नूहसित परमेश्‍वरको वाचा
9
अनि परमेश्‍वरले नूह र तिनका छोराहरूलाई आशिष्‌ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “फल्दै-फुल्दै, संख्यामा बढ़्दै जाओ र पृथ्वीलाई भरिदेओ! 2 अनि तिमीहरूको डर र तिमीहरूको त्रास पृथ्वीको हरेक पशुमा, आकाशको हरेक पक्षीमा, जमिनमाथि चलफिर गर्ने सबै जन्तुमा र समुद्रका सबै माछाहरूमा हुनेछ; तिमीहरूको हातमा ती सुम्पिएका छन्। 3 चलफिर गर्ने हरेक जीवित प्राणी तिमीहरूका निम्ति आहार हुनेछ; हरियो सागपात दिएझैं मैले तिमीहरूलाई सबै थोक दिएको छु। 4 तर तिमीहरूले मासु त्‍यसको प्राणसित अर्थात् त्‍यसको रगतसित नखानू! 5 अनि निश्‍चय म तिमीहरूको जीवनको रगतको लेखा लिनेछु; हरेक पशुबाट र मानिसको हातबाट म त्‍यसको लेखा लिनेछु; हरेक मानिसको भाइको हातबाट म मानिसको प्राणको लेखा लिनेछु। 6 हरेक जसले मानिसको रगत बगाउँछ, त्‍यसको रगत मानिसद्वारा नै बगाइनेछ; किनकि उहाँले मानिसलाई परमेश्‍वरको स्वरूपमा बनाउनुभयो। 7 अनि तिमीहरू फल्दै-फुल्दै र संख्यामा बढ़्दै जाओ! पृथ्वीलाई प्रशस्त गरी भरिदेओ, र यसमा संख्यामा बढ़्दै जाओ!”
8 अनि परमेश्‍वरले नूह र तिनको साथमा तिनका छोराहरूलाई यसो भन्‍नुभयो: 9 “अनि म, अँ, हेर, म नै तिमीहरूसित, अनि तिमीहरूपछि तिमीहरूको वंशसित मेरो वाचा स्थापित गर्दछु; 10 साथै तिमीहरूसँग भएको हरेक जीवित प्राणीसित पनि – चाहे त्यो पक्षी होस्, चाहे घरेलु पशु, चाहे तिमीहरूसँग हुने जुनसुकै वनपशु – जहाजबाट निस्कने सबैदेखि लिएर पृथ्वीको हरेक पशुसम्म सबैसित। 11 अनि म तिमीहरूसित मेरो वाचा स्थापित गर्दछु; अब जलप्रलयद्वारा फेरि कहिल्यै सबै प्राणी नाश हुनेछैनन्, न ता पृथ्वीलाई नष्‍ट गर्नका निम्ति फेरि जलप्रलय हुनेछ।” 12 अनि परमेश्‍वरले भन्‍नुभयो: “म जुन वाचा मेरो र तिमीहरू, अनि तिमीहरूसँग हुने हरेक जीवित प्राणीको बीचमा पुस्तौंपुस्तासम्मका निम्ति बाँध्दछु, त्‍यसको चिन्ह यही हो: 13 म बादलमा मेरो धनु राख्दछु; अनि त्यो मेरो र पृथ्वीको बीचमा बाँधिएको वाचाको चिन्ह हुनेछ। 14 अनि यस्तो हुनेछ: जब म पृथ्वीमाथि बादल ल्याउँला, तब बादलमा धनु देखा पर्नेछ; 15 अनि म आफ्नो वाचाको सम्झना गर्नेछु, जुन वाचा मेरो र तिमीहरू अनि सबै प्राणीहरूको हरेक जीवित वस्तुको बीचमा बाँधिएको छ; अनि सबै प्राणीलाई नष्‍ट गर्नका निम्ति कुनै जलप्रलय फेरि हुनेछैन। 16 जब बादलमा धनु हुनेछ; तब परमेश्‍वर र पृथ्वीमाथि हुने सबै प्राणीहरूको हरेक जीवित वस्तुको बीचमा सदा रहिरहने वाचाको सम्झना गर्नलाई म त्‍यसलाई हेर्नेछु।” 17 अनि परमेश्‍वरले नूहलाई भन्‍नुभयो: “योचाहिँ त्‍यस वाचाको चिन्ह हो, जुन वाचा मैले आफ्नो र पृथ्वीमाथि हुने सबै प्राणीको बीचमा स्थापित गरेको छु।”
नूहका छोराहरू, अनि तिनीहरूमाथि आइपर्ने आशिष्‌ र श्राप
18 अनि नूहका छोराहरू, जो जहाजबाट निस्केर आए, शेम, हाम र येपेत थिए। अनि हामचाहिँ कनानको बुबा हो। 19 यिनीहरू नूहका तीन छोराहरू हुन्; अनि यिनीहरूकै वंश सारा पृथ्वीभरि फैलियो। 20 अनि नूह खेती गर्ने मानिस हुन थाले; अनि तिनले एउटा दाखबारी लगाए। 21 अनि तिनले दाखमद्यबाट पिए, र मत्त भए; अनि आफ्नो पालभित्र तिनले आफूलाई नाङ्गो तुल्याए। 22 अनि कनानको बुबा हामले आफ्ना बुबाको नग्‍नता देख्यो र बाहिर आफ्ना दुई दाजुभाइलाई बतायो। 23 तब शेम र येपेतले एउटा लुगा लिएर आफ्ना दुवैका काँधमा हाले, र पछिल्तिर सर्दै गए अनि आफ्ना बुबाको नग्‍नतालाई छोपिदिए; अनि उनीहरूका अनुहार पछिल्तिर फर्केका थिए; यसैले उनीहरूले आफ्ना बुबाको नग्‍नता देखेनन्। 24 जब नूह आफ्नो दाखमद्यबाट बिउँझे, र तिनको सानो छोराले तिनलाई के गरेको थियो, सो थाहा पाए; 25 तब तिनले भने: “कनान श्रापित होस्; त्यो आफ्ना दाजुभाइहरूका निम्ति दासहरूको दास होस्!” 26 अनि तिनले भने: “शेमका परमप्रभु परमेश्‍वर धन्यका होऊन्, र कनान उसको दास होस्! 27 परमेश्‍वरले येपेतलाई बढ़ाऊन्! अनि उसले शेमका पालहरूमा वास गरोस्; अनि कनान उसको दास होस्!”
28 अनि जलप्रलयपछि नूह तीन सय पचास वर्ष बाँचे। 29 अनि नूहको जम्मा उमेर नौ सय पचास वर्षको भयो; अनि तिनी मरे।