खतना – वाचाको चिन्ह
17
अनि जब अब्राम उनान्सय वर्षका भए, तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र उनलाई भन्‍नुभयो: “सर्वशक्तिमान् परमेश्‍वर म नै हुँ; मेरो उपस्थितिमा हिँड़, र सिद्ध होऊ! 2 अनि मेरो र तिम्रो बीचमा म मेरो वाचा बाँध्‍नेछु, अनि तिमीलाई अत्यन्तै बढ़ाइदिनेछु।” 3 अनि अब्राम भुइँमा मुख टेकाएर घोप्‍टो परे; तब परमेश्‍वर उनीसित यसो भन्दै बोल्नुभयो: 4 “मचाहिँ – हेर, मेरो वाचा तिमीसित छ, अनि तिमी धेरै जातिहरूका पिता हुनेछौ। 5 अनि अब उसो तिम्रो नाम अब्राम भनिनेछैन, तर तिम्रो नाम अब्राहाम हुनेछ; किनकि मैले तिमीलाई धेरै जातिहरूका पिता तुल्याएको छु। 6 अनि म तिमीलाई अत्यन्तै फलवान्‌ बनाउनेछु, र तिमीबाट जातिहरू बनाउनेछु, अनि तिमीबाट राजाहरू निस्कनेछन्। 7 अनि म तिम्रा र तिमीपछि तिम्रो वंशका परमेश्‍वर हुनेछु भनी मेरो र तिम्रो, साथै तिमीपछि तिम्रो वंशको बीचमा, तिनीहरूका पुस्तौंपुस्तासम्‍म म आफ्‍नो वाचा अनन्‍त वाचाको रूपमा स्थापित गर्नेछु। 8 अनि म तिमीलाई र तिमीपछि तिम्रो वंशलाई यो सारा कनान देश, जहाँ तिमी परदेशी भएर बस्दैछौ, अनन्‍त हकको सम्पत्तिको रूपमा दिनेछु, र म उनीहरूका परमेश्‍वर हुनेछु।” 9 अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो: “यसकारण तिमीले मेरो वाचा पालन गर्नू – तिमीले, र तिमीपछि तिम्रो वंशले तिनीहरूका पुस्तौंपुस्तासम्‍म! 10 मेरो र तिम्रो, साथै तिमीपछि तिम्रो वंशको बीचमा बाँधिएको तिमीहरूले पालन गर्नुपर्ने मेरो वाचा यही हो: तिमीहरूको बीचमा हरेक पुरुषको खतना हुनुपर्छ। 11 अनि तिमीहरूले आफ्नो खलड़ीको मासुको खतना गर्नू! अनि योचाहिँ मेरो र तिमीहरूको बीचमा बाँधिएको वाचाको चिन्ह हुनेछ। 12 अनि तिमीहरूका पुस्तौंपुस्तासम्‍म तिमीहरूको बीचमा हरेक पुरुष, जो आठ दिनको भएको हुन्छ, उसको खतना गरियोस् – चाहे त्यो घरमा जन्मेको होस्, चाहे कुनै परदेशीबाट पैसाले किनिएको होस्, जो तिमीहरूको वंशको होइन। 13 जो तिम्रो घरमा जन्मेको छ र जो तिम्रो पैसाले किनिएको छ, उसको खतना हुनैपर्छ; अनि सदा रहिरहने वाचाको रूपमा मेरो वाचाको चिन्ह तिमीहरूको शरीरमा रहनेछ। 14 अनि खतना नगरिएको पुरुष, जसको खलड़ीको मासुको खतना भएको छैन, त्यो व्यक्तिचाहिँ आफ्ना जनहरूको बीचबाट नामेट गरियोस्; त्‍यसले मेरो वाचा भङ्ग गरेको छ।”
15 अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो: “तिम्री पत्‍नी साराईको विषयमा – तिमीले तिनलाई साराई भनेर नबोलाउनू; तर तिनको नाम सारा हुनेछ। 16 अनि म तिनलाई आशिष्‌ दिनेछु, र तिनीबाट तिमीलाई एउटा छोरा दिनेछु; अँ, म तिनलाई आशिष्‌ दिनेछु, र तिनी जाति-जातिकी माता हुनेछिन्, तिनीबाट जाति-जातिका राजाहरू हुनेछन्।” 17 तब अब्राहाम भुइँमा मुख टेकाएर घोप्‍टो परे, र हाँसे; अनि उनले मन-मनमा भने: “के सय वर्ष पुगेको मानिसको पनि छोरा जन्मला र? अनि के नब्बे वर्ष पुगेकी साराले सन्तान जन्माउलिन् र?” 18 अनि अब्राहामले परमेश्‍वरलाई भने: “इश्माएल तपाईंको सामु बाँचे त!” 19 अनि परमेश्‍वरले भन्‍नुभयो: “तिम्री पत्‍नी साराले तिम्रा निम्ति साँच्‍चै एउटा छोरा जन्माउनेछिन्; अनि तिमीले उसको नाम इसहाक राख्‍नू; अनि ऊसित र उसको पछि उसका वंशसित म आफ्नो वाचा अनन्‍त वाचाको रूपमा स्थापित गर्नेछु। 20 अनि इश्माएलको विषयमा चाहिँ मैले तिम्रो प्रार्थना सुनेको छु; हेर, मैले त्‍यसलाई आशिष्‌ दिएको छु; अनि म त्‍यसलाई फलवन्‍त बनाउनेछु र त्‍यसलाई संख्यामा अत्यन्तै बढ़ाउनेछु; अनि त्‍यसले बाह्र शासकहरूलाई जन्माउनेछ; अनि म त्‍यसलाई एउटा ठूलो जाति तुल्याउनेछु। 21 तर मेरो वाचाचाहिँ म इसहाकसँग नै स्थापित गर्नेछु, जसलाई साराले अर्को साल यही समयमा तिम्रा निम्ति जन्माउनेछिन्।”
22 अनि उहाँले उनीसित कुरा गरिसक्नुभयो; अनि परमेश्‍वर अब्राहामकहाँबाट जानुभयो। 23 तब अब्राहामले आफ्नो छोरा इश्माएललाई, अनि आफ्नो घरमा जन्मेका सबैलाई र आफ्नो पैसाले किनिएका सबैलाई, अँ, अब्राहामको घरका मानिसहरूमध्ये हरेक पुरुषलाई लिए, र त्यही दिन परमेश्‍वरले उनलाई भन्‍नुभएअनुसार उनले तिनीहरूको खलड़ीको मासुको खतना गरे। 24 अनि अब्राहामको खलड़ीको मासुको खतना हुँदा उनी उनान्सय वर्षका थिए। 25 अनि उनको छोरा इश्माएलचाहिँ त्‍यसको खलड़ीको मासुको खतना हुँदा तेह्र वर्षको थियो। 26 त्यही दिनमा अब्राहाम र उनको छोरा इश्माएलको खतना भयो। 27 अनि उनको साथमा उनको घरका सबै पुरुषहरूको, घरमा जन्मेको र परदेशीबाट पैसाले किनिएको हरेकको खतना भयो।