अब्राम र लूत छुटिए
13
अनि अब्राम मिस्रबाट निस्केर माथि नेगेवमा आए – उनी, उनकी पत्‍नी र उनीसँग भएका सबै थोकहरू, साथै उनको साथमा लूत पनि आए। 2 अनि अब्राम गाईबस्तु, चाँदी र सुनका अति धनवान् थिए। 3 अनि दक्षिणबाट यात्रा गर्दै-गर्दा उनी बेतएलसम्म पुगे, त्‍यस ठाउँमा, जहाँ शुरुमा उनको पाल थियो, बेतएल र ऐको बीचमा, 4 त्यो वेदी भएको ठाउँमा, जुन वेदी उनले पहिले त्यहाँ बनाएका थिए। अनि त्यहाँ अब्रामले परमप्रभुको नामलाई पुकारे।
5 अनि अब्रामसँग यात्रा गर्ने लूतका पनि भेड़ाबाख्रा, गाईबस्तु र पालहरू थिए। 6 अनि त्यो देश उनीहरू दुवैलाई एकसाथ रहनका निम्ति पर्याप्‍त भएन; किनकि उनीहरूको सम्पत्ति धेरै थियो; यसकारण उनीहरू एकसाथ रहन सकेनन्। 7 अनि अब्रामका गाईबस्तुका गोठालाहरू र लूतका गाईबस्तुका गोठालाहरूको बीचमा झगड़ा भयो। अनि त्‍यस बेला त्‍यस देशमा कनानी र परिज्जीहरू बस्थे। 8 अनि अब्रामले लूतलाई भने: “म तिमीलाई विन्‍ती गर्दछु, मेरो र तिम्रो, अनि मेरा गोठालाहरू र तिम्रा गोठालाहरूको बीचमा कुनै झगड़ा नहोस्; किनकि हामी भाइबन्धु हौं। 9 के सारा देश तिम्रो सामु छैन र? म तिमीलाई विन्‍ती गर्दछु, मबाट अलग होऊ! तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” 10 अनि लूतले आफ्ना आँखा उठाएर यर्दनको सारा मैदान हेरे; किनभने परमप्रभुले सदोम र गमोरालाई नाश गर्नुभन्दा पहिले त्यो सोअरसम्म जहाँतहीं पानीले राम्ररी सिँचिएको, परमप्रभुको बगैंचाजस्तो, मिस्र देशजस्तो थियो। 11 तब लूतले आफ्ना निम्ति यर्दनको सारा मैदान चुने; अनि लूतले पूर्वतिर यात्रा गरे। अनि उनीहरू एक-अर्काबाट छुट्टिए। 12 अब्राम कनान देशमा बसे; अनि लूतचाहिँ मैदानका शहरहरूमा बसे, र सदोमसम्म आफ्नो पाल टाँगे। 13 तर सदोमका मानिसहरू परमप्रभुको दृष्‍टिमा साह्रै दुष्‍ट र पापी थिए।
14 अनि लूत अब्रामबाट छुट्टिएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो: “अब आफ्ना आँखा उठाऊ, र जहाँ तिमी छौ, त्‍यस ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्‍चिमतिर हेर! 15 किनकि त्यो सारा देश, जो तिमी देख्छौ, त्यो म तिमीलाई र तिम्रो वंशलाई सदा-सर्वदाका निम्ति दिनेछु। 16 अनि म तिम्रो वंशलाई पृथ्वीको धूलोजतिकै बनाउनेछु, यहाँसम्म कि कसैले पृथ्वीको धूलो गन्‍न सक्छ भने तिम्रो वंश पनि गन्‍न सकिनेछ। 17 उठ, यस देशको लमाइ र यसको चौड़ाइमा हिँड़; किनकि यो म तिमीलाई दिनेछु।” 18 तब अब्रामले आफ्नो पाल सारे, र मम्रेको फलाँटका रूखहरूनिर आएर बसे, जुन रूखहरू हेब्रोनमा छन्। अनि त्यहाँ उनले परमप्रभुका निम्ति एउटा वेदी बनाए।