7
यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए ।
2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्‍छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्‍तिका राजा ।”
3 उनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्‍त्‍य नभएका व्यक्‍ति हुन् । बरु, उनी परमेश्‍वरका पुत्र जस्‍तै सदाकालका पूजाहारी हुनुहुन्‍छ ।
4 हेर, यिनी कस्ता महान् व्यक्‍ति थिए । हाम्रा पुर्खा अब्राहामले तिनलाई लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए ।
5 एकातिर, लेवीका छोराहरू जसले पूजाहारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्‍तानबाट आएका हुन् ।
6 तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, जसले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए ।
7 ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन ।
8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्दछन् भने, अर्कोतिर त्‍यस सन्‍दर्भमा उनी जीवित रहन्‍छन् भनी यसले प्रमाणित गर्दछ ।
9 र यस सन्‍दर्भमा भन्‍नुपर्दा, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए,
10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए ।
11 अब यदि लेवीको पूजाहारी पदद्वारा पूर्णताको सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्दछन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी स्थापित गर्न किन आवश्यक पर्थ्यो ?
12 किनकि जब पूजाहारी पद परिवर्तन हुन्‍छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ ।
13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्‍छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् ।
14 अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्‍मनुभएको थियो, तर मोशाले पूजाहारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन् ।
15 यदि मल्कीसेदेक जस्‍तै अर्को स्वरूपमा पूजाहारी खडा हुन्‍छ भने, हामीले जे भनिरहेका छौँ, त्‍यो स्पष्‍ट छ ।
16 उहाँ शारीरिक पुर्खाहरूका नियमका आधारमा पूजाहारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्‍तिमा पूजाहारी हुनुभयो ।
17 किनकि उहाँको बिषयमा धर्मशास्‍त्रले यसरी गवाही दिन्‍छः “मल्कीसेदेकको दर्जा जस्‍तै तिमी सधैँका निम्ति पूजाहारी हौ ।”
18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्‍यो कमजोर र काम नलाग्‍ने थियो ।
19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍न सक्छौँ ।
20 अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पूजाहारीहरू भएका थिए ।
21 तर अर्कोतिर भने, यी येशू शपथविना नै पूजाहारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्‍न, ‘तिमी सदाकाल पूजाहारी हुनेछौ’ ।”
22 जसद्वारा येशूलाई उत्तम करारको निश्‍चयता दिइएको छ ।
23 एकातिर, धेरै पुजाहारीहरू भएका छन्, तर मृत्‍युको कारणले गर्दा तिनीहरूलाई निरन्‍तर पूजाहारीको कार्यमा लागि रहन दिएन ।
24 तर अर्कोतिर भने, येशू सदासर्वदा रहिरहनुहुन्‍छ, उहाँसँग एउटा स्थायी पूजाहारी पद छ ।
25 यसकारण, येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्‍छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर-बिन्‍ती गर्नलाई सधैँ जीवित हुनुहुन्‍छ ।
26 किनकि यस्तै प्रकारको प्रधान पूजाहारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्‍छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाश भन्‍दा उच्‍च हुनुभएको छ ।
27 प्रधान पूजाहारीले जस्‍तै पहिले आफ्नै पापका निम्ति र त्‍यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो ।
28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पूजाहारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्‍थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्‍छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ ।