाँहरूसित हिँड़िरहेका थिए। 17 तब परमप्रभुले भन्‍नुभयो: “मैले जे गर्न लागेको छु, के म त्यो कुरा अब्राहामबाट लुकाइराखूँ? 18 जब कि अब्राहाम निश्‍चय एउटा महान् र शक्तिशाली जाति बन्‍नेछन्, अनि उनैमा पृथ्वीका सबै जातिहरू आशिषित हुनेछन्। 19 किनकि म उनलाई चिन्दछु, कि उनले आफ्ना छोराछोरीहरूलाई र उनीपछिको आफ्नो घरानालाई धार्मिकता र न्यायको काम गर्दै परमप्रभुको मार्गमा लागिरहून् भनी आज्ञा गर्नेछन्; फलस्वरूप परमप्रभुले अब्राहामको विषयमा जे भन्‍नुभएको छ, त्यो कुरा उहाँले अब्राहामको जीवनमा पूरा गर्न सकून्।” 20 अनि परमप्रभुले भन्‍नुभयो: “सदोम र गमोराको चिच्च्याहट ठूलो भएको र तिनीहरूको पाप अति भएकोले 21 म अहिले तल जानेछु, र जुन चिच्च्याहट मकहाँ आएको छ, तिनीहरूले वास्‍तवमा त्‍यस चिच्च्याहटअनुसार गरेका हुन् कि होइनन् भनी हेर्नेछु; अनि होइन रहेछ भने पनि म थाहा गर्नेछु।”
22 अनि ती मानिसहरू त्यहाँबाट आफ्ना अनुहार फर्काएर सदोमतिर गए; तर अब्राहामचाहिँ परमप्रभुकै सामु उभिरहे। 23 अनि नजिक आएर अब्राहामले भने: “के तपाईं दुष्‍टहरूसित धर्मीलाई पनि नाश गर्नुहुन्छ? 24 शायद त्‍यस शहरभित्र पचासजना धर्मी होलान्; रपनि के तपाईंले नाशै गर्नुहुन्छ, र त्‍यसभित्र भएका पचासजना धर्मीको कारणले त्यो ठाउँ जोगाउनुहुन्‍न? 25 यस प्रकारले दुष्‍टको साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट कदापि नहोस्! अनि धर्मी पनि दुष्‍टजस्तै हुनुपर्ने कुरा तपाईंबाट कदापि नहोस्! के सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्‍न र?” 26 तब परमप्रभुले भन्‍नुभयो: “सदोममा, त्‍यस शहरभित्र मैले पचासजना धर्मीलाई पाएँ भने पनि उनीहरूको कारणले म सम्‍पूर्ण ठाउँ जोगाउनेछु।” 27 अनि अब्राहामले जवाफ दिएर भने: “अब हेर्नुहोस्, म त माटो र खरानी मात्र हुँ, तैपनि मैले प्रभुसित कुरा गर्ने साहस गरेको छु। 28 शायद पचास धर्मी जनहरूमा पाँच कम होलान्; त के पाँचैजनाको कारणले तपाईंले सम्‍पूर्ण शहर नाश गर्नुहुन्छ?” अनि उहाँले भन्‍नुभयो: “त्यहाँ मैले पैंतालीसजना पाएँ भने पनि म त्‍यसलाई नाश गर्नेछैनँ।” 29 अनि उनले उहाँसँग अझै पनि कुरा गरेर भने: “यदि त्यहाँ चालीसजना पाइन्छन् भने?” अनि उहाँले भन्‍नुभयो: “चालीसजनाको कारणले पनि म यस्तो गर्नेछैनँ।” 30 अनि उनले भने: “हे प्रभु, दया गरी तपाईंको रिस नउठोस्; तब म बोल्नेछु। यदि त्यहाँ तीसजना पाइन्छन् भने?” अनि उहाँले भन्‍नुभयो: “तीसजनाको कारणले पनि म यस्तो गर्नेछैनँ।” 31 अनि उनले भने: “अब हेर्नुहोस्, मैले फेरि प्रभुसित बोल्ने साहस गरेको छु; यदि त्यहाँ बीसजना पाइन्छन् भने?” अनि उहाँले भन्‍नुभयो: “बीसजनाको कारणले पनि म त्‍यसलाई नाश गर्नेछैनँ।” 32 तब उनले भने: “दया गरी मेरा प्रभुको रिस नउठोस्; किनभने म यसपल्ट मात्र बोल्नेछु। यदि त्यहाँ दसजना पाइन्छन् भने?” अनि उहाँले भन्‍नुभयो: “दसजनाको कारणले पनि म त्‍यसलाई नाश गर्नेछैनँ।” 33 अनि अब्राहामसँग कुरा गरिसक्नसाथ परमप्रभु जानुभयो; अनि अब्राहामचाहिँ आफ्नो ठाउँमा फर्के।