आदमको वंशावली
5
यो आदमको वंशावलीको पुस्तक हो। परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुभएको दिनमा उहाँले तिनलाई परमेश्‍वरको समानतामा बनाउनुभयो। 2 उहाँले तिनीहरूलाई नर र नारी गरेर सृष्‍टि गर्नुभयो; अनि तिनीहरूलाई सृष्‍टि गरिएको दिनमा उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो र तिनीहरूको नाम आदम राख्‍नुभयो। 3 जब आदम एक सय तीस वर्षका भए, तब तिनले आफ्नै समानतामा, आफ्नै स्वरूपमा एउटा छोरा जन्माए र उसको नाम सेत राखे। 4 अनि सेतलाई जन्माएपछि आदम आठ सय वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 5 अनि आदमको जम्मा उमेर नौ सय तीस वर्षको भयो; अनि तिनी मरे।
6 जब सेत एक सय पाँच वर्षका भए, तब तिनले एनोसलाई जन्माए। 7 अनि एनोसलाई जन्माएपछि सेत आठ सय सात वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 8 अनि सेतको जम्मा उमेर नौ सय बाह्र वर्षको भयो; अनि तिनी मरे।
9 जब एनोस नब्बे वर्षका भए, तब तिनले कैनानलाई जन्माए। 10 अनि कैनानलाई जन्माएपछि एनोस आठ सय पन्ध्र वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 11 अनि एनोसको जम्मा उमेर नौ सय पाँच वर्षको भयो; अनि तिनी मरे।
12 जब कैनान सत्तरी वर्षका भए, तब तिनले महललेललाई जन्माए। 13 अनि महललेललाई जन्माएपछि कैनान आठ सय चालीस वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 14 अनि कैनानको जम्मा उमेर नौ सय दस वर्षको भयो; अनि तिनी मरे।
15 जब महललेल पैंसट्ठी वर्षका भए, तब तिनले यारेदलाई जन्माए। 16 अनि यारेदलाई जन्माएपछि महललेल आठ सय तीस वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 17 अनि महललेलको जम्मा उमेर आठ सय पन्चानब्बे वर्षको भयो; अनि तिनी मरे।
18 जब यारेद एक सय बासट्ठी वर्षका भए, तब तिनले हनोकलाई जन्माए। 19 अनि हनोकलाई जन्माएपछि यारेद आठ सय वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 20 अनि यारेदको जम्मा उमेर नौ सय बासट्ठी वर्षको भयो; अनि तिनी मरे।
21 जब हनोक पैंसट्ठी वर्षका भए, तब तिनले मतूशेलहलाई जन्माए। 22 अनि मतूशेलहलाई जन्माएपछि हनोक तीन सय वर्षसम्म परमेश्‍वरको साथ-साथ हिँड़िरहे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 23 अनि हनोकको जम्मा उमेर तीन सय पैंसट्ठी वर्षको भयो। 24 अनि हनोक परमेश्‍वरको साथ-साथ हिँड़्थे; तब तिनी रहेनन्; किनभने परमेश्‍वरले तिनलाई उठाइलैजानुभयो।
25 जब मतूशेलह एक सय सत्तासी वर्षका भए, तब तिनले लेमेकलाई जन्माए। 26 अनि लेमेकलाई जन्माएपछि मतूशेलह सात सय बयासी वर्ष बाँचे; अनि उनले छोराहरू र छोरीहरू जन्माए। 27 अनि मतूशेलहको जम्मा उमेर नौ सय उनन्सत्तरी वर्षको भयो; अनि तिनी मरे।
28 जब लेमेक एक सय बयासी वर्षका भए, तब तिनले एउटा छोरा जन्माए। 29 अनि तिनले यसो भनेर उनको नाम नूह राखे: “यसले हाम्रो काम र हाम्रा हातको परिश्रमबाट, जो परमप्रभुले श्रापित पार्नुभएको यस भूमिको कारणले हो, हामीलाई शान्ति दिनेछ।” 30 अनि नूहलाई जन्माएपछि लेमेक पाँच सय पन्चानब्बे वर्ष बाँचे; अनि तिनले छोराहरू र छोरीहरू जन्माए। 31 अनि लेमेकको जम्मा उमेर सात सय सतहत्तर वर्षको भयो; अनि तिनी मरे। 32 अनि नूह पाँच सय वर्षका भए; अनि नूहले शेम, हाम र येपेतलाई जन्माए।