अब्रामसित परमप्रभुको वाचा
15
यी कुराहरूपछि दर्शनमा परमप्रभुको यसो भन्ने वचन अब्रामकहाँ आयो: “हे अब्राम, नडराऊ; तिम्रो ढाल र तिम्रो अत्यन्त महान् इनाम म नै हुँ।” 2 तब अब्रामले भने: “प्रभु यहोवा, तपाईंले मलाई के दिनुहुन्छ? किनभने म त नि:सन्तान छु, र मेरो घरको अधिकारी यो दमस्कसको एलीएजर हुनेछ।” 3 अनि अब्रामले भने: “हेर्नुहोस्, तपाईंले मलाई कुनै सन्तान दिनुभएन; अनि हेर्नुहोस्, जो मेरो घरमा जन्मेको छ, उही नै मेरो हकवाला हुनेछ।” 4 अनि हेर, परमप्रभुको यसो भन्ने वचन उनीकहाँ आयो: “त्यो तिम्रो हकवाला हुनेछैन; तर जो तिम्रो शरीरबाटक निस्केर आउनेछ, त्यही नै तिम्रो हकवाला हुनेछ।” 5 अनि उहाँले उनलाई बाहिर ल्याएर भन्नुभयो: “अब आकाशतिर हेर, र तिमीले ती ताराहरू गन्न सक्छौ भने तिनलाई गन्ती गर!” अनि उहाँले उनलाई भन्नुभयो: “तिम्रो वंश यस्तै हुनेछ।” 6 अनि उनले परमप्रभुमाथि विश्वास गरे। अनि उहाँले यो कुरा उनका निम्ति धार्मिकता ठहऱ्याउनुभयो। 7 अनि उहाँले उनलाई भन्नुभयो: “परमप्रभु म नै हुँ; तिमीलाई यो देश अधिकारको रूपमा दिनलाई मैले तिमीलाई कल्दीहरूको ऊरबाट निकालेर ल्याएँ।” 8 तब उनले भने: “हे प्रभु यहोवा, म यसको अधिकारी हुनेछु भनी म केद्वारा थाहा पाऊँख?” 9 अनि उहाँले उनलाई भन्नुभयो: “मेरा निम्ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बच्चा ल्याऊ!” 10 अनि उनले उहाँका निम्ति ती सबै थोकहरू ल्याए, तिनीहरूलाई माझमा फ्याक पारे र हरेक टुक्रा आमुन्ने-सामुन्ने गरी राखिदिए; तर ती चराहरूलाई चाहिँ तिनले फ्याक पारेनन्। 11 अनि जब हिंस्रक पक्षीहरू ती सिनुहरूमाथि आइलागे, तब अब्रामले तिनीहरूलाई धपाए।12 अनि यस्तो भयो: घाम अस्ताउँदै गर्दा अब्रामलाई गहिरो निद्राले छोप्यो; अनि हेर, घोर अन्धकारको त्रासले उनलाई छोप्यो। 13 तब उहाँले अब्रामलाई भन्नुभयो: “यो निश्चय जानिराख कि तिम्रा सन्तान एउटा पराई देशमा परदेशी भएर रहनेछन्, जुन देश उनीहरूको होइन, र तिनीहरूको सेवा गर्नेछन्; अनि तिनीहरूले उनीहरूलाई चार सय वर्ष दुःख दिनेछन्; 14 अनि उनीहरूले जुन देशको सेवा गर्नेछन्, त्यस देशको पनि म न्याय गर्नेछु। अनि त्यसपछि उनीहरू धेरै धनसम्पत्ति लिएर निस्किआउनेछन्। 15 अनि तिमीचाहिँ शान्तिसित आफ्ना पुर्खाहरूकहाँ जानेछौ; तिमी पूरा वृद्ध अवस्थामा गाड़िनेछौ। 16 तर चौथो पुस्तामा उनीहरू यहाँ फर्केर आउनेछन्; किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।”
17 अनि यस्तो भयो: जब घाम अस्तायो र अँध्यारो भयो, तब हेर, धूवाँ निस्कँदै गरेको एउटा अँगेठी र एउटा बल्दै गरेको राँको ती टुक्राहरूको बीचबाट भएर पार गए। 18 त्यस दिन परमप्रभुले यसो भन्दै अब्रामसँग एउटा वाचा बाँध्नुभयो: “मिस्रको नदीदेखि लिएर त्यस महानदी अर्थात् यूफ्रेटिस नदीसम्मको यो देश मैले तिम्रो वंशलाई दिएको छु; 19 केनी, कनिज्जी, कद्मोनी, 20 हित्ती, परिज्जी र रपाई, 21 एमोरी, कनानी, गिर्गाशी र यबुसीहरूको देश दिएको छु।”