जलप्रलयको आरम्‍भ
7
अनि परमप्रभुले नूहलाई भन्‍नुभयो: “तिमी र तिम्रो सारा घराना जहाजभित्र आओ; किनभने यस पुस्तामा मैले आफ्नो दृष्‍टिमा तिमीलाई मात्र धर्मी देखेको छु। 2 हरेक शुद्ध पशुबाट सात-सातवटा – भाले र त्‍यसको पोथी, अनि अशुद्ध पशुहरूबाट दुई-दुईवटा – भाले र त्‍यसको पोथी – आफूकहाँ ल्याउनू! 3 अनि आकाशका पक्षीहरूबाट पनि सात-सातवटा – भाले र पोथी – ल्याउनू, तिनीहरूको वंश सारा पृथ्वीको सतहमाथि जीवित राख्‍नलाई। 4 किनकि सात दिनपछि यस पृथ्वीमाथि म चालीस दिन र चालीस रात पानी बर्साउनेछु; अनि सबै जीवित वस्तुलाई, जसलाई मैले बनाएको छु, म पृथ्वीको सतहबाट मेटाइदिनेछु।” 5 परमप्रभुले नूहलाई आज्ञा गर्नुभएका सबै कुराहरूअनुसार तिनले गरे।
6 अनि नूहको उमेर छ सय वर्षको हुँदा पृथ्वीमाथि जलप्रलय आयो। 7 अनि नूह र तिनको साथमा तिनका छोराहरू, तिनकी पत्‍नी र तिनका छोराहरूका पत्‍नीहरू जलप्रलयको अघि जहाजभित्र पसे। 8 शुद्ध पशुहरूबाट र अशुद्ध पशुहरूबाट, साथै पक्षीहरू र जमिनमाथि घस्रने हरेक जन्तुबाट 9 दुई-दुई गरी, भाले र पोथी, नूहकहाँ जहाजभित्र पसे, जसरी परमेश्‍वरले नूहलाई आज्ञा गर्नुभएको थियो।
10 अनि ती सात दिनपछि यस्तो भयो: जलप्रलयको पानी पृथ्वीमाथि आयो। 11 नूहको जीवनको छ सयौं वर्षको दोस्रो महिनामा, त्‍यस महिनाको सत्रौं दिन – त्यही दिनमा अति गहिरो सागरका सबै मूलहरू फुटे, साथै आकाशका झ्यालहरू खुले। 12 अनि पृथ्वीमाथि चालीस दिन र चालीस रात पानी परिरह्‍यो। 13 त्यही दिनमा नै नूह, नूहका छोराहरू – शेम, हाम र येपेत, नूहकी पत्‍नी र तिनीहरूको साथमा तिनका छोराहरूका तीनजना पत्‍नीहरू जहाजभित्र पसे – 14 तिनीहरू साथै आ-आफ्नो जातअनुसार सबै जातका वनपशु, आ-आफ्नो जातअनुसार सबै जातका घरेलु पशु, आ-आफ्नो जातअनुसार पृथ्वीमाथि घस्रिरहने सबै जातका घस्रने जन्तु र आ-आफ्नो जातअनुसार सबै जातका पक्षी अर्थात् हर किसिमको उड़्ने चरा। 15 अनि सबै प्राणीहरूबाट, जसमा जीवनको सास थियो, दुई-दुई गरी ती नूहकहाँ त्‍यस जहाजभित्र पसे। 16 अनि ती जो भित्र पसे, ती परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै प्राणीहरूबाट भाले र पोथी भएर पसे; अनि तिनी पसेपछि परमप्रभुले ढोका थुनिदिनुभयो।
17 अनि चालीस दिनसम्म पृथ्वीमाथि जलप्रलय भइरह्‍यो; अनि पानी बढ़्दै गयो, र जहाजलाई उठायो; अनि त्यो पृथ्वीदेखि माथि उचालियो। 18 अनि पानी बढ़्दै गयो र पृथ्वीमाथि ज्यादै बढ्यो; अनि जहाज पानीको सतहमाथि-माथि बहन लाग्यो। 19 अनि पृथ्वीमाथि पानी झन्-झन् बढ़्दै गयो; अनि सारा आकाशमुनि भएका सबै अग्ला-अग्ला पहाड़हरू छोपिए। 20 त्यहाँबाट पानी अझै पन्ध्र हात माथिसम्म बढ्यो, र पहाड़हरू छोपिए। 21 अनि पृथ्वीमाथि चल्ने सबै प्राणीहरू – के पक्षी, के घरेलु पशु, के वनपशु, साथै पृथ्वीमाथि घस्रिरहने सबै घस्रने जन्तुहरू र सबै मानिसहरू मरे। 22 सुक्खा जमिनमा भएका सबै वस्तुमध्ये नाकमा जीवनको सास हुनेहरू सबै मरे। 23 अनि जमिनको सतहमाथि चल्ने हरेक जीवित प्राणी – के मानिस, के घरेलु पशु, के घस्रने जन्तु, के आकाशको पक्षी – सबै पृथ्वीबाट मेटाइए; अनि नूह र तिनको साथमा जहाजमा हुनेहरू मात्र जीवित रहे। 24 अनि पृथ्वीमाथि पानी एक सय पचास दिनसम्म प्रबल रह्‍यो।