6
त्‍यसकारण, सुरुमा सिकेको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ । परमेश्‍वरमा विश्‍वास र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौँ,
2 न त बप्‍तिस्माबारे शिक्षाको जग, हात राख्‍ने काम, मरेका मानिसहरूको पुनरुत्थान, र अनन्‍त न्‍यायको जग बसालौँ ।
3 यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ ।
4 किनकि जसले एक चोटि ज्‍योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।
5 र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।
6 तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् ।
7 किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्‍यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्‍यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ ।
8 तर यदि त्‍यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्‍यो मूल्यहीन हुन्‍छ र यो श्रापको नजिक पुग्दछ, र अन्‍त्‍यमा त्‍यसलाई जलाइन्‍छ ।
9 हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्‍यो कुरा उद्धारको विषयमा हो ।
10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ ।
11 अनि हामी उत्कट इच्‍छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्‍त्‍यसम्मै आफ्नो भरोसाका निम्ति त्‍यही पूर्ण निश्‍चयता देखाओ ।
12 त्‍यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।
13 किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँ भन्‍दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।
14 उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्‍यादै वृद्धि गराउनेछु ।”
15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे ।
16 किनकि मानिसहरूले आफू भन्‍दा ठुलाहरूद्वारा शपथ खान्‍छन्, र शपथले अन्‍त्‍यमा तिनीहरूको वादविवाद मिलाउन निश्‍चयता दिन्‍छ ।
17 परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो ।
18 त्‍यसैले, यी दुई वटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ ।
19 हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्‍चयतामा गाडिएको छ, यस्तो निश्‍चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
20 मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पूजाहारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामी भन्‍दा पहिले त्‍यस ठाउँमा गएर बसिसक्‍नुभएको छ ।