5
किनकि प्रत्‍येक प्रधान पूजाहारी मानिसहरूकै बिचबाट छानिएको हुन्‍छ । परमेश्‍वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्‍यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् ।
2 तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
3 यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्‍यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ ।
4 र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्‍यसको सट्टामा, हारूनलाई जस्‍तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्‍छ ।
5 त्‍यसै गरी, ख्रीष्‍टलाई प्रधान पूजाहारी बनाइएको कारणले न त उहाँले आफैँलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।”
6 अर्को ठाउँमा पनि उहाँले यसरी भन्‍नुभएको छ, “तिमी सधैँका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पूजाहारी हौ ।”
7 उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग उहाँले ठुलो सोरमा क्रन्‍दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्‍नुभयो ।
8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो ।
9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्‍त मुक्‍तिको कारण बन्‍नुभयो ।
10 मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो ।
11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्‍द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ ।
12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्‍तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।
13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्‍छ ।
14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्‍वताको बुझाइको तालिमले तिनीहरू दुष्‍टबाट असल छुट्‌ट्‌याउन सक्‍ने भएका हुन्‍छन् ।