बाबेलको धरहरा
11
अनि सारा संसारमा एउटै भाषाक र एउटै बोली थियो। 2 अनि यस्तो भयो: पूर्वबाट यात्रा गर्दै जाँदा तिनीहरूले शिनार देशमा एउटा मैदान भेट्टाए; अनि तिनीहरू त्यहीं बसे। 3 अनि तिनीहरूले एक-अर्कालाई भने: “आओ, हामी इँटा बनाऔं र राम्ररी पोलौं!” अनि तिनीहरूसँग ढुङ्गाका निम्ति इँटा थियो, अनि मसलाका निम्ति अलकत्रा थियो। 4 अनि तिनीहरूले भने: “आओ, हामी आफ्ना निम्ति एउटा शहर, र टुप्पाचाहिँ आकाशसम्म पुग्ने एउटा धरहरा बनाऔं; र आफ्ना निम्ति एउटा नाम कमाऔं, नत्र हामी सारा पृथ्वीको सतहमाथि तितरबितर हुनेछौं।” 5 अनि परमप्रभु मानिसका सन्तानले बनाइरहेको त्यो शहर र त्यो धरहरा हेर्न ओर्लनुभयो। 6 अनि परमप्रभुले भन्नुभयो: “हेर, मानिसहरू एक भएका छन्, र तिनीहरू सबैको एउटै भाषाक छ; अनि यो काम गर्न तिनीहरूले शुरु गरिरहेछन्; अनि अब तिनीहरूले गर्नलाई जे कल्पना गरेका छन्, सो तिनीहरूबाट रोकिनेछैन। 7 आओ, हामी तल जाऔं, र त्यहाँ तिनीहरूको भाषा खलबल पारिदिऔं, र तिनीहरूले एक-अर्काको बोली नबुझून्!” 8 यसरी परमप्रभुले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीको सतहभरि तितरबितर पारिदिनुभयो; र तिनीहरूले त्यो शहर बनाउन छोड़े। 9 यसकारण त्यसको नाम ‘बाबेल’ख राखियो; किनभने त्यहाँ परमप्रभुले सारा संसारको भाषा खलबल पार्नुभयो; अनि त्यहाँबाट परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीको सतहभरि तितरबितर पारिदिनुभयो।शेमका वंशहरू
10 शेमका वंशहरू यिनै हुन्। शेम सय वर्षका भए; अनि जलप्रलयको दुई वर्षपछि तिनले अर्पक्षादलाई जन्माए। 11 अनि अर्पक्षादलाई जन्माएपछि शेम पाँच सय वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए।
12 अनि अर्पक्षाद पैंतीस वर्षका भएपछि तिनले शेलहलाई जन्माए। 13 अनि शेलहलाई जन्माएपछि अर्पक्षाद चार सय तीन वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए।
14 अनि शेलह तीस वर्षका भएपछि तिनले एबेरलाई जन्माए। 15 अनि एबेरलाई जन्माएपछि शेलह चार सय तीन वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए।
16 अनि एबेर चौंतीस वर्षका भएपछि तिनले पेलेगलाई जन्माए। 17 अनि पेलेगलाई जन्माएपछि एबेर चार सय तीस वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए।
18 अनि पेलेग तीस वर्षका भएपछि तिनले रऊलाई जन्माए। 19 अनि रऊलाई जन्माएपछि पेलेग दुई सय नौ वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए।
20 अनि रऊ बत्तीस वर्षका भएपछि तिनले सरूगलाई जन्माए। 21 अनि सरूगलाई जन्माएपछि रऊ दुई सय सात वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए।
22 अनि सरूग तीस वर्षका भएपछि तिनले नाहोरलाई जन्माए। 23 अनि नाहोरलाई जन्माएपछि सरूग दुई सय वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए।
24 अनि नाहोर उनन्तीस वर्षका भएपछि तिनले तेरहलाई जन्माए। 25 अनि तेरहलाई जन्माएपछि नाहोर एक सय उन्नाइस वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 26 अनि तेरह सत्तरी वर्षका भएपछि तिनले अब्राम, नाहोर र हारानलाई जन्माए।
27 अनि तेरहका वंशहरू यिनै हुन्। तेरहले अब्राम, नाहोर र हारानलाई जन्माए; अनि हारानले लूतलाई जन्माए। 28 अनि हारान आफ्ना बुबाको सामुमा कल्दीहरूको ऊरमा, आफू जन्मेको देशमा मरे। 29 अनि अब्राम र नाहोरले आफ्ना निम्ति पत्नीहरू ल्याए; अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनी ती हारानकी छोरी थिइन्, जो मिल्का र यिस्काका बुबा थिए। 30 तर साराई बाँझी थिइन्; तिनको कोही सन्तान थिएन। 31 अनि तेरहले आफ्नो छोरा अब्रामलाई, हारानको छोरा, आफ्नो नाती लूतलाई र आफ्नो छोरा अब्रामकी पत्नी, आफ्नी बुहारी साराईलाई साथमा लिए; अनि कनान देशमा जानका निम्ति उनीहरू तिनीहरूको साथमा कल्दीहरूको ऊरबाट निस्के। अनि तिनीहरू हारान पुगे, र त्यहीं बसोबास गर्न लागे। 32 अनि तेरहको उमेर दुई सय पाँच वर्षका भयो; अनि तेरह हारानमा मरे।