मानिसको परीक्षा र पतन
3
साँपचाहिँ परमप्रभु परमेश्‍वरले बनाउनुभएको वनको हरेक पशुभन्दा बढ़ी धूर्त थियो। अनि त्‍यसले स्त्रीलाई भन्यो: “तिमीहरूले बगैंचाको कुनै पनि रूखबाट नखानू भनी के परमेश्‍वरले साँच्‍चै भन्‍नुभएको हो?” 2 अनि स्त्रीले साँपलाई भनी: “बगैंचाका रूखहरूको फलबाट हामी खान सक्छौं; 3 तर बगैंचाको बीचमा भएको रूखको फलबाट चाहिँ परमेश्‍वरले भन्‍नुभएको छ: ‘यसबाट तिमीहरूले नखानू, न ता तिमीहरूले यसलाई छुनू; नत्र तिमीहरू मर्नेछौ।’ ” 4 तब साँपले स्त्रीलाई भन्यो: “तिमीहरू निश्‍चय नै मर्नेछैनौ; 5 किनकि जुन दिन तिमीहरू यसबाट खान्छौ, त्यही दिन तिमीहरूका आँखा खोलिनेछन्, र तिमीहरू परमेश्‍वरजस्तै असल र खराब जान्‍ने हुनेछौ भनी परमेश्‍वरले जान्‍नुहुन्‍छ।” 6 अनि जब त्यो रूख भोजनका निम्ति असल, आँखाका निम्ति त्यो मनोहर र बुद्धिमान् बनाउनका निम्ति त्यो रूख चाहना गर्न लायकको रहेछ, सो त्‍यस स्त्रीले देखी, तब उसले त्‍यसको फलबाट टिपी, र खाई, अनि आफूसित भएका आफ्ना पतिलाई पनि दिई; अनि तिनले खाए। 7 तब तिनीहरू दुवैका आँखा खुले, र हामी नाङ्गा रहेछौं भनी तिनीहरूले थाहा पाए; अनि तिनीहरूले नेभाराका पातहरू जोड़ेर सिलाए र आफ्ना निम्ति ढाक्ने लुगा बनाए।
8 अनि तिनीहरूले दिनको शीतल क्षणमा बगैंचामा हिँड़िरहनुभएको परमप्रभु परमेश्‍वरको आवाज सुने; तब आदम र तिनकी पत्‍नीले आफूलाई बगैंचाका रूखहरूको बीचमा परमप्रभु परमेश्‍वरको सामुबाट लुकाए। 9 अनि परमप्रभु परमेश्‍वरले आदमलाई बोलाउनुभयो र तिनलाई भन्‍नुभयो: “तिमी कहाँ छौ?” 10 अनि तिनले भने: “बगैंचामा मैले तपाईंको आवाज सुनें, र म डराएँ; किनकि म नाङ्गो छु; यसैले म लुकें।” 11 अनि उहाँले भन्‍नुभयो: “तिमी नाङ्गा छौ भनी कसले तिमीलाई भन्यो? के तिमीले त्‍यस रूखबाट खायौ, जसबाट तिमीले खानुहुँदैन भनी मैले तिमीलाई आज्ञा गरेको थिएँ?” 12 अनि आदमले भने: “जुन स्त्री तपाईंले मलाई मसँग रहन भनी दिनुभएको थियो, उसैले मलाई त्‍यस रूखबाटको फल दिई, र मैले खाएँ।” 13 अनि परमप्रभु परमेश्‍वरले स्त्रीलाई भन्‍नुभयो: “तिमीले गरेकी यो के हो?” अनि त्‍यस स्त्रीले भनी: “साँपले मलाई छल गर्‍यो, र मैले खाएँ।” 14 अनि परमप्रभु परमेश्‍वरले साँपलाई भन्‍नुभयो: “तैंले यो काम गरेको हुनाले तँ सबै घरेलु पशुहरूभन्दा र वनका सबै पशुहरूभन्दा बढ़ी श्रापित भएको छस्; तँ आफ्नो पेटले हिँड़्‍नेछस्, र तेरो सारा जीवनभरि तैंले धूलो खानेछस्; 15 अनि तेरो र त्‍यस स्त्रीको बीचमा, अनि तेरो सन्तान र त्‍यसको सन्तानको बीचमा म दुश्मनी हाल्नेछु; उसले तेरो टाउको कुच्च्याउनेछ, र तैंले उसको कुर्कुच्‍चा कुच्च्याउनेछस्‌।” 16 त्‍यस स्त्रीलाई उहाँले भन्‍नुभयो: “म तिम्रो दुःख र तिम्रो गर्भकाल ज्यादै बढ़ाउनेछु; कष्‍टसँग तिमीले छोराछोरीहरू जन्माउनेछ्यौ; अनि तिम्रो चाहना तिम्रो पतितर्फ हुनेछ, र उसले तिमीमाथि शासन चलाउनेछ।” 17 अनि आदमलाई उहाँले भन्‍नुभयो: “तिमीले तिम्री पत्‍नीको कुरा सुनेका हुनाले र जुन रूखबाट मैले तिमीलाई ‘यसबाट तिमीले खानुहुँदैन’ भनी आज्ञा गरेको थिएँ, त्‍यसबाट तिमीले खाएका हुनाले भूमि तिम्रो कारणले श्रापित भएको छ; कष्‍टसँग तिमीले आफ्नो सारा जीवनभरि यसबाटको फल खानेछौ। 18 अनि यसले तिम्रा निम्ति काँड़ा र सिउँड़ीहरू उमार्नेछ; अनि तिमीले खेतबारीको सागपात खानेछौ। 19 तिमी माटोमा नफर्कुन्जेल – किनकि तिमी यसैबाट निकालिएका हौ – तिमीले आफ्नो निधारको पसिनाले रोटी खानेछौ; किनभने तिमी माटो हौ र तिमी माटैमा फर्किजानेछौ।”
20 अनि आदमले आफ्नी पत्‍नीको नाम हव्वा राखे; किनकि ऊ सबै जीवितहरूकी आमा थिई। 21 अनि परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्त्र बनाउनुभयो र तिनीहरूलाई पहिर्‍याइदिनुभयो।
22 अनि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो: “हेर, मानिस हामीमध्ये एकजनाझैं असल र खराब जान्‍ने भएको छ; अनि अब यसले कहीं आफ्नो हात बढ़ाउला र जीवनको रूखबाट पनि फल टिपेर खाला, अनि सदा-सर्वदा जीवित रहला” – 23 यसकारण जुन भूमिबाट तिनी निकालिएका थिए, त्‍यसलाई खनजोत गर्न भनी परमप्रभु परमेश्‍वरले तिनलाई अदनको बगैंचाबाट बाहिर निकाल्नुभयो। 24 अनि उहाँले आदमलाई धपाइदिनुभयो; अनि जीवनको रूखकहाँ जाने बाटोको रक्षा गर्नलाई उहाँले अदनको बगैंचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने एउटा ज्वालामय तरवार राख्‍नुभयो।