14
प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।
2 किनभने अन्‍य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ । उसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्‍न सक्दैन ।
3 तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्‍त्वना दिने काम गर्दछ ।
4 अन्‍य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ ।
5 तिमीहरू सबै जना अन्‍य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्‍यो भन्‍दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्‍यसको अर्थ नखोलेसम्म) अन्‍य भाषा बोल्ने भन्‍दा पनि अगमवाणी गर्ने महान् हुन्‍छ ।
6 तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्‍य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र ? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ ।
7 यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्‍न सक्छ ?
8 यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने कसरी कसैले लडाइँको लागि तयार हुने समय हो भनेर जान्‍ने ?
9 तिमीहरूका लागि पनि त्‍यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्‍ने ? तिमीहरू बोलिरहन्‍छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्‍नेछैन ।
10 संसारमा धेरै भाषाहरू छन् भन्‍ने कुरामा कुनै शङ्‌का छैन र कुनै पनि अर्थ बिनाका छैनन् ।
11 तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म त्‍यस व्यक्‍तिको लागि र त्‍यो व्यक्‍ति मेरो लागि विदेशी हुनेछ ।
12 तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।
13 यसरी नै अन्‍य भाषामा बोल्ने व्यक्‍तिले त्‍यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।
14 किनकि यदि मैले अन्‍य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्‍छ ।
15 मैले के गर्ने त ? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
16 नत्रता यदि तिमीले आत्मामा धन्‍यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्‍ने ?
17 किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्‍यवाद दिन्‍छौ, तर त्‍यसले अर्को व्यक्‍तिको वृद्धि गर्दैन ।
18 म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु कि म तिनीहरू सबै भन्‍दा बढी नै अन्‍य भाषाहरूमा बोल्दछु ।
19 तर म मण्डलीमा अन्‍य भाषामा दस हजार वटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँच वटा शब्द बोल्न चाहन्‍छु ।
20 भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।
21 व्‍यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्‍नेछैनन्” परमप्रभु भन्‍नुहुन्‍छ ।
22 त्‍यसकारण, अन्‍य भाषा विश्‍वास नगर्नेहरूको लागि चिह्न हो, विश्‍वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्‍वासीहरूका लागि चिह्न हो, विश्‍वास नगर्नेहरूका लागि होइन ।
23 त्‍यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्‍य भाषा बोल्दा बाहिरकाहरू तथा विश्‍वास नगर्नेहरू त्‍यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्‍दैनन् र ?
24 तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।
25 उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्‍छन् । परिणामस्वरूप, उसले परमेश्‍वरको सामु घोप्‍टो परी आराधना गर्नेछ । उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बीचमा हुनुहुन्‍छ भनेर घोषणा गर्नेछ ।
26 भाइहरू हो, अब के त ? जब तिमीहरू भेला हुन्‍छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्‍य भाषा वा अर्थ खोल्ने काम हुन्‍छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
27 यदि कसैले अन्‍य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् । र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।
28 तर यदि त्‍यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्‍ति चुप बसोस् । ऊ आफैँ र परमेश्‍वरसँग एकलै बोलोस् ।
29 दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्‍यो भनिएको कुरालाई ध्‍यानसँग त्‍यसको जाँच गर्दै सुनून् ।
30 तर यदि त्‍यो सेवामा बसिरहेको कसैलाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको व्यक्‍ति चुप लागोस् ।
31 किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।
32 अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्‍छन् ।
33 किनकि परमेश्‍वर अन्‍योलका होइन तर शान्‍तिका परमेश्‍वर हुनुहुन्‍छ । विश्‍वासीहरूका अन्‍य मण्डलीहरूमा भए जस्‍तै
34 स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।
35 यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
36 के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो ? के यो तिमीहरूकहाँ मात्र आएको थियो ?
37 यदि कसैले आफैँलाई अगमवक्‍ता वा आत्मिक सम्झन्‍छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।
38 तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस् ।
39 यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्‍य भाषा बोल्नदेखि नरोक ।
40 तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।