मानिसको दुष्टता
6
अनि यस्तो भयो: जब पृथ्वीको सतहमाथि मानिसहरूको संख्या बढ़्न थाल्यो, र तिनीहरूका छोरीहरू जन्मे; 2 तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई उनीहरू सुन्दरी रहेछन् भनी देखे; अनि ती सबैबाट जस-जसलाई तिनीहरूले चुने, उनीहरूलाई तिनीहरूले आ-आफ्ना स्वास्नी तुल्याए। 3 अनि परमप्रभुले भन्नुभयो: “मेरो आत्माले मानिससित सधैंभरि विवाद गर्नेछैन; किनकि त्यो पक्का पनि शरीर हो; तैपनि त्यसका दिनहरू एक सय बीस वर्ष हुनेछन्।” 4 ती दिनहरूमा पृथ्वीमा नेफिलहरूक थिए; अनि त्यसपछि पनि, जब परमेश्वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; र उनीहरूले तिनीहरूका निम्ति सन्तान जन्माए। ती प्राचीनकालका शूरवीर र प्रसिद्ध मानिसहरू भए।5 अनि परमप्रभुले पृथ्वीमा मानिसको दुष्टता ज्यादा भएको र त्यसको हृदयका विचारहरूको हरेक कल्पना निरन्तर खराबै मात्र भएको देख्नुभयो। 6 अनि पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभु पछुताउनुभयो; अनि यसले उहाँको हृदयलाई दुःखित तुल्यायो। 7 अनि परमप्रभुले भन्नुभयो: “मैले सृष्टि गरेको मानिसलाई म पृथ्वीको सतहबाट मेटिदिनेछु – के मानिस, के पशु, के घस्रने जन्तु, के आकाशका पक्षीहरू, सबैलाई; किनकि तिनीहरूलाई बनाएकोमा मलाई पछुतो लागेको छ।” 8 तर नूहले परमप्रभुको दृष्टिमा अनुग्रह पाए।
नूह
9 नूहको वंशावली यो हो: नूह धर्मी र आफ्नो पुस्ताका मानिसहरूको बीचमा सिद्ध थिए। नूह परमेश्वरको साथ-साथ हिँड़्थे। 10 नूहले तीनजना छोराहरू जन्माए – शेम, हाम र येपेत। 11 अनि परमेश्वरको सामु पृथ्वी भ्रष्ट भएको थियो, र पृथ्वी अत्याचारले भरिएको थियो। 12 अनि परमेश्वरले पृथ्वीमाथि दृष्टि लाउनुभयो; अनि हेर, त्यो भ्रष्ट भएको थियो; किनकि पृथ्वीमाथि सबै प्राणीले आफ्नो चालचलन भ्रष्ट पारेका थिए। 13 तब परमेश्वरले नूहलाई भन्नुभयो: “सबै प्राणीको अन्त मेरो सामु आएको छ; किनभने तिनीहरूको कारणले पृथ्वी अत्याचारले भरिएको छ; अनि हेर, म तिनीहरूलाई पृथ्वीसमेत नष्ट गर्नेछु। 14 तिमीले आफ्ना निम्ति गोपेर काठको एउटा जहाज बनाऊ! त्यस जहाजमा कोठाहरू बनाउनू, र त्यसलाई भित्रपट्टि र बाहिरपट्टि अलकत्राले लिप्सनू! 15 अनि तिमीले त्यसलाई यस प्रकारले बनाउनू: जहाजको लमाइ तीन सय हात, त्यसको चौड़ाइ पचास हात र त्यसको उचाइ तीस हात होस्। 16 जहाजमा तिमीले एउटा झ्याल बनाउनू, त्यसको एक हात मास्तिर छाना हुने गरी तिमीले त्यसलाई टुङ्ग्याउनू! अनि जहाजको ढोका तिमीले त्यसको एकपट्टि राख्नू; तिमीले त्यसलाई तल्लो, दोस्रो र तेस्रो तला भएको बनाउनू! 17 अनि हेर, म, अँ, म नै आकाशमुनिबाट जीवनको सास भएका सबै प्राणीलाई नष्ट गर्नका निम्ति पृथ्वीमाथि जलप्रलय ल्याउनेछु; अनि पृथ्वीमा भएको हरेक वस्तु मर्नेछ। 18 तर तिमीसँग चाहिँ म मेरो वाचा स्थापित गर्नेछु; अनि तिमी जहाजभित्र पस्नू – तिमी र तिम्रो साथमा तिम्रा छोराहरू, तिम्री पत्नी र तिम्रा छोराहरूका पत्नीहरू! 19 अनि सबै प्राणीहरूको हरेक जीवित वस्तुको हरेक जातबाट दुई-दुईवटालाई आफूसित जीवित राख्नलाई जहाजभित्र ल्याऊ; ती भाले र पोथी होऊन्! 20 पक्षीहरूबाट हरेक जातको पक्षी, पशुहरूबाट हरेक जातको पशु, जमिनका सबै घस्रने जन्तुहरूबाट हरेक जातको जन्तु; जीवित राख्नलाई हरेक जातबाट दुई-दुईवटा तिमीकहाँ आऊन्! 21 अनि हरेक किसिमको खानेकुराबाट, जो खाइन्छ, आफूकहाँ ल्याऊ र आफूसँग जम्मा पारिराख! अनि त्यो तिम्रा निम्ति र तिनीहरूका निम्ति भोजन हुनेछ।” 22 अनि नूहले त्यस्तै गरे; परमेश्वरले तिनलाई आज्ञा गर्नुभएका सबै कुराअनुसार तिनले त्यस्तै गरे।