कयिन र हाबिल
4
अनि आदम आफ्नी पत्‍नी हव्वाकहाँ गए; अनि ऊ गर्भवती भई र कयिनलाई जन्माई, र भनी: “परमप्रभुबाट मैले एक पुरुष प्राप्‍त गरेकी छु।” 2 अनि उसले फेरि त्‍यसको भाइ हाबिललाई जन्माई। अनि हाबिल भेड़ाबाख्राहरूको गोठालो भयो; तर कयिनचाहिँ खेती गर्ने किसान भयो। 3 अनि केही समयपछि यस्तो भयो: कयिनले परमप्रभुका निम्ति जमिनको फलबाट एउटा भेटी ल्यायो। 4 अनि हाबिल – उसले पनि आफ्ना बगालका पहिले जन्मेका पाठाहरूबाट र तिनका बोसोबाट केही ल्यायो। अनि परमप्रभुले हाबिललाई र उसको भेटी ग्रहण गर्नुभयो; 5 तर कयिनलाई र त्‍यसको भेटी उहाँले ग्रहण गर्नुभएन। तब कयिन साह्रै रिसायो र त्‍यसको मुख अँध्यारो भयो। 6 अनि परमप्रभुले कयिनलाई भन्‍नुभयो: “तिमी किन रिसायौ? र तिम्रो मुख किन अँध्यारो छ? 7 तिमीले असल गर्दा हौ त के तिमी ग्रहण गरिँदैनौ र? तर तिमीले असल गर्दैनौ भने पापले ढोकैमा ढुकिरहेको छ; अनि त्‍यसको चाहना तिमीतर्फ हुन्छ; तर तिमीले त्‍यसमाथि राज्य गर!”
8 अनि कयिनले आफ्नो भाइ हाबिलसँग कुरा गर्‍यो। अनि यस्तो भयो: जब तिनीहरू बारीमा थिए, तब कयिन आफ्नो भाइ हाबिलको विरोधमा उठ्यो, र उसलाई मार्‍यो। 9 अनि परमप्रभुले कयिनलाई भन्‍नुभयो: “तिम्रो भाइ हाबिल कहाँ छ?” अनि त्‍यसले भन्यो: “मलाई थाहा छैन; के म मेरो भाइको गोठालो हुँ र?” 10 तब उहाँले भन्‍नुभयो: “तिमीले यो के गरेको? भूमिबाट तिम्रो भाइको रगतको आवाजले मलाई पुकारिरहेछ। 11 अनि अब तिमी यस पृथ्वीबाट श्रापित भएका छौ, जसले तिम्रो हातबाट तिम्रो भाइको रगत ग्रहण गर्नलाई आफ्नो मुख खोलेको छ। 12 जब तिमी जमिनलाई खनजोत गर्छौ, तब यसले अब उसो तिमीलाई आफ्नो उब्जनी दिनेछैन; पृथ्वीमा तिमी भगुवा र डुलुवा हुनेछौ।” 13 अनि कयिनले परमप्रभुलाई भन्यो: “मेरो दण्ड मैले सहन सक्ने भन्दा ठूलो छ। 14 हेर्नुहोस्, आज तपाईंले मलाई यस पृथ्वीको सतहबाट निकाल्नुभएको छ; अनि म तपाईंको उपस्थितिबाट लुकिएको हुनेछु; अनि यस पृथ्वीमा म भगुवा र डुलुवा हुनेछु; अनि यस्तो हुनेछ: जसकसैले मलाई भेट्टाउँछ, त्‍यसले मलाई मार्नेछ।” 15 तब परमप्रभुले त्‍यसलाई भन्‍नुभयो: “यसकारण जसकसैले कयिनलाई मार्ला, त्‍यसलाई सात गुणा बदला दिइनेछ।” अनि जसकसैले कयिनलाई भेट्टाउला, त्‍यसले उसलाई नमारोस् भनी परमप्रभुले उसमाथि एउटा चिनो लगाउनुभयो।
16 अनि कयिन परमप्रभुको सामुबाट निस्केर गयो, र अदनको पूर्वपट्टि नोद भन्‍ने देशमा बस्‍न लाग्यो। 17 अनि कयिन आफ्नी पत्‍नीकहाँ गयो; अनि त्यो गर्भवती भई, र हनोकलाई जन्माई। अनि कयिनले एउटा शहर बनायो र त्‍यस शहरको नाम आफ्नो छोराको नामअनुसार हनोक राख्यो। 18 अनि हनोकका निम्ति इराद जन्म्यो, अनि इरादले महुयाएललाई जन्मायो। अनि महुयाएलले मतूशाएललाई जन्मायो, र मतूशाएलले लेमेकलाई जन्मायो। 19 लेमेकले दुईवटा स्‍वास्‍नी ल्यायो; एउटीको नाम आदा र अर्कीकी नाम सिल्‍ला थियो। 20 आदाले याबाललाई जन्माई; त्योचाहिँ तम्बूमा बस्‍ने र पशु पालन गर्नेहरूको पुर्खा भयो। 21 अनि त्‍यसको भाइको नाम यूबाल थियो; त्योचाहिँ सबै वीणा र बाँसुरी बजाउनेहरूको पुर्खा भयो। 22 अनि सिल्‍ला – त्‍यसले पनि तूबल-कयिनलाई जन्माई; त्योचाहिँ पित्तल र फलामको हरेक प्रकारको हतियार बनाउनेवाला भयो। अनि तूबल-कयिनकी बहिनी नामा थिई। 23 अनि लेमेकले आफ्ना पत्‍नीहरूलाई भन्यो: “हे आदा, अनि हे सिल्‍ला, मेरो वाणी सुन! हे लेमेकका पत्‍नीहरूहो, मेरो कुरा ध्यान दिएर सुन; किनभने मलाई घाउ पारेको कारणले एकजना मानिसलाई, अनि मलाई चोट पुर्‍याएको कारणले मैले एक जवान मानिसलाई मारेको छु। 24 कयिनको बदला सात गुणा लिइन्छ भने लेमेकको बदला साँच्‍चै सतहत्तर गुणा लिइन्छ।”
25 अनि आदम फेरि आफ्नी पत्‍नीकहाँ गए; अनि उसले एउटा छोरा जन्माई, र यसो भनेर उसको नाम सेत राखी: “किनकि परमेश्‍वरले मेरा निम्ति हाबिलको सट्टामा, जसलाई कयिनले मार्‍यो, अर्को एउटा सन्तान नियुक्त गर्नुभएको छ।” 26 अनि सेत – तिनको पनि एउटा छोरा जन्म्यो; अनि तिनले उसको नाम एनोस राखे; त्‍यस समयदेखि मानिसहरूले परमप्रभुको नाम पुकार्न शुरु गरे।