अब्रामको बोलावट
12
अनि परमप्रभुले अब्रामलाई भन्‍नुभयो: “आफ्नो देश, आफ्नो कुटुम्ब र आफ्ना बुबाको घरबाट निस्केर त्‍यस देशमा जाऊ, जो म तिमीलाई देखाउनेछु! 2 अनि म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु, तिमीलाई आशिष्‌ दिनेछु र तिम्रो नाम महान् तुल्याउनेछु; अनि तिमी आशिष्‌ बन्‍नेछौ 3 अनि जसले तिमीलाई आशीर्वाद दिनेछन्, तिनीहरूलाई म आशिष्‌ दिनेछु; अनि जसले तिमीलाई श्राप दिनेछ, त्‍यसलाई म श्राप दिनेछु। अनि तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्।”
4 तब परमप्रभुले उनलाई भन्‍नुभएअनुसार अब्राम हिँड़े; अनि लूत पनि उनको साथमा हिँड़े। अनि हारानबाट निस्केको बेलामा अब्राम पचहत्तर वर्षका थिए। 5 अनि अब्रामले आफ्नी पत्‍नी साराईलाई, आफ्नो भतिजा लूतलाई, उनीहरूले जम्मा पारेका सबै सम्पत्ति र हारानमा प्राप्‍त गरेका मानिसहरूलाई लिए; अनि कनान देशमा जानका निम्ति उनीहरू निस्के; अनि उनीहरू कनान देशमा आइपुगे। 6 अनि अब्राम त्‍यस देशबाट पार भएर शेकेममा, मोरेको फलाँटको रूखसम्म आए; अनि त्‍यस बेला त्‍यस देशमा कनानीहरू थिए। 7 अनि परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र भन्‍नुभयो: “यो देश म तिम्रो वंशलाई दिनेछु।” अनि त्यहाँ उनले आफूकहाँ देखा पर्नुभएको परमप्रभुका निम्ति एउटा वेदी बनाए। 8 अनि त्यहाँबाट उनी बेतएलको पूर्वपट्टि भएको पहाड़मा सरे, अनि बेतएललाई पश्‍चिमतिर र ऐलाई पूर्वपट्टि पारेर उनले आफ्नो पाल टाँगे। अनि त्यहाँ उनले परमप्रभुका निम्ति एउटा वेदी बनाए र परमप्रभुको नामलाई पुकारे। 9 अनि अब्राम यात्रा गर्दै अझै दक्षिणतिर लागे।
10 अनि त्‍यस देशमा अनिकाल पर्‍यो; अनि अब्राम त्यहाँ बसोबास गर्न भनी तल मिस्र देशमा गए; किनकि देशमा घोर अनिकाल परेको थियो। 11 अनि यस्तो भयो: जब उनी मिस्रमा पस्‍न लागेका थिए, तब उनले आफ्नी पत्‍नी साराईलाई भने: “अब हेर, म जान्दछु, तिमी हेर्नमा सुन्दरी स्त्री छ्यौ; 12 यसकारण यस्तो हुनेछ: जब मिस्रीहरूले तिमीलाई देख्‍नेछन्, तब तिनीहरूले भन्‍नेछन्, ‘यो त्‍यसकी स्‍वास्‍नी हो’; अनि तिनीहरूले मलाई मार्नेछन्, तर तिमीलाई चाहिँ जीवित राख्‍नेछन्। 13 म तिमीलाई विन्‍ती गर्दछु, ‘म उहाँकी बहिनी हुँ’ भनी भनिदेऊ; र तिम्रो खातिर मेरो भलाइ होस्, र तिम्रो कारणले मेरो प्राण बाँचोस्!”
14 अनि यस्तो भयो: जब अब्राम मिस्र देशमा आए, तब मिस्रीहरूले ती स्त्रीलाई, तिनी अति सुन्दरी रहिछन् भनी देखे। 15 अनि फाराओका उच्‍च पदाधिकारीहरूले तिनलाई देखे र फाराओका सामु तिनको प्रशंसा गरे; अनि ती स्त्री फाराओको घरमा लगिइन्। 16 अनि तिनको खातिर फाराओले अब्रामसँग असल व्यवहार गरे; अनि उनले भेड़ाबाख्राहरू, गाईगोरुहरू, गधाहरू, नोकरहरू, नोकर्नीहरू, गधैनीहरू र ऊँटहरू पाए। 17 अनि अब्रामकी पत्‍नी साराईको कारणले परमप्रभुले फाराओ र तिनको घरानामाथि ठूला-ठूला विपत्तिहरू ल्याउनुभयो। 18 तब फाराओले अब्रामलाई बोलाएर भने: “तिमीले मसँग गरेको यो के हो? तिनी तिम्री पत्‍नी हुन् भनी तिमीले मलाई किन भनेनौ? 19 ‘तिनी मेरी बहिनी हुन्’ भनी तिमीले किन भन्यौ त? यसैले मैले तिनलाई आफ्नी पत्‍नी तुल्याउनलाई लगें। यसकारण अब हेर, तिम्री पत्‍नी यहाँ छिन्! तिनलाई लिएर गइहाल!” 20 अनि फाराओले आफ्ना मानिसहरूलाई तिनको विषयमा आज्ञा गरे; अनि तिनीहरूले उनलाई र उनकी पत्‍नीलाई उनीसँग भएका सबै थोकहरूसहित बिदा गरिदिए।