जलप्रलयको अन्त
8
तब परमेश्‍वरले नूहलाई, अनि तिनीसित जहाजमा भएका हरेक जीवित प्राणी र सबै घरेलु पशुहरूलाई सम्झना गर्नुभयो; अनि परमेश्‍वरले पृथ्वीमाथि बतास चलाउनुभयो, र पानी घट्यो। 2 गहिरो सागरका मूलहरू र आकाशका झ्यालहरू बन्द भए, र आकाशबाटको वर्षा रोकियो। 3 अनि पृथ्वीमा पानी निरन्‍तर घट्दै गयो; अनि एक सय पचास दिन बितेपछि पानी कम भयो। 4 अनि सातौं महिनामा, त्‍यस महिनाको सत्रौं दिनमा त्‍यो जहाज अरारातका पहाड़हरूमाथि अड़ियो। 5 अनि दसौं महिनासम्म पानी निरन्‍तर घट्दै गयो; दसौं महिनाको पहिलो दिनमा पहाड़हरूका टाकुराहरू देखा परे।
6 अनि चालीस दिन बितेपछि यस्तो भयो: नूहले आफूले बनाएको जहाजको झ्याल खोले; 7 अनि तिनले एउटा कागलाई उड़ाइपठाए; पृथ्वीमाथिबाट पानी नसुकुन्जेल त्यो यताउता घुमिरह्‍यो। 8 अनि तिनले फेरि पनि, जमिनको सतहमाथिबाट पानी घटेर गयो कि भनी जान्‍नलाई आफू भएको ठाउँदेखि एउटा ढुकुरलाई उड़ाइपठाए। 9 तर त्‍यस ढुकुरले आफ्नो खुट्टा टेकाउने ठाउँ पाएन, र त्यो तिनीकहाँ जहाजमा फर्केर आयो; किनकि सारा पृथ्वीको सतहमाथि पानी थियो; तब तिनले आफ्नो हात बढ़ाएर त्‍यसलाई लिए र जहाजभित्र आफूकहाँ ल्याए। 10 अनि तिनले अर्को सात दिन पर्खे; अनि तिनले जहाजबाट त्‍यस ढुकुरलाई फेरि उड़ाइपठाए। 11 अनि साँझमा त्यो ढुकुर तिनीकहाँ फर्की आयो; अनि हेर, त्‍यसको चुच्‍चोमा भर्खरै टिपेको एउटा जैतुनको पात थियो; तब पृथ्वीमाथिबाट पानी घटेर गएछ भनी नूहले जाने। 12 अनि तिनले अझै अर्को सात दिन पर्खे; त्‍यसपछि तिनले त्‍यस ढुकुरलाई उड़ाइपठाए; तर अब त्यो फेरि तिनीकहाँ फर्केर आएन।
13 अनि यस्तो भयो: छ सय एक वर्षको पहिलो महिनाको पहिलो दिनमा पृथ्वीमाथिबाट पानी सुकेर गयो; अनि नूहले जहाजको छाना हटाए, र हेरे; अनि हेर, जमिनको सतह सुक्खा थियो। 14 अनि दोस्रो महिनाको सत्ताइसौं दिनमा पृथ्वी सुक्खा भयो।
15 अनि परमेश्‍वरले नूहलाई यसो भन्‍नुभयो: 16 “जहाजबाट निस्क – तिमी, र तिम्रो साथमा तिम्री पत्‍नी, तिम्रा छोराहरू र तिम्रा छोराहरूका पत्‍नीहरू! 17 सबै प्राणीहरूबाट तिमीसँग भएको हरेक जीवित वस्तुलाई आफूसित बाहिर निकाल – पक्षी, घरेलु पशु र पृथ्वीमाथि घस्रने सबै घस्रने जन्तुहरू; र ती पृथ्वीमा प्रशस्त हुने गरी फैलून्, अनि पृथ्वीमाथि फलून्-फूलून् र बढ़्दै जाऊन्!” 18 अनि नूह, र तिनको साथमा तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका छोराहरूका पत्‍नीहरू बाहिर निस्के। 19 हरेक पशु, हरेक घस्रने जन्तु र हरेक पक्षी, पृथ्वीमाथि चलफिर गर्ने हरेक प्राणी आ-आफ्ना जातअनुसार जहाजबाट निस्के।
20 अनि नूहले परमप्रभुका निम्ति एउटा वेदी बनाए, अनि हरेक शुद्ध पशुबाट र हरेक शुद्ध पक्षीबाट लिएर त्‍यस वेदीमाथि होमबलि चढ़ाए। 21 अनि परमप्रभुले यो मीठो सुगन्ध लिनुभयो; तब परमप्रभुले आफ्नो हृदयमा भन्‍नुभयो: “मानिसको कारणले यस भूमिलाई म अब फेरि कहिल्यै श्राप दिनेछैनँ; किनकि बालककालदेखि नै मानिसको हृदयको विचार खराब हुन्छ; अनि जसरी अहिले मैले गरेको छु, त्‍यसरी म अब फेरि हरेक जीवित प्राणीलाई कहिल्यै हिर्काउनेछैनँ। 22 पृथ्वी रहेसम्म बीउ छर्ने र कटनी गर्ने समय, जाड़ो र गर्मी, ग्रीष्म ऋतु र शीत ऋतु, दिन र रातको अन्त हुनेछैन।”