2
यसरी आकाश र पृथ्वी, अनि तिनीहरूको सम्‍पूर्ण जमातको सृजना सिद्धियो। 2 अनि सातौं दिनमा परमेश्‍वरले आफ्नो काम, जो उहाँले बनाउनुभएको थियो, सिद्ध्याउनुभयो। अनि सातौं दिनमा उहाँले आफूले बनाउनुभएको आफ्नो सबै कामबाट विश्राम लिनुभयो। 3 अनि परमेश्‍वरले सातौं दिनलाई आशिषित पार्नुभयो र त्‍यसलाई पवित्र तुल्याउनुभयो; किनकि त्यही दिन उहाँले आफ्नो सबै कामबाट विश्राम लिनुभयो, जो परमेश्‍वरले सृष्‍टि गरेर बनाउनुभएको थियो।
अदनको बगैंचामा आदम र हव्वा
4 जब आकाश र पृथ्वीको सृजना भयो अर्थात् जुन दिन परमप्रभु परमेश्‍वरले पृथ्वी र आकाश बनाउनुभयो, तिनलाई बनाउनुभएको विवरण यही हो: 5 अनि तबसम्म पृथ्वीमाथि मैदानमा कुनै बोटविरुवा थिएन र मैदानको कुनै सागपात अझ उम्रेको थिएन; किनकि परमप्रभु परमेश्‍वरले पृथ्वीमाथि पानी बर्साउनुभएको थिएन, अनि जमिन खनजोत गर्नलाई कुनै मानिस थिएन। 6 तर पृथ्वीबाट कुइरो उठ्यो र जमिनको सारा सतहलाई सिँचिदियो। 7 अनि परमप्रभु परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट रच्‍नुभयो, अनि तिनको नाकका प्वालहरूमा जीवनको सास फुकिदिनुभयो, र मानिस जिउँदो प्राणी बने।
8 अनि परमप्रभु परमेश्‍वरले पूर्वपट्टि अदनमा एउटा बगैंचा लगाउनुभयो, र आफूले रच्‍नुभएको मानिसलाई त्यहाँ राख्‍नुभयो। 9 अनि परमप्रभु परमेश्‍वरले जमिनबाट हर प्रकारको रूख उमार्नुभयो, जो हेर्नमा मनोहर र भोजनका निम्ति असल थियो; अनि बगैंचाको बीचमा उहाँले जीवनको रूख, साथै असल र खराबको ज्ञानको रूख पनि उमार्नुभयो। 10 अनि बगैंचा सिँच्‍नका निम्ति अदनबाट एउटा नदी निस्क्यो र त्यहाँबाट छुट्टिएर त्यो चारवटा नदी भयो। 11 पहिलोचाहिँको नाम पीशोन हो; त्‍यसले सम्‍पूर्ण हवीला देशलाई घेरा हालेको छ, जहाँ सुन पाइन्छ। 12 अनि त्‍यस देशको सुन असल हुन्छ; त्यहाँ गोकुलधूप र गोमेद पत्थर पाइन्छन्। 13 अनि दोस्रो नदीको नाम गीहोन हो; सम्‍पूर्ण कूश देशलाई घेरा हाल्ने यही हो। 14 तेस्रो नदीको नाम हिद्देकेल हो; योचाहिँ अश्शूर देशको पूर्वतिर बग्छ; अनि चौथो नदी यूफ्रेटिस हो।
15 अनि परमप्रभु परमेश्‍वरले मानिसलाई लिनुभयो र तिनलाई अदनको बगैंचामा त्‍यसलाई खनजोत गर्न र त्‍यसको देखरेख गर्नका निम्ति राख्‍नुभयो। 16 अनि परमप्रभु परमेश्‍वरले मानिसलाई यसो भन्दै आज्ञा गर्नुभयो: “बगैंचाको हरेक रूखबाट तिमीले स्वतन्‍त्रतापूर्वक खान सक्छौ; 17 तर असल र खराबको ज्ञानको रूखबाट तिमीले नखानू! किनकि जुन दिन तिमीले त्‍यसबाट खान्छौ, त्यही दिन तिमी निश्‍चय मर्नेछौ।”
18 अनि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो: “मानिस एकलो रहनु असल होइन; तिनका निम्ति म तिनीसँग मेल खाने एउटी सहयोगी बनाउनेछु।” 19 अनि परमप्रभु परमेश्‍वरले मैदानको हरेक पशु र आकाशको हरेक पक्षीलाई भूमिबाट रच्‍नुभयो; अनि आदमले तिनीहरूको के-के नाम राख्दा रहेछन्, सो हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि आदमले हरेक जीवित प्राणीलाई जे-जे नाम दिए, त्‍यसको त्यही नाम रह्‍यो। 20 अनि आदमले सबै घरेलु पशुहरूको, आकाशका पक्षीको र वनका सबै पशुहरूको नाम राखे; तर आदमका निम्ति तिनीसँग मेल खाने सहयोगी पाइएन। 21 अनि परमप्रभु परमेश्‍वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो, र तिनी सुते; अनि उहाँले तिनका करङहरूमध्ये एउटा निकाल्नुभयो र त्‍यसको ठाउँमा मासु भरिदिनुभयो। 22 अनि परमप्रभु परमेश्‍वरले जुन करङ आदमबाट निकाल्नुभएको थियो, त्‍यसलाई एउटी स्त्री बनाउनुभयो र उसलाई आदमकहाँ ल्याउनुभयो। 23 अनि आदमले भने: “यो ता मेरा हाड़हरूको हाड़ र मेरो मासुको मासु हो; ऊ ‘नारी’ भनिनेछ, किनभने ऊ नरबाट निकालिएकी हो।” 24 यसैकारण मानिसले आफ्ना बुबालाई र आफ्नी आमालाई छोड़्‍नेछ, र आफ्नी पत्‍नीसँग टाँसिनेछ; र तिनीहरू एउटै शरीर हुनेछन्। 25 अनि ती दुवै नाङ्गा थिए, आदम र तिनकी पत्‍नी, तर लजाउँदैनथिए।